सिरहामा १० हजार हेक्टर धानबालीमा क्षति


सिरहा, २७ कार्तिक । कात्तिकको दोस्रो साताको वर्षाले सिरहामा १० हजार ७२८ हेक्टर धानबालीमा क्षति पु¥याएको छ । पालिकास्थित कृषि शाखाले उपलब्ध गराएको प्रारम्भिक विवरण अनुसार सिरहाको लहान नगरपालिकामा सबैभन्दा बढी दुई हजार २३२ र सबैभन्दा कम नरहामा आठ सय हेक्टर धानबालीमा क्षति पुगेको छ ।
लहान नगरपालिका कृषि शाखा प्रमुख प्रकाश साहका अनुसार राम्रो मूल्य पाउने बासमती र सुक्खा प्रजातिका गरी करिब ५० प्रतिशत धानमा क्षति पुगेको छ । पूर्व–पश्चिम राजमार्गदेखि दक्षिण प्रायः बोरिङ, भूमिगत सिँचाइ तथा कमला नहर प्रणालीबाट सिँचाइ गरी उन्नत जातको धान रोपिने भएकाले त्यही धानमा बढी क्षति पुगेको उनले बताए । ‘पाक्नै लागेको र सुुरुमै रोपेर पाकेपछि काटिसकेको धानमा वर्षाले क्षति पु¥याएपछि स्वतः उत्पादान पनि घट्छ,’ कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्रकुमार महासेठले भने, ‘बेमौसमी वर्षाले धानको बोट ढलेकाले दाना कुहिएर उत्पादन घट्छ ।’
जिल्लाको कुल खेतीयोग्य जमिनमध्ये ५४ हजार हेक्टरमा बर्खे र एक हजार ३४५ हेक्टर चैते धानखेती हुने गरेको छ । पछिल्लो वर्ष दुई लाख २८ हजार ६९६ टन धान उत्पादन भए पनि यसपल्ट बासमती र अन्य प्रजातिका धान ढलेकाले उत्पादन घट्ने उनले बताए । सिरहामा २१ हजार ५३३ हेक्टर जग्गामा बाहै्र महिना र १८ हजार ३३८ हेक्टर अर्धसिञ्चित जग्गाबाहेक ३४ हजार ४२ हेक्टर क्षेत्रमा अकासेपानीको भरमा खेती हुँदै आएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया

ताजा खबर

धेरै पढिएको