मणिलाल विश्वकर्मा
लहान, १ माघ । जनसंख्या र भूगोलको दृष्टिकोणले जिल्लाकै सबैभन्दा ठूलो सिरहाको लहान नगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको घरदैलोमै पुगेर स्वास्थ्य जाँच अभियान थालेको छ । सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्यको जाँच गरी आवश्यक सुझाव र परामर्श दिनेगरी अभियान थालिएको नगर प्रमुख महेशप्रसाद चौधरीले बताए। ‘विशेष शारीरिक अवस्थाका सुत्केरी र नवजात शिशुको स्वास्थ्य सवल राख्न अभियान थालिएको हो’ उनले भने ।
अभियान संचालनका लागि उनले आÇनै कार्यकक्षमा नगर क्षेत्र अन्तर्गत १२ वटा स्वास्थ्य केन्द्रका नर्सिङ् कर्मचारीहरुलाई बुधबार विपी सेट, स्टेथेस्कोप र झोलालगायत सामग्री हस्तान्तरण गरे । नगर क्षेत्रमा रहेका स्वास्थ्य चौकी अन्तर्गत पर्ने सेवा क्षेत्रका सुत्केरी, नवजात शिशुको स्वास्थ्य जाँचसहित आवश्यक परामर्शका लागि नर्सिङ् कर्मचारी घर घरमै पठाउने व्यवस्था मिलाइएको उनले बताए । उनका अनुसार यातायातको सहज उपलब्धता नरहेका ग्रामीण भेगका सुत्केरीलाई लक्षित गरी कार्यक्रम संचालन गरिएको हो।सुत्केरी आमा वा नवजात शिशुको समयमै स्वास्थ्य जाँच, उपचार र आवश्यक परामर्शको अभावमा स्वास्थ्य बिग्रिन नपाओस् भन्ने उद्देश्यले अभियान थालिएको उनले बताए।
नगर स्वास्थ्य शाखा प्रमुख सिअहेव अधिकृत बिन्देश्वर चौधरीका अनुसार सुत्केरी भएपछि हरेक महिला र नवजात शिशुको २४ घण्टा, तीन दिन, सातदेखि १४ दिन र ४२ दिनमा गरी चार पटक स्वास्थ्य जाँच गरिनुपर्छ । ‘सुत्केरीहरु स्वास्थ्य जाँचका लागि नवजात शिशुसहित नजिकको स्वास्थ्य संस्थामा पुग्न पनि कठिनाई हुने गरेको पाइएको छ’ उनले भने ‘अभियानअन्तर्गत सुत्केरीको रक्तचाप, ज्वरो, शिशुको समेत संक्रमणको जाँचसहित आवश्यक परामर्श दिइने छ ।’
नगरपालिकाले पछिल्लो करिब चार वर्षदेखि हरेक महिनाको २२ गते २४ वटा वडा क्षेत्रमा आलोपालो ‘सुत्केरी तथा गर्भवती पोषण प्याकेज’ अन्तर्गत पोषणयुक्त खानेकुरा समेत वितरण गर्दै आएको छ । घरमै असुरक्षित रुपले गराइने प्रसूति निरुत्साहित गर्न प्रोटोकल अनुसार गर्भजाँच, त्यस्तो अवस्थामा पोषणयुक्त खानेकुराको सेवन, गर्भवती र सुत्केरी अवस्थामा अपनाउनु पर्ने सावधानी लगायतका विषयमा स्वास्थ्य चौकीसहित गाउँघर क्लिनिकमार्फत परामर्श दिइने गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।




