कञ्चनपुर–कमला सडकको तेस्रोपटक म्याद थप, ६९ प्रतिशत भौतिक प्रगति


राहुल राय
लहान, ३० पुस ।
चाइना रेलवे नं. २ इञ्जिनियरिङ ग्रुपले ठेक्का लिएको सप्तरीको कञ्चनपुरदेखि सिरहा–धनुषा जोड्ने कमला नदीसम्मको ८६.८२ किलोमिटर कञ्चनपुर कमला सडकको पूर्वी र पश्चिम खण्डको तेस्रोपटक म्याद थप हुँदा करिब ६९ प्रतिशत प्रगति भएको छ । ग्रुपले सन् २०२० जुनमा गरेको ठेक्का सम्झौताअनुसार कञ्चनपुरदेखि कुसहासम्म ३९.४२ किलेमिटर पूर्वी खण्ड र कुसहादेखि कमला नदीसम्म ४७.४ किलोमिटर पश्चिम खण्ड गरी ८६.८२ किलोमिटर सडक चार र ६ लेनसहित, पुल, कलभर्ट, ओभरपास र अण्डरपास, आकाशे पुल निर्माण २८ अक्टोबर २०२३ मा सम्पन्न गर्नुपर्ने थियो । लहानस्थित पूर्वी खण्डको कार्यालयका सूचना अधिकारी इञ्जिनियर राजिव झाका अनुसार सप्तरीको कञ्चनपुर, महुली, सीतापुर, वीरेन्द्रबजार, रुपनी, कल्याणपुर र कठौना गरी ६.०८ किलोमिटर सडक ६ लेनको बनाइनुपर्नेमा ठाउँठाउँमा अवरोध भइरहेको छ ।
‘आगामी जुनसम्म निर्माण सम्पन्न गर्ने गरी तेस्रोपटक ६ महिना म्याद थप भएको छ,’ उनले भने ‘तर, प्राविधिक रुपले अनावश्यक ठाउँमा पनि नालालगायतका संरचना बनाउन स्थानीयले दबाब दिन थालेपछि काम नियमित हुन सकेको छैन ।’ उनका अनुसार कठौनामा स्थानीय बासिन्दाले कम्पनीका प्रतिनिधि तथा कामदारहरुलाई जबर्जस्ती थप संरचना निर्माण गर्न दबाब दिंदै दुव्र्यवहारसहित डण्डी बाँध्नसमेत अवरोध गरेका छन् ।
‘स्थानीयको अवरोध र दबाब कायमै रह्यो भने तेस्रो पटक म्याद थप हुँदा पनि सम्पन्न गर्न गाह्रो छ,’ उनले भने, ‘उक्त खण्डमा विद्युतको पोल सार्न, नाला निर्माण लगायतका काममा स्थानीयले सहयोग गरेका छैनन् ।’ उनका अनुसार करिब ३३ किलोमिटर चार लेन सडकमध्ये २४ किलोमिटर खण्ड, २९ वटा ठूला साना पुलको सुपर स्ट्रक्चरसम्मको निर्माण सम्पन्न भएको छ । ‘पूर्वी खण्डमा ११३ वटा कल्भर्ट निर्माणसहित २० वटा पुलमा सवारी साधन गुड्न थालेका छन्,’ उनले भने ‘गत डिसेम्बरसम्म पूर्वी खण्डको भौतिक प्रगति करिब ६७ प्रतिशत हो ।’
पश्चिम खण्डको अवस्था उस्तै
मिर्चैयास्थित पश्चिम खण्ड कार्यालयले सार्वजनिक गरेको त्रैमासिक प्रतिवेदन अनुसार गत असोज मसान्तसम्म चार लेनको कालोपत्रेसहित ३०.८५ किलोमिटर सडक निर्माण सम्पन्न गरी बाँकी खण्डमा काम भइरहेको छ । मिर्चैया, लहानमा ६ लेन सडकसहित ओभरपास र अण्डरपासका लागि आवश्यक पूर्वाधारको काम जारी रहेको भए पनि गोलबजारमा डिजाइन स्वीकृती ढिलो हुँदा माटो परीक्षणबाहेक अन्य काम हुन नसकेको सूचना अधिकारी अनुपम साहले बताए ।
उनका अनुसार लहान बसपार्क, प्रादेशिक अस्पताल अगाडि आकासे पुलका लागि फाउण्डेसनको काम सम्पन्न गरिएको छ । लहान र मिर्चैयामा ओभरपासका लागि गरी ५० वटा पाइल फाउण्डेसन गरिएको, तर लहानमा माटो केही कमजोर देखिएकाले २० वटा ग्राभेल फाउण्डेसनको काम गरिएको उनले बताए । त्यसबाहेक पश्चिम खण्डमा ११२ कल्भर्ट निर्माण भइसकेको जानकारी दिंदै उनले साना ठूला गरी २५ पुल निर्माण सम्पन्न गरी १२ वटामा सवारी साधन चलाउन खुला गरिएको बताए। सडकमा रेलिङ, एक्सपान्सन ज्वाइन्ट, पुलको रेलिङ तथा रंगरोगन बाँकी रहेकाले थप भएको म्यादभित्र सम्पन्न गर्ने गरी काम भइरहेको योजना कार्यालयले जनाएको छ ।
तेस्रोपटक गरी ३२ महिना म्याद थप
सन् २०२० जुनमा ठेक्का सम्झौतापछि २९ अक्टोबर २०२० मा निर्माण थालनी गरी २८ अक्टोबर २०२३ भित्र सम्पन्न गर्ने लक्ष्य रहेको भए पनि साइट क्लियरेन्स, कोरोना महामारीजस्ता कारणले करिब एक वर्षपछि ढिलो काम थालेको चाइना रेलवे नं. २ इञ्जिनियरिङ ग्रुपका लागि पहिलो पटक २३ डिसेम्बर २०२४ सम्म १४ महिना र दोस्रो पटक २०२५ डिसेम्बरसम्म १२ महिना म्याद थप भएको थियो ।
ग्रुपले कुसहा कञ्चनपुर ३९.४२ किलोमिटर खण्ड सात अर्ब २७ करोड ७६ हजार ३४ रुपैयाँ ३४ पैसा र कुसहादेखि कमलासम्म ४७.४ किलोमिटर पश्चिम खण्ड भेरियसनपछि आठ अर्ब ८० करोड ७० लाख १८ हजार २७७ रुपैयाँ १० पैसामा ठेक्का सम्झौता गरेको थियो । उक्त सडक निर्माणका लागि एसियाली विकास बैंकको ७१.२२ प्रतिशत ऋण र नेपाल सरकारको २८.७८ प्रतिशत लगानी रहेको छ ।
मुख्य बजार क्षेत्रमा धुलो धुँवाको सास्ती
पटकपटक म्याद थप हुँदा पनि निर्माण सम्पन्न नहुँदा मुख्य बजार क्षेत्रका बासिन्दाले धुलो, धुँवाको सास्ती खेप्दै आएका छन् । सप्तरीको कुसहादेखि सिरहाको कमला नदीसम्म पर्ने अधिकांश ठाउँमा पुल, कल्भर्ट, सडक निर्माण सकिएको भएपनि जिल्लाको मुख्य बजार क्षेत्र लहान खण्डको ओभरपास निर्माण सुस्त हुँदा दिनहुँ धुलोधुँवासँगै दुवैतर्फ साँघुरो डाइभर्सनमा सवारी साधन गुडाउँदा दुर्घटनाको जोखिम बढेको स्थानीयको गुनासो छ ।
पछिल्लो असारमा सहिद स्मारक भत्काएपछि अस्तव्यस्त बनेको लहानको मुख्य चोकको दायाँबायाँबाट एकतर्फी सवारी साधन चलाउन डाइभर्सन बनाइएको भए पनि दुर्घटनाको जोखिमसँगै धुलो उड्ने र पानीमा हिलाम्मे भएको भन्दै स्थानीयले गत असारमा चक्काजामसमेत गरेका थिए । लहान खण्डमा निर्माण भइरहेको ओभरपास, अस्पताल चोक र बसपार्क नजिक आकासे पुलको फाउण्डेसन सकिए पनि अन्य निर्माण ढिलाई हुँदा मुख्य चोक क्षेत्र अस्तव्यस्त बनेको स्थानीय बस व्यवसायी डम्बर घिमिरेले गुनासो गरे ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया

ताजा खबर

धेरै पढिएको