ओझेलमा देवीदह, संरक्षण नहुँदा चराको बासस्थान मासिँदै


सिरहा, १८ चैत्र । लहान नगरपालिका–१७ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र देवीदहमा चराहरूको बासस्थान सङ्कटमा पर्दै गएको छ । उचित संरक्षणको अभाव, मिचाहा प्रजातिका झारपात वृद्धि र चोरीसिकारका कारण यहाँका जलपन्छीको अस्तित्व जोखिममा परेको हो । पूर्वपश्चिम राजमार्गअन्तर्गत लहान बजारबाट छ किलोमिटर उत्तर चुरेको फेदमा अवस्थित यो सिमसार क्षेत्र चराहरूको स्वर्ग मानिन्छ । पछिल्लो समय यहाँ चराको चोरीसिकार बढ्नुका साथै मिचाहा प्रजातिका झार बढ्नु, संरक्षण नहुनुलगायत कारणले बासस्थान साँघुरिँदै गएको देवीदह वन उपभोक्ता समूह तथा संरक्षण समितिका अध्यक्ष कपिलेश्वर यादवले बताए ।
उनले भने, “चराको सिकार र बासस्थानको विनास अहिलेको मुख्य चुनौती हो । बजेट अभावले गर्दा हामीले पोखरीको संरक्षण गर्न सकेका छैनौँ । बनेका भौतिक संरचना पनि मर्मत गर्न सकिएको छैन ।” यसअघि चराविद् ल्याएर अध्ययन गराउने पहल गरिरहेको जनाउँदै उनले त्यसपश्चात् पनि उल्लेख्य प्रगति हुन नसकेको बताए । यस तालमा साइबेरियाबाट करिब १३–४ हजार किलोमिटरको लामो यात्रा तय गरेर आएका आगन्तुक चरा र स्थानीय सिली तथा पानीहाँस प्रजातिका जलपन्छीको चहलपहल बढेको समितिका अध्यक्ष यादवले जानकारी दिए । बासस्थानको संरक्षण गर्दै प्रचारप्रसार गर्न सके पर्यटन प्रवद्र्धन हुनुका साथै स्थानीयको आयस्तर बढ्ने उनको भनाइ छ ।
चराहरूलाई निर्वाध रूपमा आउनेजाने र रमाउने वातावरण मिलाउन समुदायस्तरमा सचेतना बढाउनुपर्ने स्थानीय पूर्वप्रधानाध्यापक नेपाली साहले बताए । उनले भने, “पहिले लहानको मानिक दहसहितका विभिन्न तालतलैयामा चराको प्रभावकारी र उल्लेख्य बासस्थान थियो, तर ती क्रमशः मासिँदै गएका छन् । अहिले चराको आश्रयस्थल देवीदहमा मात्र सीमित भएको छ ।” पूर्वप्रधानाध्यापक साहले चराको संरक्षणका लागि स्थानीय तहले भ्यूटावर निर्माण गरिदिनुपर्ने सुझाव दिए । उनले भने, “यदि मानिसले सुरक्षित रूपमा नजिकबाट चरा हेर्ने वातावरण पाए भने उनीहरूमा चराप्रतिको स्नेह र अपनत्व बढ्छ, जसले अन्ततः संरक्षण अभियानमा ठूलो मद्दत पु¥याउनेछ ।”
धार्मिक तथा पर्यटकीय महत्व बोकेको यस दहको संरक्षणका लागि आएका ठूला आयोजना कागजमा सीमित भएका लहान–१७ का वडाध्यक्ष प्रथमलाल चौधरीले बताए । उनका अनुसार विगतमा बजेट विनियोजन भए पनि कार्यान्वयनको अभावले देवीदह ओझेलमा परेको हो । वडाध्यक्ष चौधरीले भने, “नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले आÇनो कार्यकालमा यस क्षेत्रमा भ्रमण गर्नुभएको थियो । त्यसपछि पोखरीको संरक्षणका लागि ‘राष्ट्रपति चुरे विकास कार्यक्रम’ अन्तर्गत रु एक करोड ५९ लाख बजेट विनियोजन गरिएको थियो । विसं २०७७ मा नेपाल पर्यटन बोर्डसँग पोखरीको संरक्षण र सौन्दर्यकरणका लागि रु पाँच करोड २२ लाखको महत्वाकाङ्क्षी योजना सम्झौता भएको थियो । तर, यी योजना कार्यान्वयन हुनसकेका छैनन् । सोही कारणले नयाँ पूर्वाधार बन्नुको साटो भएका पुराना संरचनासमेत अहिले जीर्ण र अधुरै अवस्थामा छन् ।”
चालु आर्थिक वर्षमा मधेस प्रदेश सरकारबाट पोखरी सौन्दर्यकरणका लागि रु २५ लाख विनियोजन भएको वडाध्यक्ष चौधरीले जानकारी दिए । दहको धार्मिक गरिमालाई जोगाउन र प्रचारप्रसार गर्न लागिपरेको उल्लेख गर्दै उनले भने, “देवीदहको धार्मिक महत्वलाई उजागर गर्न हामीले यही चैत १९ गतेदेखि विष्णु महायज्ञको तयारी गरेका छौँ । यसले देवीदहको प्रचारप्रसार र संरक्षणमा ठोस सहयोग पुग्ने विश्वास लिएका छौँ ।”


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया

ताजा खबर

धेरै पढिएको