एसईई उत्तीर्ण विद्यार्थीलाई वडा–२३ को सम्मान


लहान, १७ असार । लहान नगरपालिका–२३ वडा कार्यालयले शैक्षिक उपलब्धिलाई प्रोत्साहन गर्ने उद्देश्यले वडाभित्रका माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थीलाई सम्मान गरेको छ । आयोजित सम्मान कार्यक्रममा लहान नगरपालिकाका मेयर महेश चौधरी, उपमेयर रामचलितर महतो तथा वडा नं. २३ का अध्यक्ष बद्री नारायण यादवले संयुक्त रूपमा विद्यार्थीलाई सम्मानपत्र, शैक्षिक सामग्री तथा विद्यालय ब्याग प्रदान गरेका हुन् । कार्यक्रममा एसईई सफलतापूर्वक उत्तीर्ण गरेका १५० भन्दा बढी विद्यार्थी सम्मानित भएका वडा कार्यालयले जनाएको छ ।
कार्यक्रममा बोल्दै जनप्रतिनिधिहरूले विद्यार्थीको मेहनत, लगनशीलता र सफलताले समाजलाई सकारात्मक दिशा दिने विश्वास व्यक्त गरे। उनीहरूले शिक्षालाई विकासको प्रमुख आधारका रूपमा उल्लेख गर्दै आगामी दिनमा पनि विद्यार्थीलाई प्रोत्साहन गर्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता जनाए । सम्मान ग्रहण गर्न व्यक्तिगत रूपमा उपस्थित हुन नसकेका विद्यार्थीका तर्फबाट उनीहरूका अभिभावकलाई सम्मानपत्र, शैक्षिक सामग्री तथा विद्यालय ब्याग हस्तान्तरण गरिएको थियो । यस व्यवस्थाले कुनै पनि विद्यार्थी सम्मानबाट वञ्चित नहोस् भन्ने उद्देश्य राखिएको वडा कार्यालयले जनाएको छ ।
स्थानीय तहबाट विद्यार्थीको शैक्षिक उपलब्धिको कदर गर्दै गरिएको सम्मान कार्यक्रमले विद्यार्थीमा थप उत्साह र आत्मविश्वास बढाउनुका साथै अध्ययनप्रतिको रुचि अभिवृद्धि हुने अपेक्षा गरिएको छ । कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, स्थानीय जनप्रतिनिधि तथा वडावासीको उल्लेखनीय सहभागिता रहेको थियो । वडा कार्यालयले उत्कृष्ट शैक्षिक वातावरण निर्माणका लागि यस्ता प्रेरणादायी कार्यक्रम आगामी वर्षहरूमा पनि निरन्तर सञ्चालन गर्ने जनाएको छ । स्थानीय स्तरमा शिक्षाप्रतिको सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित सम्मान कार्यक्रमलाई सहभागीहरूले पनि स्वागतयोग्य पहलका रूपमा लिएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया

ताजा खबर

धेरै पढिएको