मणिलाल विश्वकर्मा
लहान, ३ पुस । लोकतन्त्र र संविधानको रक्षाका लागि मिडियालाई स्वतन्त्र, सक्षम र जीवित राख्न तीन तहका सरकार गम्भीर बन्नुपर्नेमा जोड दिइएको छ । मिडिया काउन्सिल मधेश प्रदेशद्वारा बिहीबार लहानमा आयोजित ‘सञ्चारमाध्यमको अवस्था र चुनौती’ विषयक गोष्ठीमा वक्ताहरूले सञ्चार क्षेत्रले भोग्दै आएका समस्या समाधानमा राज्यको सक्रिय भूमिका रहनुपर्ने औँल्याए । ‘प्रदेशअन्तर्गतका आठवटै जिल्लाका सञ्चारमाध्यमहरूलाई प्रदेश सरकार र स्थानीय सरकारले विशेष ध्यान दिन जरुरी छ,’ गोष्ठीमा सहभागी सिरहा सप्तरीका पत्रकारहरूको माग थियो । ‘कम्तीमा प्रदेश सरकार र स्थानीय सरकारका विज्ञापन सूचनाहरू समानुपातिक ढंगले वितरण गरिनुका साथै पत्रकारहरूको क्षमता विकासका लागि नीति बनाएर कार्यान्वयन गरिनुपर्छ ।’
कार्यक्रममा मधेश प्रदेश सभा सदस्य जीवछी यादवले जेन–जी आन्दोलनपछि निर्वाचन गराउने मुख्य कार्यादेशसहित बनेको सरकारले घोषणा गरेको निर्वाचनका लागि पत्रकार र सञ्चारमाध्यमको भूमिका अझ बढेको बताइन् । ‘निर्वाचनले लोकतन्त्र र संविधानको रक्षा गर्ने भएकाले स्वतन्त्र र उत्तरदायी मिडियाको भूमिका बढ्नुपर्छ,’ उनले भनिन्, ‘त्यसका लागि पत्रकारको पेसागत तथा सामाजिक सुरक्षासम्मको जिम्मेवारी राज्यको हो ।’
लोकतन्त्रको मेरुदण्ड मिडिया रहेको चर्चा गर्दै उनले स्वतन्त्र, सक्षम र जिम्मेवार मिडिया विनासुशासन कायम नहुने बताइन् । ‘जनतालाई सुसूचित गर्दै खवरदारी गरिरहने सञ्चार माध्यमहरू आर्थिक संकट, सुरक्षा चुनौती र नीतिगत अस्पष्टताबाट गुज्रिरहेका छन्’ उनले भनिन् ‘त्यस्ता समस्याको समाधानका लागि संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले गम्भीर भएर ठोस नीति र कार्यक्रम ल्याउनुपर्छ ।’
मधेस प्रदेश आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गाले प्रदेशका वस्तुगत समस्या, मिडियाहरुले उठाउँदै आएका सवालको लय नमिलिरहेको औंल्याए । ‘सञ्चार माध्यमहरूले आर्थिक, प्रविधि र नीतिगत चुनौतीको सामना गरिहेका छन्’ उनले भने ‘सरकारी नीति तथा कार्यक्रममार्फत मिडियालाई सशक्त बनाइनु पर्छ ।’
त्यसका लागि प्राधिकरणले अनलाइन माध्यमबाट मिडिया दर्ताका काम गरिरहेको जानकारी दिंदै उनले पत्रकाहरुहरुको सुरक्षाका लागि दुर्घटना र स्वास्थ्य बीमा सम्बन्धी नीतिलाई परिमार्जन गरी जीवन बीमामा लैजाने प्रयास गरिरहेको बताए । प्राधिकरणले पत्रकारिता अध्ययन गर्न चाहने प्रदेश अन्तर्गतका जिल्लाका पत्रकारहरुलाई छात्रबृत्तिको व्यवसथ गर्न लागिएको उनले बताए ।
मधेस प्रदेश मिडिया काउन्सिलका कार्यबाहक अध्यक्ष सुरेश कुमार यादवले पत्रकारिता क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन काउन्सिलले आमसञ्चार प्राधिकरण लगायत विभिन्न निकायहरुसँग समन्वय र सहकार्यको नीति लिएको बताए । पत्रकार र संचारमाध्यमको सुरक्षा तथा विकासका लागि पत्रकार कल्याण कोष, लेखनबृत्ति, पत्रकार प्रोत्साहनका लागि पुुरस्कारको व्यवस्था गर्न लागिएको उनले बताए । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिका उपाध्यक्ष अम्बिका दाहालले इमान्दार भएर पत्रकारिता गर्नुपर्नेमा जोड दिँदै पत्रकार आचारसंहितालाई ध्यान दिन पत्रकारहरुलाई आग्रह गरिन् । महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैता यादव र सप्तरी शाखाका अध्यक्ष श्रवण देवले स्थानीय सञ्चार माध्यमहरुलाई जोगाउन विज्ञापन नीति, क्षमता अभिबृद्धि तथा पत्रकारको सामाजिक सुरक्षामा विशेष ध्यान दिनुपर्ने औंल्याए । कार्यक्रममा सहभागी सिरहासप्तरीका पत्रकारहरुले सञ्चार माध्यमले भोग्दै आएका व्यावसायिक, आर्थिक र संरचनागत चुनौतीबारे गहन छलफल गरेका थिए ।




