सिरहाको त्रिशुला खोला पुल अलपत्र, वारपार गर्न प्रहरी निरीक्षक मल्ल र स्थानीयले बनाए अस्थायी पुल


मणिलाल विश्वकर्मा
लहान, ५ साउन ।
सिरहाको दक्षिणी सीमावर्ती बरियारपट्टी गाउँपालिका २ र ३ नं. वडालाई जोड्ने त्रिशुला खोलाको पुल निर्माण व्यवसायीले करिब चार वर्षदेखि अलपत्र छोडेपछि आवतजवात गर्न प्रहरी र स्थानीय बासिन्दा मिलेर अस्थायी पुल बनाएका छन् । इलाका प्रहरी कार्यालय महेशपुर पतारका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लको प्रयासपछि प्रहरी र स्थानीयको सहकार्यमा अलपत्र छोडिएको पुलका निर्माण सामग्री प्रयोग गरेर सोमबार अस्थायी पुल निर्माण गरी आवागमन सहज बनाइएको हो ।
बरियारपट्टी–मेदिनीपुर भित्री सडकखण्डअन्तर्गत बरियारपट्टी–२ श्रीपुर र ३ नं. बलुवा गाउँकोचिमा पर्ने खोलामा मनसुनका वेला खोलामा आउने बाढीले आवतजावतमा कठिनाइ भएपछि अस्थायी पुल बनाएर सहज बनाइएको सिरहा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक वासुदेव पाठकले जानकारी दिए ।
महेशपुरपतारी प्रहरी प्रमुख प्रहरी निरीक्षक मल्लका अनुसार आइतबार राति सुरक्षा गस्तीका लागि बरियारपट्टीतर्फ जाँदै गर्दा खोलामा आएको बाढीले पार गर्नै नसकेपछि फर्किएर पतारी बजार, सुखीपुर हुँदै करिब १५ किलोमिटर फन्को मारेर जानुपरेको थियो । ‘सुरक्षा गस्तीमा निस्किएका प्रहरीलाई त समस्या भयो, दैनिक ओहोरदोहोर गर्नुपर्ने स्थानीय बासिन्दाले कति सास्ती झेलेका होलान्,’ उनले भने, ‘त्यसको भोलिपल्ट नै स्थानीय बासिन्दासँग सहकार्य गरी दिनभरमा अस्थायी पुल बनायौँ ।’
खोलामा पुल नहुँदा निरन्तर वर्षाका कारणले त्रिशुला खोलामा बाढी आएपछि मेदिनीपुर पतारी, ब्रह्मपुरी, हरिपुर, बलुवा गाउँ हुँदै हुलाकी सडक खण्डको बरियारपट्टीसम्म आवतजावत गर्न स्थानीय बासिन्दाले सास्ती झेल्दै आएका थिए । अस्थायी पुल निर्माण गरिएपछि वर्षा लागेसँगै ठप्प रहेको सडक नियमित भएको छ ।
२० महिनाको ठेक्का, चार वर्षसम्म लम्बियो
मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमातहत पूर्वाधार विकास कार्यालय सिरहामार्फत २० महिनामा निर्माण सम्पन्न हुने गरी २१ असार ०७८ मा ६ करोड ९१ लाख ८६ हजार २३६ रुपैयाँमा रसुवा रोसन जेभी जनकपुरले ठेक्का लिएको पुल चार वर्ष बित्दै गर्दा पनि अलपत्र छ ।
सिंगल स्पान रहेको ४५ मिटर लामो पुलको करिब तीन महिनाअघि स्ल्याव ढलान गरिएको भए पनि त्यसपछि निर्माण व्यवसायीले नदी नियन्त्रण र एप्रोच सडकको कामसमेत नथालेको स्थानीय बासिन्दाको गुनासो छ । ‘पुलको शिलान्यास गर्ने क्रममा २० महिनामा पुलबाट गाडी गुड्ने दाबी गर्ने निर्माण व्यवसायी चार वर्ष बित्दै गर्दा किस्ताकिस्तामा काम गरिरहेका छन्,’ बरियारपट्टी– ३ का वडाध्यक्ष विनोदकुमार यादवले भने, ‘त्यसको मार सर्वसाधारणले भोगिरहेको छौँ ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया

ताजा खबर

धेरै पढिएको