मणिलाल विश्वकर्मा
लहान, ११ असार । जिल्ला प्रशासन कार्यालय सिराहालाई प्राकृतिक प्रकोपको समयमा तत्काल प्रयोगका लागि विपत् उद्धार तथा सुरक्षा सामग्रीहरू हस्तान्तरण गरिएको छ । जल उत्पन्न तथा आगलागीसहितका विपतमा फसेकाहरूको तत्काल उद्धार तथा सुरक्षाका लागि बिहीबार प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई उक्त सामग्रीहरू हस्तान्तरण गरिएको हो ।
अर्नमा गाउँपालिकामा सञ्चालित ‘सबल बालिका, सबल समुदाय’ परियोजना अन्तर्गत प्लान इन्टरनेसनल नेपालकी काजल झा तथा साझेदार लहानस्थित दलित जनकल्याण युवा क्लबका अध्यक्ष उमेशकुमार बिसुन्खेले संयुक्त रूपमा सामग्री हस्तान्तरण गरेका हुन् । सो अवसरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाका जिल्ला प्रमुखहरूको उपस्थिति थियो ।
हस्तान्तरित सामग्रीहरूमा नौ लाख ८१ हजार ५१४ रुपैयाँबराबरका लाइफ ज्याकेट, डोरी, जुमर, ओरिङ, ६ किलो दरको दुई थान फायर एक्सटिङ्कर, हेलमेट, बडी ब्याग, रेस्क्यु राÇट, पिपिई सेटलगायत ३२ प्रकारका साम्रगी रहेको क्लबका अध्यक्ष बिसुन्खेले बताए । उनका अनुसार त्यसअघि सोमबार अर्नमा गाउँपालिकालाई पनि विपत् उद्धार तथा सुरक्षा सामग्रीहरू हस्तान्तरण गरिएको छ ।
उद्धार तथा सुरक्षाका लागि सहज
विपत् उद्धार तथा सुरक्षा सामग्री बुझ्दै प्रजिअ पौडेलले जल उत्पन्न तथा आगलागीका समयमा प्रयोग गरिने सामग्रीहरूले उद्धारमा संलग्न व्यक्तिको सुरक्षासहित उद्धारका लागि सहज हुने बताए । ‘जिल्लाको विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यान्वयनका लागि प्राप्त सामग्रीहरू उपयोगी हुनेछन्,’ उनले भने, ‘प्राप्त गरिएका सामग्रीहरू नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई हस्तान्तरण गरिनेछ ।’
जिल्लाका तीन सुरक्षा निकायसँग विपत् उद्धार तथा सुरक्षा सामग्रीहरू स्टकमा रहेको जानकारी दिँदै उनले त्यसबाहेक स्थानीय तह, सामुदायिक संस्थाहरूसँग पनि केही सामग्री रहेको बताए । प्रकोपजन्य विपतका वेला स्थानीय तह, सामुदायिक संस्थासँग भएका सामग्री प्रयोग गर्दा पनि उद्धारमा कठिनाइ भएको खण्डमा उद्धार सामग्रीसहित सुरक्षा निकाय परिचालन हुने उनले बताए ।
जिल्ला विपत् व्यवस्थापन समिति सिराहाका अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा सुक्खा मौसममा आगलागी तथा मनसुनका वेला बाढी डुबान तथा कटानको जोखिम छ । जिल्लाको पश्चिमी सीमाको रूपमा रहेको कमला नदीमा मनसुनका वेला अत्यधिक वर्षा तथा जलस्तर वृद्धि हुँदा सिराहा नगरपालिकाकाअन्तर्गत पर्ने ४, ५, ६, १२, १३, १७ नं. वडाअन्तर्गत पर्ने रमौल, खर्सलवा, मानपुर, बसबिट्टा, कठकोलवा, महरा तथा पासवान टोल, सारश्वर कल्याणपुर नगरपालिका २, ३ र ५ नं. वडामा पर्ने चतरी, दोनवारी, इटारी प्रसाही, निर्दना भोक्राहा, कर्जन्हा नगरपालिकाको ३, ६, ७ नं. वडा अन्तर्गत टीकापुर, बन्दीपुर, खैराटोल, सुन्दरपुर, बेतहा, मिर्चैया, प्रेमनगर, मरेवा गाउँ प्रभावित हुने गरेको विपत् प्रतिकार्य योजनामा उल्लेख छ ।
त्यस्तै, जिल्लाको पूर्वी सीमा नदी बलान तटीय क्षेत्रमा पर्ने लहान नगरपालिकाको ३, ४, ५, ९, १०, १९ र २३ नं. वडा क्षेत्रमा पर्ने लहान, सोनमती मझौरा, गाढा, सखुवानन्कारकट्टी गाउँपालिकाको ३, ४ र ५ नं. वडाका सखुवानन्कारकट्टी, परिहारपुर, इटहर्वा, सिम्राहा, तिलेबोना, भगवानपुर गाउँपालिकाको १, ३ र ४ नं. वडाका लालपुर, कल्याणपुर, सिनुवारीलगायतका गाउँ प्रभावित हुने गरेका छन् भने गागन तथा गल्थु नदीको कारणले औरही गाउँपालिकाको १, २, ३, ४ र ५ नं. वडाको हरकट्टी, कुन्डलपुर, मालटोल, बनिनियाँ, तुलसीपुर, औरही, कडहर्वा, जमुवा, नवटोली, इँटाटार, कमलपुर र देउरीपट्टी गाउँहरू प्रभावित हुने गरेका छन् ।




