लहान, २३ जेठ । सिरहा जिल्लाका विभिन्न केन्द्रमा गत चैतमा संचालित माध्यमिक शिक्षा परीक्षा (एसईई) र बैसाखको दोस्रो सातादेखि संचालित कक्षा १२ को परीक्षामा विद्यार्थीहरुबाट खोसिएका मोवाइल पानीमा डुबाएर नष्ट गरिएपछि चौतर्फी असन्तुष्टि बढेको छ ।
एसईई र कक्षा १२ को परीक्षामा विभिन्न परीक्षा केन्द्रहरुमा विद्यार्थीबाट खोसिएका सात वटा आईफोन, चार सय ८९ वटा विभिन्न कम्पनीका एन्ड्रोइड मोवाइल फोन तथा पाँचवटा स्मार्ट घडी शुक्रबार जिल्ला प्रहरी कार्यालय परिसरमा पानीमा डुबाएर नष्ट गरिएपछि असन्तुष्टि बढेको हो । विद्यार्थीहरुबाट बरामद गरी नष्ट गरिएको मोवाइलसहितका सामग्रीको बजार मूल्य करिब एक करोड रुपैयाँभन्दा बढी रहेको बताइएको छ ।
स्थानीय प्रशासनले मोवाइल नष्ट गर्ने निर्णयप्रति अभिभावकहरुले प्रश्न उठाउँदै दुःख गरेर किनेको सम्पत्ति नष्ट गर्नु नाजायक रहेको स्थानीय अभिभावक नवीन यादवले बताए । ‘परीक्षा केन्द्रमा बन्देज गरिएको मोवाइल लैजान हुँदैनथ्यो’ उनले भने ‘परीक्षा कोठामा प्रवेश गर्नु अगावै खानतलासी लिनुपर्ने प्रहरी, शिक्षा, कर्मचारीले कसरी मोवाइल लैजान दिए, उनीहरुमाथि चाहिं कारबाही हुनु पर्दैन ? उनले भने । मर्यादित परीक्षाका लागि तोकिएको मापदण्ड विपरीतका गतिविधि गर्ने विद्यार्थीमाथि कानुनी कारबाहीको बाटो हुँदाहुँदै मोवाइल नै नष्ट गरिनु व्यक्तिको सम्पत्तिमाथिको हस्तक्षेप भएको उनको गुनासो छ ।
खोसिएका मोवाइल नष्ट गर्ने स्थानीय प्रशासनको कदमलाई विवादास्पद भन्दै कानुन व्यवसायीहरुले कानुनको विषय बन्न सक्ने औंल्याए । अधिवक्ता चन्दनकुमार कर्णले मोवाइल व्यक्तिको निजी सम्पत्ति भएकाले त्यसलाई नष्ट गर्ने निर्णय कानुनी परीक्षणको विषय बन्न सक्ने बताए । ‘मोवाइल नष्ट प्रकरणलाई लिएर अभिभावक अदालत पुगे संलग्न व्यक्ति विरुद्ध कारबाही र क्षतिपूर्ति दाबीसमेत हुन सक्छ’ उनले भने ‘व्यक्तिगत सम्पत्तिको संरक्षण गर्नु राज्यको दायित्व हो ।’
गोपनीयता कायम राख्न मोवाइल नष्ट ः प्रजिअ
सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले व्यक्तिको गोपनीयता काम होस् भन्ने उद्देश्यले जफत गरिएका मोवाइल नष्ट गरिएको दाबी गरेका छन् । ‘परीक्षामा बरामद गरिएका मोवाइल व्यक्तिको गोपनीयतासँग सम्बन्धित हुन्छ’ उनले भने ‘बरामद मोवाइलहरु लिलाम गर्न सकिने भएपनि अवाञ्छित व्यक्तिको हातमा पुगेको खण्डमा त्यसले ल्याउने दुर्घटना र सामाजिक अवरोध धेरै ठूलो हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै नष्ट गरिएको हो ।’
राष्ट्रिय परीक्षा बोर्डको निर्णय र निर्देशन, प्रदेश शिक्षा मन्त्रीको निर्णय तथा जिल्ला परीक्षा समन्वय समितिको निर्णय बमोजिम जफत गरिएका मोवाइलको व्यवस्थापनका लागि गठन गरिएको उपसमितिको निर्णय अनुसार नष्ट गरिएको उनले बताए । शिक्षा विकास तथा समन्वय इकाइ सिरहाका परीक्षा शाखा अधिकृत राजदेव यादवको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि रहेको पाँच सदस्यीय उपसमिति गठन गरिएको थियो । संयोजक यादवका अनुसार जिल्ला प्रहरी कार्यालय परिसरमा बरामद गरिएका मोबाइलहरु २४ घण्टा पानीमा डुबाएर राखेपछि पूर्ण रुपमा प्रयोग गर्न नसकिने बनाई फुटाएर नष्ट गरिएको बताए ।
विकृत मानसिकताको उपज
शिक्षाविद् प्रा.डा. मनप्रसाद वाग्लेले विद्यार्थीहरुबाट खोसिएका मोवाइल पानीमा डुबाएर नष्ट गरिनु विकृत मानसिकताको उपज रहेको उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा आÇनो धारणा राख्दै उनले विदेशी मुद्रा तिरेर आयात गरेको करिब एक करोडभन्दा बढी मूल्यको मोवाइल र स्मार्ट वाच नष्ट गर्नुअघि एक पटक किन सोचिएन भन्दै प्रश्न गरेका छन् ।
‘परीक्षा हलको प्रवेशद्वारमै किन चेकजाँच गरिएन, हलभित्र मोवाइल लैजान दिने (निरीक्षक÷कर्मचारी) को कान निमोठ्ने कि विद्यार्थीको मोबाइल जलाउने ?’ उनले भनेका छन् ‘प्रवेशद्वारमै मोवाइल राख्ने नियम बनाएर लकर वा टोकनको व्यवस्था गरेको भए यो हर्कत गर्ने कुबुद्धि आउँथ्यो ? त्यसो गर्न नसक्ने परीक्षा समितिका पदाधिकारीलाई नसिहत दिने कि विद्यार्थीको मोवाइल जलाउने ?’
मधेसकै महोत्तरी जिल्लामा केही रकम जरिबाना तिराएर मोवाइल फिर्ता गरिएको दृटान्त दिंदै उनले त्यसो गर्दा के परीक्षा समिति र स्थानीय सरकारको इज्जत जान्थ्यो भन्दै प्रश्न गरेका छन् । परीक्षा हलमा मोवाइल फेला परे नष्ट गरिने छ भन्ने सूचना पहिले नै दिइएको थियो भन्ने प्रश्न गर्दै उनले अर्को पटकदेखि विद्यार्थीले परीक्षा हलमा मोवाइल नलगून् भन्नका लागि नसिहतका थुप्रै विकल्प हुँदाहुँदै यस्तो घृणित कार्य गरेको बताएका छन् ।




