नक्कली पाइप बिक्री गर्ने व्यवसायी प्रहरी नियन्त्रणमा, ४५२ थान पाइप बरामद


सिरहा, १३ असार । सिरहाको गोलबजार नगरपालिका ६ स्थित एक हार्डवेयर पसलबाट चर्चित मार्बल टेक्नो प्लास्ट कम्पनीको नामको लोगो र ब्राण्डिङ दुरुपयोग गरी नक्कली प्लास्टिक पाइप बिक्री–वितरण गर्नेगरेको पाइएपछि प्रहरीले ठूलो परिमाणमा पाइप बरामद गरेको छ । प्रहरीले अनियमित गतिविध गरेको अभियोगमा व्यवसायी र ट्रकसमेत नियन्त्रणमा लिएको छ ।
शनिबार बिहान करिब १०ः३० बजे मार्बल टेक्नो प्लास्ट, विराटनगरका आधिकारिक डिस्ट्रीब्युटर अरुण साहले कम्पनीको नाम र ब्रान्डिङ दुरुपयोग गरी नक्कली पाइप बिक्रीका लागि ल्याइएको सूचना इलाका प्रहरी कार्यालय गोलबजारमा दिएका थिए । सोही सूचनाका आधारमा प्रहरी निरीक्षक गौरीशंकर साहको नेतृत्वमा खटिएको टोलीले गोलबजार नगरपालिका ६ मा रहेको नेहाल आइरन स्टोरमा छापा मारेको थियो । उक्त पसल सिरहा नगरपालिका २० लगडिगोठ निवासी साबिर खानले सञ्चालन गर्दै आएका छन् ।
प्रहरीले मधेश प्रदेश ०३–००१ ख ९८८० नम्बरको ट्रकमा लोड गरिएको करिब १२५ थान नक्कली प्लास्टिक पाइप बरामद गरेको छ । पसलको गोदामबाट सोही ब्रान्डिङ गरिएका थप ३२७ थान पाइप फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेशबहादुर पालले जानकारी दिए । यससँगै प्रहरीले कुल ४५२ थान नक्कली पाइप बरामद गरेको हो । नेहाल आइरन स्टोरले उक्त पाइप जानकी प्लास्टिक कम्पनी, जनकपुर बाट खरिद गरेको त्यहाँ कार्यरत एक कर्मचारीले बताए ।
प्रहरीका अनुसार ट्रक, बरामद पाइप तथा पसल सञ्चालक साबिर खानलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर थप अनुसन्धान भइरहेको छ । प्रारम्भिक अनुसन्धानबाट बरामद पाइपहरू मार्बल टेक्नो प्लास्टको नाम, लोगो र ब्रान्डिङ दुरुपयोग गरी बजारमा बिक्रीका लागि ल्याइएको आशंका गरिएको प्रहरीले जनाएको छ । घटनासम्बन्धी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।
यता, मार्बल टेक्नो प्लास्टका मार्केटिङ म्यानेजर सुदिप न्यौपानेले नेहाल आइरन स्टोरले करिब तीन वर्षदेखि कम्पनीको नाम प्रयोग गरी नक्कली पाइप बिक्री गर्दै आएको आरोप लगाए । उनका अनुसार बजार अनुगमनका क्रममा उपभोक्ताले आफूहरू मार्बल टेक्नो ब्रान्डकै पाइप प्रयोग गरिरहेको बताएपछि कम्पनीले बिक्री अभिलेखसँग तुलना गर्दा उक्त क्षेत्रमा कम्पनीबाट न्यून आपूर्ति नभएको देखिएको थियो । त्यसपछि अनुसन्धान गर्दै जाँदा कम्पनीकै नाम र ब्रान्डिङ दुरुपयोग गरी नक्कली पाइप बिक्री भइरहेको तथ्य फेला परेको उनले बताए ।
न्यौपानेका अनुसार यसअघि पनि कम्पनीले सम्बन्धित व्यवसायीलाई यस्तो कार्य नगर्न मौखिक रूपमा सचेत गराएको उनले बताए । तर पुनः उही गतिविधि दोहोरिएको पाइएपछि अब कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने उनले बताए । उनका अनुसार नक्कली उत्पादनको बिक्रीले कम्पनीको प्रतिष्ठामात्र होइन, उपभोक्ताको विश्वास र सुरक्षामाथि समेत गम्भीर असर पु¥याएको छ । यस घटनाले बजार अनुगमन प्रणालीमाथि पनि गम्भीर प्रश्न उठाएको छ । बजार अनुगमन गर्ने सरकारी निकाय हुँदाहुँदै लामो समयसम्म नक्कली सामान खुलेआम बिक्री भइरहनुले प्रभावकारी अनुगमनको अभाव देखिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया

ताजा खबर

धेरै पढिएको