बाढी प्रभावितको राहत तथा पुनस्र्थापनाका लागि आर्थिक सहयोग


मणिलाल विश्वकर्मा
लहान, ३१ भदौ । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको राहत तथा पुनस्र्थापनाका लागि सिराहको भगवानपुर गाउँपालिकाले साढे पाँच लाख रुपैयाँ बढी आर्थिक सहयोग गर्ने भएको छ । विनाशकारी भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै पालिकाले उद्धार, राहत र सुरक्षित पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको पालिका अध्यक्ष उग्रनारायण यादवले बताए। उनका अनुसार संघीय सरकारले गरेको निर्णय र आह्वानबमोजिम गाउँपालिकाअन्तर्गत कार्यरत सम्पूर्ण कर्मचारीहरूको तलबबाट कट्टा हुने गरी उक्त रकम कोषमा दाखिला गर्ने निर्णय गरिएको हो ।
त्यसअघि कोषमा सिरहाको मिर्चैया नगरपालिका २५ लाख ५८ हजार रुपैयाँ, लहान नगरपालिका ११ लाख, गोलबजार नगरपालिका पाँच लाख ५५ हजार ५५५ रुपैयाँ, कल्याणपुर नगरपालिका पाँच लाख र सिराहा नगरपालिका पाँच लाख दाखिला गर्ने निर्णय गरेका थिए । पछिल्लोपटक भगवानपुर गाउँपालिकासहित कोषमा जिल्लाका १७ पालिकामध्ये ६ पालिकाले ५६ लाख ६९ हजार ११० रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।
यसैबिच, जिल्लाका व्यापारी व्यवसायीहरूको पेसागत संस्था लहानस्थित जिल्ला उद्योग वाणिज्य संघले पनि भोटेकोशी बाढी प्रभावितहरूको राहत तथा पुनस्र्थापनाका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ । संघका अध्यक्ष प्रदीपकुमार गुप्ताका अनुसार संघले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा मंगलबार दुई लाख २२ हजार २२२ रुपैयाँको चेक दाखिला गरेको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया

ताजा खबर

धेरै पढिएको