मणिलाल विश्वकर्मा
लहान, १६ असार । स्थानीय तहमा कार्यरत नगर प्रहरीलाई विपद् व्यवस्थापनका लागि क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सिरहास्थित सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टरले विपद् व्यवस्थापन स्वयंसेवक तालिम सुरु गरेको छ । तालिममा नगर प्रहरीहरुलाई जल उत्पन्न तथा आगलागीजस्ता विपद्का बेला तत्काल खोज तथा उद्धार, प्राथमिक उपचार, राहत व्यवस्थापन, आगलागी नियन्त्रणसम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास गराइने गण प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमनजंग थापाले जानकारी दिए। सिरहा नगरपालिका– १९ सन्हैठास्थित हेडक्वार्टरमा सोमबारदेखि संचालित तालिममा सिरहामा कार्यरत २४ र गोलबजारअन्तर्गत सात गरी ३१ जना नगर प्रहरी सहभागी रहेको र आगामी २१ दिनसम्म चल्ने उनले बताए ।
उनका अनुसार तालिमले नगर प्रहरीको विपद् प्रतिकार्य क्षमता अभिवृद्धि हुनुका साथै विपद्का समयमा छिटो, प्रभावकारी र समन्वयात्मक सेवा प्रवाहमा टेवा पुग्ने अपेक्षा गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल र स्थानीय तहसँगको समन्वयमा संचालित तालिम अन्तर्गत जल उत्पन्न प्रकोपसम्बन्धी सैद्धान्तिक र प्रयोगात्मक अभ्यास अन्तर्गत अत्यधिक वर्षामा हुने डुबान नियन्त्रण, फसेकाहरुको उद्धार, पुनःस्थापना र वाटर बोटको अभ्यास हेडक्वार्टर परिसरमा रहेको पोखरीमा गरिने छ ।
आगलागी सम्बन्धी विपद् व्यवस्थापन अभ्यास सिरहा सदरमुकामस्थित विपद् व्यवस्थापन सुरक्षा बेसमा गरिने जानकारी दिंदै उनले विपद्सम्बन्धी पहिलो सूचना स्थानीय तहमा आउने र तत्काल परिचालन पनि हुने भएकाले पहिलो चरणमा विपद्को जोखिममा रहेका दुई पालिकासँग समन्वय गरी तालिम संचालन गरिएको हो । हेडक्वार्टरका अनुसार दोस्रो चरणमा लहान, धनगढीमाई र मिर्चैया नगरपालिका अन्तर्गतका नगर प्रहरी स्वयम्सेवक प्रहरीका लागि तालिम संचालन गर्नेगरी समन्वय भइरहेको छ ।




