व्यापार नभएपछि ढोलक तथा मादल व्यवसायी निराश


विजयकुमार साह 

ढल्केबर, ३ चैत । भारतबाट धनुषाको ढल्केबरमा आएर ढोलक तथा मादल बनाएर बेच्न बसेका व्यापारी निराश देखिएका छन् । सोचे जस्तो व्यापार नभएपछि व्यापारी निराश भएका हुन् । भारतको उत्तर प्रदेशका आस्ताना अली ढल्केबरको पश्चिम चोकमा आएर ढोलक तथा मादल बनाएर बेच्न बस्नुभएको छ । चाडपर्वको बेला नेपालमा यी बाजाको व्यापार राम्रो हुन्छ भन्ने सुनेर यता आएको उनले बताए । उनले भने, “तिहार र होलीको अवसरमा ढोलक तथा मादल धेरै बिक्छ भनेर व्यापार गर्न यता आएको हुँ । तर सोचेजस्तो व्यापार भएन । एक दिनमा मुस्किलले दुई÷तीन वटा मात्र बिक्छ । खर्च निकाल्न पनि समस्या छ ।”

एउटा ढोलक तथा मादलको सात सयदेखि एक हजार दुई सय रुपियाँसम्ममा बिक्री गर्ने गरेको उनको भनाइ छ । उनले मादल बनाउन चाहिने सबै सामग्री भारतबाटै ल्याएको जानकारी दिए । नेपालमा चाडपर्वको बेला रमाइलो गर्न ढोलक र मादलको सट्टा आधुनिक साउण्ड बाजाको प्रयोग बढेकाले यसको बिक्री नभएको उनको बुझाइ छ । उनले आँप, कठहरलगायत विभिन्न प्रजातिका काठबाट बनाइएका एक हजार ढोलक तथा मादल बनाउने सामग्री ल्याएको छ ।

नेपालमा सूचना प्रविधिको विकाससँगै परम्परागत बाजागाजको प्रयोगमा कमी आएको स्थानीय युवा सुजन चौधरीले बताए । उनले ढोलक र मादल मौलिकता र परम्परासँग जोडिएको बाजा भएको भन्दै आधुनिकताले यो व्यवसाय पनि संकटमा पर्न थालेको जानकारी दिए । अहिले चाडवर्प तथा मेला महोत्सवमा मादल बाजा बजाउन छोडेर त्यसको ठाउँमा ठुलाठुला साउण्ड सिस्टमको प्रयोग हुन थालेको चौधरीको भनाइ छ । यस्तै, स्थानीय धर्मु लामाले गाउँ–गाउँमा सूचना प्रविधिको पहुँच पुगेपछि ढोलक तथा मादल व्यवसायी विस्थापित हुने अवस्थामा पुगेको बताए । उनले पहिले–पहिले चाडबाडको समयमा ढोलक तथा मादलको बिक्री अत्यधिक हुने गरेकोमा अहिले यस्तो बाजा कम र साउण्ड सिस्टम धेरै बिक्री हुने गरेको जानकारी दिए ।

उनले भने, “पहिले–पहिले ढोलक र मादल बेच्ने व्यापारीलाई भ्याइनभ्याइ हुन्थ्यो । अहिले उहाँहरुको व्यवसाय सुक्दै गएको छ ।  जताततै साउण्ड सिस्टम घन्किन्छन् । ढोलक र मादल त बज्नै छोड्यो । केही वर्ष अगाडिसम्म त गाउँमा जाँदा यस्तो बाजा घन्किने गरेको पाइन्थ्यो ।”


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया

ताजा खबर

धेरै पढिएको