मणिलाल विश्वकर्मा
सिरहा, २९ भदौ । जग्गा नापी भएको करिब १२ वर्षपछि सिरहाको गोलबजार नगरपालिका– २ लालपुर वडा कार्यालयले सम्बन्धित व्यक्तिको भोगचलनमा रहेको गाउँ ब्लक जग्गाको साँध सीमाना छुट्याएर निवेदन दिन सातदिने सूचना जारी गरेको छ । गोलबजार–२ वडा कार्यालयले सूचना जारी गर्दै साविक लालपुर गाविस २, ३, ४, ५, ६, ७ र ८ नं. वडाका गाउँब्लक जग्गा भोगचलन गरिरहेका जग्गाधनीलाई सात दिनभित्र वडा कार्यालयमा निवेदन दिन आग्रह गरेको हो ।
गोलबजार– २ का वडाध्यक्ष सुकदेव सिंहका अनुसार लहानस्थित नापी कार्यालय पुगेर निवेदन दिन अतिरिक्त खर्च र समय लाग्नुका साथै कागजात तयार गर्न व्यवहारिक रुपले झन्झिटलो हुने भएकाले वडा कार्यालयमै निवेदन लिने व्यवस्था गरिएको हो । ‘वडाको निरन्तरको समन्वय र पहलमा लहानबाट नापी कार्यालयका कर्मचारीलाई वडामै ल्याएर गाउँब्लक जग्गा दर्ताको प्रकृया अघि बढाउन निवेदन लिन लागेका हौं,’ उनले भने, ‘जग्गाधनीको सहजताका लागि वडाले तयार गरेको निवेदनमा सहीछाप गराएर नेपाली नागरिकताको प्रतिलिपी, २ नं. नापी टोलीबाट प्रकाशित सूचना, १० रुपैयाँको टिकटसहित फाइलमा निवेदन लिने व्यवस्था गरेका छौं ।’ उनका अनुसार २९ भदौदेखि अगामी एक सातासम्म कार्यालय समयमा सम्बन्धित जग्गाधनीबाट भोगचलनमा रहेको गाउँब्लक जग्गा दर्ताका लागि निवेदन लिइँदै छ ।
राज्य पुनर्संरचनाअघि आर्थिक वर्ष २०७१÷७२ मा साविक लालपुर गाविस अन्तर्गत २ देखि ८ नं. वडासम्म २७ कित्ताको करिब २० बिघा गाउँब्लक जग्गा नापी भएको उनले बताए । उनका अनुसार साविक लालपुर २ को कित्ता नं. ४५ र १०६, वडा नं ३ को १५, १८, २७, ५६ र १५७, वडा नं ४ को १०३ र १०७ नम्बर कित्ता गाउँब्लक जग्गा नापी भएको थियो । त्यस्तै, वडा नं ५ को ५४, ७३, १४७ र १६१, वडा नं ६ को १६, २०, २५, ४० र ११४ नम्बर कित्ता, वडा नं ७ मा १, ६ र ४३ तथा ८ मा ४१, ६५, ७२, ७६, ८५, १४० नं. कित्ता गाउँब्लक जग्गा नापी भएको थियो ।
नापी भएको एक दशक बढी बित्दा समेत जग्गाधनी दर्ता प्रकृया अघि नबढ्दा स्थानीय बासिन्दा आÇनो भोगचलनमा रहेको जग्गाको स्वामित्वबाट बञ्चित हुँदै आएका उनले बताए ।
के हो गाउँब्लक जग्गा ?
गाउँब्लक क्षेत्रको नापजाँचसम्बन्धी निर्देशिका २०७७ मा गाउँब्लक भन्नाले शुरु नापीको फिल्डबुकमा कित्ता कायम भई गाउँब्लक, गाउँ, शहर, शहरी क्षेत्र, बजार क्षेत्र, बजार, मिनही, डिही, घरबास कोटी, भखारी, स्वबासी, बेनिस्सा, बास जनिएको वा शुरु नापी हुँदा ब्लकभित्र विभिन्न कित्ताहरु कायम भएको र हकभोगमा जनिएको दर्ता हुन बाँकी रहेको क्षेत्र रहेको उल्लेख छ ।
निर्देशिकामा दर्ता बाँकी वा फिल्डबुकमा गाउँब्लक जनिने शब्द उल्लेख नभई फिल्डबुक खाली रहेको, तर परापूर्वकालदेखि गाउँबस्ती रहेको प्रमाणित हुने आधार भएको क्षेत्र वा शुरु नापी हुँदा गाउँब्लक क्षेत्र ठूलो भएको कारणबाट कित्ता कायम नगरिएको, तर नक्साको मार्जिनमा गाउँ, नगर, बजार वा शहरी ब्लक कायम भएको ब्यहोरा उल्लेख भई उक्त ब्लकको वरिपरिका नक्साहरु जोडी भिडाउँदा ब्लकको स्वरुप देखिने र परापूर्वकालदेखि बस्तीको रुपमा रहेको ब्लक क्षेत्र वा नेपाल सरकारको निर्णयबाट गाउँब्लक क्षेत्र भनी निर्धारण गरिएको क्षेत्रलाई गाउँब्लक भनिएको छ ।




