जेन–जी आन्दोलन ः लहानका सरकारी कार्यालयहरूमा २१ करोड बढीको क्षति


मणिलाल विश्वकर्मा
लहान, २९ असोज ।
सिरहाको लहान नगरपालिकाले जेन–जी आन्दोलनको क्रममा तोडफोड, लुटपाट र आगजनी भएका लहानस्थित सरकारी कार्यालयहरुको अनुगमन गरी तत्काल जनतालाई सेवा प्रवाह गर्नका लागि कार्यालयलाई विद्युतीय उपकरण, फर्निचरलगायतका सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । आन्दोलनको क्रममा गत २४ भदौमा क्षतिग्रस्त भएपछिको अवस्था र सेवा प्रवाह, कर्मचारीले झेल्नु परिरहेको समस्याको बारेमा बुझ्न स्थलगत अनुगमन गरिएको हो । लहानका नगर प्रमुख महेशप्रसाद चौधरीको नेतृत्वमा मंगलबार दिउँसो घरेलु तथा साना उद्योग, डिभिजन वन, आन्तरिक राजश्व, नापी, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र जिल्ला ट्राफिक प्रहरी कार्यालयको स्थलगत अनुगमन गरिएको हो ।
भौतिक पूर्वाधारबाहेक २१ करोड बढीको क्षति
अनुगमनको क्रममा सम्बन्धित कार्यालय प्रमुखहरुले आन्दोलनको बेला भएको क्षतिको विवरण अनुसार भौतिक पूर्वाधारबाहेक विद्युतीय उपकरण, फर्निचर, कार्यालयका सामग्री गरी करिब २१ करोड तीन लाख ६० हजार ५४९ रुपैयाँबराबरको क्षति भएको बताए । लहान– ८ स्थित आन्तरिक राजश्व कार्यालयमा भएको आगजनीमा कार्यालयका सम्पूर्ण सामग्री, सवारी साधन गरी करिब साढे पाँच करोड रुपैयाँबराबरको क्षति भएको प्रमुख भीम काÇलेले अनुगमन टोलीसमक्ष सुनाए ।
‘कार्यालय तत्काल मर्मत गरेर नसक्ने अवस्था भएकाले यातायात कार्यालयसँगै टाँसिएको राजश्वका कर्मचारीको आवासबाट तत्काल सेवा प्रवाह गरिरहेका छौं,’ उनले भने, ‘नगरपालिकाले सपिङ मल संचालन गर्नेगरी तयार गरेको नयाँ भवन उपलब्ध गराए कार्यालय संचालन गर्न सहज हुन्थ्यो ।’
आन्दोलनपछि सवारीसाधन र चालक अनुमतिपत्र नवीकरण, सवारी जाँचपास, रुट इजाजत र पटकेबाहेक अन्य सेवा सुचारु गर्न फर्निचर, कम्प्युटर, प्रिन्टरलगायतका विद्युतीय सामग्री नहुँदा समस्या भइरहेको यातायात व्यवस्था कार्यालयका प्रमुख वीरेन्द्र साहले बताए । नगरपालिकाबाट कम्तिमा केही फर्निचर, विद्युतीय उपकरण सामग्री सहयोगको अपेक्षा रहेको उनले बताए । आन्दोलनको क्रममा यातायातमा नयाँ पुराना गरी करिब १५ हजार सवारी चालक अनुमतिपत्र, २७ थान कम्प्युटर, सात थान ल्यापटप लुटपाट, आगजनीसँगै १० हजार थान इम्बोस्ड नम्बर प्लेट नष्ट भएको सूचना अधिकारी विनित झाले जानकारी दिए ।
त्यस्तै, डिभिजन वनको लेखा शाखाको कम्प्युटर, प्रिन्टर, एउटा स्कुटरसहित सात थान मोटरसाइकल, एउटा चारपांग्रे भ्यान, कार्यालय भवन गरी करिब ९५ लाख रुपैयाँ क्षति भएको डिभिजनल वन अधिकृत शैलेन्द्रकुमार मिश्रले बताए । वनसँगै टाँसिएको घरेलु तथा साना उद्योग कार्यालयले आन्दोलनमा दुई वटा स्टोर, सात थान कम्प्युटर, कार्यालय भवनमा आगजनी भए पनि माथिल्लो तलामा कार्यालय व्यवस्थापन गरी सेवा सुचारु गरिएको प्रमुख किशोरीशरण यादवले बताए ।
आन्दोलनको क्रममा लुटपाट, आगजनी र तोडफोड भएको खाद्यमा चारवटा गोदाममा भण्डारण गरिएको आठ हजार १४८ क्विन्टल चामल, तीन हजार २२० क्विन्टल चिनी, ५३ क्विन्टल २१ किलो धान र ९८ हजार ८१५ थान जुटका बोरा लुटिएको खाद्यका प्रमुख दिपक सुनारले बताए । लुटपाटमा करिब १० करोड ९१ लाख २२ हजार ८२७ क्षति भएको खाद्यलाई नगरपालिकाले २४ असोजमा तत्काल कार्यालय संचालनका लागि एक÷एक थान कम्प्युटर र प्रिन्टर सेट, १०÷१० वटा प्लाष्टिकका कुर्सी र टेबल, चार वटा अन्य टेबल हस्तान्तरण गरेको थियो ।
इलाका प्रशासन कार्यालयमा करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएपछि तत्काल क्षतिग्रस्त कार्यालयहरुको मर्मत र रंगरोगनसहित विभागबाट मगाएको विद्युतीय सामग्री जडानपछि सबै सेवाहरु सुचारु गरिएको प्रमुख खनालले बताए । पूर्वपश्चिम लोकमार्गसँगै जोडिएको लहान– १ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयमा सडक क्षेत्रको सवारी आवागमनको निगरानी गर्न जडान गरिएको करिब ५५ लाख रुपैयाँ मूल्यको चार थान शक्तिशाली सिसि क्यामेरा, कम्प्युटर, ल्यापटप लुटपाट तथा फर्निचरलगायतमा आगजनी हुँदा करिब एक करोडबराबरको क्षति भएको ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरीक्षक सालिकराम तिमिल्सिनाले बताए । ‘सिसि क्यामेरा नहुँदा अत्यन्त गाह्रो भइरहेको छ’ उनले भने ।
सेवा सुचारु गर्न सघाउने प्रतिबद्धता
इलाका प्रशासन कार्यालयका प्रमुख उपसचिव वेदनिधि खनाल, लहान प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कैलाश राई, संचारकर्मीहरुलगायतको टोलीले क्षतिग्रस्त कार्यालयहरुको अनुगमनपछि नगर प्रमुख चौधरीले जनतालाई सेवा प्रवाह गर्ने सरकारी कार्यालयहरुलाई नगरपालिकाले स्रोत साधनले भ्याएसम्म सघाउने प्रतिबद्धता जनाए । ‘विषयगत मन्त्रालय मातहतका सरकारी कार्यालयहरुमा कार्यालय संचालन गर्न विभागीय रुपले आउने सहयोग ढिलो हुन सक्छ,’ उनले भने, ‘जनतालाई सेवा लिन कठिनाई नहोस् भन्ने उद्देश्यले तत्कालका लागि कम्प्युटर, प्रिन्टर, फर्निचरलगायतका सामग्री सहयोग गर्छौं ।’ जेन–जी आन्दोलनका क्रममा गत २४ भदौमा सिरहा जिल्लाका १७ वटै स्थानीय तहमा निजी, प्रहरीसहित ५२ वटा भौतिक संरचनामा तोडफोड र आगजनी भएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया

ताजा खबर

धेरै पढिएको