बेतौना–हरिपुर खानेपानी समस्या समाधानबारे अध्ययन गर्दै प्राविधिक टोली


सिरहा, ३० भदौ । सिरहाको गोलबजार नगरपालिका–१२ को बेतौना–हरिपुरमा देखिएको खानेपानी समस्या समाधानबारे अध्ययन गर्न प्राविधिक टोली खटिएको छ । स्थानीयले भोग्नु परेको खानेपानी समस्याबारे अध्ययन गर्न खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जनकपुरधामबाट प्राविधिक टोली सोमबार हरिपुर पुगेको हो ।
हरिपुरका करिब २०० परिवार लामो समयदेखि एउटै सबमर्सिबल पम्पको भरमा खानेपानीको जोहो गर्दै आएका छन् । अधिकांश घरका आँगनमा चापाकल भए पनि भूमिगत पानीको सतह घटेपछि चापाकलबाट पानी आउन छाडेको स्थानीयको गुनासो छ । स्थलगत निरीक्षणपछि खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जनकपुरधामले तत्काल खानेपानीको व्यवस्था गर्ने तयारी थालेको छ ।
कार्यालयका प्रमुख मिहिरचन्द्र आचार्यका अनुसार गोलबजार–१२ को खानेपानी समस्याबारे समाचार प्रकाशित भएपछि मन्त्रालय र कार्यालयको ध्यानाकर्षण भएको हो । ‘हामी दिउँसो करिब १२ बजे समस्या रहेको स्थलमा पुग्यौँ। त्यहाँ खानेपानीको समस्या रहेछ । हामीले स्थलगत निरीक्षण पनि ग¥यौँ,’ प्रमुख आचार्यले भने । उनका अनुसार कार्यालयले बेतौना–हरिपुरमा चार इन्चको करिब १२० मिटर गहिरो बोरिङसहित ओभरहेड ट्यांकी निर्माण गर्ने तयारी गरेको छ । त्यससँगै स्थानीयलाई सहज रूपमा खानेपानी उपलब्ध गराउन करिब ५ देखि १० वटा धारासमेत निर्माण गरिने उनले बताए ।
‘आवश्यकता हेरेर दोस्रो वा तेस्रो बोरिङसमेत गर्न सकिन्छ,’आचार्यले भने । बोरिङ जडानका लागि आवश्यक जग्गा उपलब्ध हुनासाथ काम सुरु गरिने कार्यालयले जनाएको छ । उनका अनुसार मंगलबार बिहान वडा कार्यालयले स्थानीय जनप्रतिनिधि तथा सरोकारवालासहित बैठक राखेको छ । ‘वडा कार्यालयले बोरिङ जडानका लागि जग्गा उपलब्ध गराउनेबित्तिकै मन्त्रालयको निर्देशनअनुसार काम सुरु गर्छौँ,’ आचार्यले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया

ताजा खबर

धेरै पढिएको