आश्वासनका पोकासहित सिराहामा १३८ उम्मेदवार घरदैलोमा


मणिलाल विश्वकर्मा
लहान, ७ फाल्गुन ।
प्रतिनिधिसभा तथा संविधानसभा सदस्य निर्वाचनमा आलोपालो जित्दै आएका कांग्रेस, एमाले, नेकपा, जसपा नेपाललगायत दलसम्बद्ध उम्मेदवार तथा नयाँ दलका उम्मेदवार मतदाता भेटघाट, घरदैलो अभियानसहित मंगलबारदेखि साना–ठुला सभा गर्न जुटेका छन् । कांग्रेस, एमाले, नेकपा तथा मधेसकेन्द्रित दलहरू जसपा नेपाल, जनमत पार्टीको मुख्य प्रतिस्पर्धा रहने विगतको निर्वाचनभन्दा यसपटक जेन–जीको प्रतिनिधित्व रहेको दाबी गर्दै आएको रास्वपासमेत मुख्य प्रतिस्पर्धी दलका रूपमा चुनावी मैदानमा होमिएपछि प्रतिस्पर्धा रोचक र पेचिलो बन्दै गएको छ ।
सिराहाको चारवटा निर्वाचन क्षेत्रमा साना–ठुला दलका ५४ र ८४ जना स्वतन्त्र गरी १३८ जना उम्मेदवार छन् । चारवटा निर्वाचन क्षेत्रअन्तर्गत पर्ने स्थानीय तहहरूमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिराहामा दुई लाख ४१ हजार ६१५ पुरुष, दुई लाख १२ हजार २८ महिला र दुई अन्य गरी चार लाख ५३ हजार ६४५ मतदाता, २२३ मतदानस्थल र ५३१ मतदान केन्द्र कायम गरिएको छ ।
सिराहा १ मा एमालेलाई विरासत जोगाउने चुनौती
सिराहा १ मा १४ दलगत र १८ स्वतन्त्र गरी ३२ जना उम्मेदवार मैदानमा छन् । कांग्रेसका रामसुन्दर चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका बब्लु गुप्ता, एमालेका निवर्तमान सांसद रामशंकर यादव, नेकपाका रामचन्द्र यादव, जसपाका सत्यनारायण यादव, जनमत पार्टीका रामस्वरूप चौधरी यो क्षेत्रका मुख्य प्रतिस्पर्धी मानिएको छ । कांग्रेसले पहिलोपल्ट चौधरीलाई मैदानमा उतारेको यो क्षेत्रमा एमालेले ०७९ मा निर्वाचित रामशंकरलाई दोहो¥याएकाले उनलाई बिरासत जोगाउने चुनौती छ । त्यतिवेला यादव एमाले–जसपा गठबन्धनबाट कांग्रेसका पदमनारायण चौधरीलाई दुई हजार ८३ मतले पछि पार्दै २९ हजार ४६२ मत प्राप्त गरी निर्वाचित भएका थिए ।
नेकपाबाट उम्मेदवार भएका रामचन्द्र यादव ०५६ को निर्वाचनमा कांग्रेसका पदमनारायणलाई नै हराउँदै निर्वाचित भएका थिए । जसपाका सत्यनारायण पछिल्लो असोजमा पार्टी प्रवेश गरेर प्रतिनिधिसभा चुनाव लडेका हुन् । यसपटक लामो समय कांग्रेसको स्थानीय राजनीति गर्दै जिल्ला पार्टीको उपसभापति, क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधिसमेत रहिसकेका विष्णु गुप्ताका छोरा २८ वर्षीय बब्लु गुप्ता युवा तथा खेलकुदमन्त्रीबाट राजीनामा दिएर रास्वपाबाट उम्मेदवार बनेका छन् । उनी कांग्रेसको मत काट्दै युवा पुस्ताको मत आफूतर्फ तानेर जित निकाल्ने रणनीतिमा छन् ।
वकालत पृष्ठभूमिका कांग्रेसकै प्रतिनिधि रामस्वरूप चौधरी जनमत पार्टीबाट उम्मेदवार रहेकाले पछिल्लो निर्वाचनमा जनमतले पाएको मत र कांग्रेसको थारू मत आफूतिर तानेर जित्ने दाउमा छन् । यो क्षेत्रमा ०५६ को निर्वाचनमा एमालेका रामचन्द्र यादव, ०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरम, ०७४ मा कांग्रेसका प्रदीप गिरीले जितेका थिए । ०४८, ०५१, ०७० मा कांग्रेस नेता पदमनारायण चौधरी विजयी भएका थिए ।
यो क्षेत्रमा बलान नदीको कटान मुख्य समस्या भएकाले प्रायः सबै उम्मेदवारले नदी कटान नियन्त्रण, लहान ठाढी सडकको स्तरोन्नतिसहित जनताका लागि दैनिक सेवा प्रवाह सरल र सहज बनाउने प्रतिबद्धता जनाएका छन् । धनगढीमाई नगरपालिका १, २, लक्ष्मीपुरपतारी गाउँपालिका २ र ६, लहान नगरपालिका १ देखि २४, सखुवानन्कारकट्टी तथा भगवानपुर गाउँपालिकाको १ देखि ५ नम्बरसम्म गरी कुल ४१ वडा यस क्षेत्रमा पर्छन् । ०७९ को निर्वाचनमा कांग्रेस १६ हजार ४८८, एमाले १६ हजार ३३७, जसपा नेपाल १० हजार ४८१, जनमत पार्टी आठ हजार १३८, एकीकृत समाजवादी सात हजार ८६०, नाउपा एक हजार ७८४, माओवादी एक हजार ७१३, रास्वपा एक हजार १८ र लोसपाले २०७ समानुपातिक मत प्राप्त गरेका थिए ।
सिराहा २ मा कांग्रेस र रास्वपाबिच टक्कर
सिराहा २ मा कांग्रेस, एमाले, नेकपा, रास्वपा, जसपा, जनमत, आम जनता पार्टी, राष्ट्रिय मुक्ति पार्टीसहित १४ दल र १५ जना स्वतन्त्र गरी २९ जना उम्मेदवार चुनावी दौडमा छन् । कांग्रेसबाट पार्टी जिल्ला सभापति रामचन्द्र यादव, एमालेका नवीनकुमार यादव, रास्वपाका शिवशंकर यादव, नेकपाका मुक्तिनारायण सिंह, राष्ट्रिय मुक्ति पार्टीका कौशलकुमार सिंहलगायत यो क्षेत्रमा उम्मेदवार छन् । कांग्रेसका रामचन्द्र ०७० मा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । ०७४ मा उनी माओवादीका सुरेशचन्द्र यादवसँग पराजित भएका थिए ।
०७९ को निर्वाचनमा यो क्षेत्रमा जसपा नेपालका राजकिशोर यादव २४ हजार १७८ मतसहित निर्वाचित भएका थिए । उनले कांग्रेसकी चित्रलेखा यादवलाई एक हजार १५० मतान्तरले पछि पारेका थिए । यसपटक राजकिशोर आफ्नो गृह क्षेत्र ४ मा फर्किएका छन् । रास्वपाले यो क्षेत्रमा ३० वर्षीय शिवशंकर यादवलाई उम्मेदवार बनाएको छ । जेन–जी मधेश प्रदेशका संयोजकसमेत रहेका शिवशंकरले ०७९ को प्रतिनिधिसभा निर्वाचनमा हाम्रो नेपाली पार्टीको लौरो चुनाव चिह्नमा उठ्दा ६९९ मत मात्र ल्याएका थिए ।
एमालेले नवीनकुमार यादवलाई उम्मेदवार बनाएको छ । जनमत पार्टीका उम्मेदवार विनोदकुमार यादव ०७९ को निर्वाचनमा तेस्रो भएका थिए । नेकपाले मुक्ति सिंह र श्रम संस्कृति पार्टीले गंगाराम ठाकुरलाई उम्मेदवार उठाएको छ । जेन–जी मधेशका संयोजकसमेत रहेका शिवशंकर नयाँ उम्मेदवारका रूपमा कांग्रेसका रामचन्द्रसँग भिड्नु नै रोचक रहेको स्थानीय मतदाता बताउँछन् । अर्नमा गाउँपालिकाको ४ र ५, औरही गाउँपालिकाको १ देखि ५, गोलबजार नगरपालिका १३, धनगढीमाई नगरपालिका ३ देखि १४, नवराजपुर र बरियारपट्टी गाउँपालिकाको १ देखि ५, लक्ष्मीपुरपतारी गाउँपालिकाको १ र सुखीपुर नगरपालिका १ देखि १० नं. गरी कुल ४१ वडा पर्ने यो क्षेत्रका उम्मेदवारहरूले हुलाकी सडकमा पर्ने सहजा पुल निर्माण, रुग्ण रहेको लगडी गदियानी सडकको निर्माण आपूmहरूको पहिलो प्राथमिकतामा रहेको कबोल गरेका छन् । ०७९ को निर्वाचनमा समानुपातिकतर्फ जनमत १६ हजार ९१७, एमाले १३ हजार २५५, कांग्रेस १२ हजार २२४, जसपा नेपाल ११ हजार ७७६, माओवादी सात हजार ५०३, नेकपा एस दुई हजार ३६४, रास्वपा ७०२, लोसपाले १३८ मत ल्याएका थिए ।
सिराहा ३ मा चार दलबिच पेचिलो प्रतिस्पर्धा
सिराहा ३ मा कांग्रेसका सुभाषचन्द्र यादव, एमालेका निवर्तमान सांसद लीलानाथ श्रेष्ठ, नेकपाका विश्वनाथ साह, रास्वपाका शम्भुकुमार यादव, जसपाका अशेश्वर यादव, जनमतका रोहित महतोसहित १२ दल र २९ स्वतन्त्र ४१ जना चुनावी दौडमा छन् । ०७९ को निर्वाचनमा २८ हजार ६४ मतसहित निर्वाचित भएका एमालेका श्रेष्ठ यसपटक समानुपातिक सांसद रहेकी सम्झना थपलिया, पूर्वसांसद जानकीदेवी रामसहित स्थानीय पार्टीमा पकड राख्ने केही नेता–कार्यकर्ताको बहिर्गमनले दबाबमा छन् । पछिल्लो निर्वाचनमा नेकपाका साहले निकटतम प्रतिद्वन्द्वीका रूपमा २६ हजार ८८२ मत ल्याएकाले यसपल्ट उनी उत्साहित देखिन्छन् ।
जसपाका उम्मेदवार अशेश्वर ०७४ को निर्वाचनमा एमालेका श्रेष्ठसँग पराजित भएका थिए । जनमतका महतो, रास्वपाका शम्भुकुमार यादव, उज्यालो नेपाल पार्टीका श्रवण पासमानलगायत चुनावी दौडमा सामेल छन् । रास्वपाका उम्मेदवार शम्भु पनि रास्वपाको लहरसँगै जित निकाल्ने दाउमा छन् । नेकपाका विश्वनाथ पटकपटक संसदीय निर्वाचनमा पराजित हुँदै आएको र जितेर गएकाप्रति मतदाता सन्तुष्ट नरहेकाले सहानुभूतिको मतसहित पार्टी संगठनकै मतले आफू निवाचित हुने दाबी गर्छन् । प्रायः उम्मेदवारहरूले रुग्ण रहेको गोलबजार लगडीगदियानी सडक निर्माण, करिब १५ वर्षदेखि अलपत्र रहेको कमला पुलको निर्माण गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
०७९ को निर्वाचनमा समानुपातिकतर्फ कांग्रेस १६ हजार १४३, एमाले १५ हजार ५९८, जनमत १० हजार १७७, माओवादी आठ हजार ४८५, जसपा सात हजार ९६०, एकीकृत समाजवादी ६ हजार ८१८, राप्रपा एक हजार ५४२, रास्वपा ७३१, लोसपाले २१४ मत ल्याएका थिए । अर्नमा गाउँपालिका १, २, ३, गोलबजार नगरपालिका १ देखि १२, नरहा गाउँपालिका १ र २, विष्णुपुर गाउँपालिका १ र ५ तथा सिराहा नगरपालिकाका २२ वडा गरी कुल ४१ वडा पर्छ ।
सिराहा ४ मा पूर्वमन्त्रीहरूबिच नै प्रतिस्पर्धा
सिराहाको पश्चिमी भेगमा पर्ने ४ नम्बर क्षेत्रमा कांग्रेसकी चन्द्रकलाकुमारी यादव, नेकपाबाट पूर्वमन्त्री अजयशंकर नायक, एमालेबाट पूर्वमन्त्री धर्मनाथप्रसाद साह, जसपाबाट पूर्वमन्त्री राजकिशोर यादव, अशोक राई नेतृत्वको जसपाबाट जनमत पार्टी छिरेका निवर्तमान सांसद तथा पूर्वमन्त्री वीरेन्द्रप्रसाद महतो, पूर्वमन्त्रीसमेत रहेका बहुजन शक्ति पार्टीका विश्वेन्द्र पासवान, रास्वपाका तपेश्वर यादवसहित १४ दल र २२ जना स्वतन्त्र गरी कुल ३६ जना उम्मेदवार छन् । राजकिशोर तीनपटक सांसद र दुईपटक मन्त्री भइसकेका नेता हुन् । ०७९ मा सिराहा २ बाट चुनाव जितेका उनी ०७४ मा सिराहा ४ बाटै निर्वाचित भएका थिए । जनमतका वीरेन्द्र भने ०७९ मा यो क्षेत्रबाट जसपा नेपालबाट २४ हजार १०२ मतसहित चुनाव जितेर सांसद हुँदै वन तथा भूसंरक्षणमन्त्री भएका थिए । महतो यसपटक चुनावको मुखैमा जनमतबाट टिकट लिएर चुनावी प्रतिस्पर्धामा होमिएका हुुन् ।
नेकपाका अजयशंकर भने समानुपातिक सांसद भएर मन्त्री भएका हुँदै ०७४ मा प्रत्यक्ष चुनाव लडे पनि जसपाका राजकिशोरसँग पराजित भएका थिए । ०७९ को निर्वाचनमा तेस्रो भएका धर्मनाथ साह एमाले उम्मेदवार हुन् । तत्कालीन दलित जनजाति पार्टीबाट समानुपातिक सांसद हुँदै मन्त्री भएका विश्वेन्द्र बहुजन शक्ति पार्टीबाट उम्मेदवार छन् । कांग्रेसकी चन्द्रकला र रास्वपाका तपेश्वर यो क्षेत्रका लागि नयाँ अनुहार हुन् । यो क्षेत्रमा कल्याणपुर नगरपालिकाको १ देखि १२, नरहा गाउँपालिकाको ३, ४, ५, मिर्चैया नगपालिका १ देखि १२, विष्णुपुर गाउँपालिका २, ३ ४, कर्जन्हा नगरपालिका १ देखि ११ नं. वडा गरी ४१ वडा पर्छन् ।
स्थानीयले कमला नदी कटान नियन्त्रण, मिर्चैया–कल्याणपुर–सिराहा सडकको स्तरोन्नतिजस्ता मुख्य समस्या सामाधानका लािग पहल गरिनुपर्ने औँल्याएका छन् । ०७९ को निर्वाचनमा समानुपातिकतर्फ जनमत १६ हजार १६०, जसपा नेपाल १० हजार ८५१, एमाले नौ हजार १०७, माओवादी ६ हजार ६६५, कांग्रेस ६ हजार २१९, लोसपा नेपाल तीन हजार ७७९, एकीकृत समाजवादी तीन हजार ८६, रास्वपा एक हजार ८०१, राप्रपाले एक हजार ४७८ मत ल्याएको यो क्षेत्रमा समानुपातिक मततर्फ सबैभन्दा बढी ल्याएको जनमत र दोस्रो जसपा नेपालका उम्मेदबारबिच टक्कर हुने अनुमान गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया

ताजा खबर

धेरै पढिएको