मणिलाल विश्वकर्मा
लहान, १ पुस । ग्रामीण क्षेत्रमा सुरक्षित मातृत्वको प्रवद्र्धन गर्न सघाउने उद्देश्यले सिरहाको भलुवाहीस्थित स्वास्थ्य चौकीलाई सहयोगस्वरूप ग्रामीण अल्ट्रासाउन्ड हस्तान्तरण गरिएको छ । स्वास्थ्य संस्थामा प्रसूति गराउन र मातृ तथा शिशुको स्वास्थ्य सुरक्षाका लागि सञ्चालित मातृ तथा शिशु स्वास्थ्य सेवा सुदृढीकरण कार्यक्रमअन्तर्गत सिराहा नगरपालिका– ११ भलुवाहीस्थित स्वास्थ्य चौकीलाई सोमबार संक्षिप्त समारोहबिच बोकेर हिँड्न मिल्ने ग्रामीण अल्ट्रासाउन्ड (आरओयुएसजी) हस्तान्तरण गरिएको हो ।
बर्थिङ सेन्टरसमेत रहेको चौकीमा अल्ट्रासाउन्ड प्राप्त भएलगत्तै सेवा सञ्चालन गरिएको स्वास्थ्य चौकी इन्चार्ज सिअहेव प्रदीपनारायण ठाकुरले जानकारी दिए । ‘स्वास्थ्य चौकीमा गर्भ जाँच गराउन दैनिक करिब १० जनाजति महिला आउँथे,’ उनले भने, ‘अल्ट्रासाउण्ड नहुँदा जटिल अवस्थाका वा कुनै समस्या हुन सक्ने जोखिम भएका गर्भवतीको जाँच गराउन सिरहा प्रादेशिक अस्पताल रेफर गर्नुपर्ने बाध्यता हटेको छ ।’
स्वास्थ्य चौकीले अल्ट्रासाउन्ड उपकरण पाएपछि गर्भ रहेदेखि अन्तिम महिनासम्म चारपटक जाँच गराउँदा गर्भवतीले खर्चिनपर्ने औसत दुई हजार आठ सय रुपैयाँ जोगिने उनले बताए । बन हर्ट वल्र्डवाइडको सहयोगमा दुई लाख २३ हजार ७५३ रुपैयाँ मूल्यको अल्ट्रासाउन्ड हस्तान्तरण गरिएको लहानस्थित होप फाउन्डेसनकी अध्यक्ष पार्वती सुब्बाले जानकारी दिइन् ।
‘उक्त सहयोगले गर्भवतीको नियमित जाँच, चर्को शुल्क तिरेर निजी क्लिनिकमा अल्ट्रासाउन्ड गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ,’ उनले भनिन्, ‘गरिब विपन्न समुदायका गर्भवतीले अल्ट्रासाउन्ड नगराई जोखिम मोलेर सुत्केरी हुनुपर्ने अवस्थाको समेत अन्त्य भएको छ ।’ बन हर्ट वल्र्डवाइडका जिल्ला संयोजक कवीन्द्र रेग्मी र फाउन्डेसनकी अध्यक्ष सुब्बाले उक्त उपकरण स्वास्थ्य चौकी व्यवस्थापन समिति, वडाध्यक्ष, जिल्ला स्वास्थ्य कार्यालय, नगर स्वास्थ्य शाखा, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूहका प्रतिनिधिहरूको उपस्थितिमा हस्तारन्तरण गरेलगत्तै रिबन काटेर सेवा नियमित गरिएको छ ।
करिब १० प्रतिशत प्रसूति अझै घरमा
जिल्ला स्वास्थ्य कार्यालय सिराहाका अनुसार आर्थिक वर्ष ०८१८२ मा सिराहाका १७ स्थानीय तहमा १३ हजार ११७ जनामध्ये ११ हजार ८८८ जना स्वास्थ्य संस्था र एक हजार २४९ जनाले घरमै प्रसूति गराएका छन् । पालिका तहमा सबैभन्दा बढी धनगढीमाई नगरपालिकामा ९३१ जनामध्ये ७२२ जना (७७.६ प्रतिशत) स्वास्थ्य संस्था र २०९ जना (२२.४ प्रतिशत) ले घरमै प्रसूति गराएका छन् । त्यस्तै, सबैभन्दा बढी जिल्ला सदरमुकामसमेत रहेको सिराहा नगरपालिकामा ८८.३ प्रतिशत स्वास्थ्य संस्था र ११.७ प्रतिशतले घरमै प्रसूति गराएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
फाउन्डेसनका अनुसार स्वास्थ्य संस्थामा प्रसूति गराउँदा आमा तथा नवजात शिशु दुवै सुरक्षित हुने भएकाले स्वास्थ्य उपकरणहरू सहयोग गर्नुका साथै स्वास्थ्य चौकी, आधारभूत अस्पताल र अस्पतालका स्वास्थ्य व्यवस्थापन समिति, बर्थिङ सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाहरूको क्षमता अभिवृद्धिका लागि काम गरिरहेको छ ।
त्यसअघि फाउन्डेसनले गत कात्तिकमा मातृ तथा नवजात शिशुको गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि मिर्चैया अस्पताल, भलुवाही तथा बरियारपट्टी स्वास्थ्य चौकी, सुखीपुर आधारभूत अस्पताल र भगवानपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई कुल ६ लाख ५२ हजार ५८२ रुपैयाँ ३८ पैसाबराबरको प्रसूतिसम्बन्धी उपकरण र सामग्रीहरू सहयोगस्वरूप उपलब्ध गराएको थियो । प्रसूति गराउने स्वास्थ्यकर्मीहरूलाई गुणस्तरीय र सुरक्षित सेवा प्रवाह, सुरक्षित मातृत्व र नवजात शिशु स्वास्थ्य अधिकारको सुनिश्चितता र आमा तथा शिशु दुवैको जीवन रक्षा गर्न प्रत्यक्ष योगदान पु¥याउन सामग्रीहरू दिइएको फाउन्डेसनले जनाएको छ ।




