सिरहा, २९ असोज । सिरहाको गोलबजार नगरपालिका–१० स्थित घुर्मी नदीको किनारमा झाडीभित्र फालिएको अवस्थामा एक नवजात बालिका शिशुको उद्धार गरिएको छ । स्थानीयवासी रामदुलार यादवले झाडीभित्र शिशु रोएको आवाज सुनेपछि वडाध्यक्ष उपेन्द्र मुखियालाई खबर गरेका थिए। तत्काल घटनास्थल पुगेर वडाध्यक्ष मुखियाले बालिकालाई सुरक्षित उद्धार गरेका हुन् । उद्धारलगत्तै शिशुलाई उपचारका लागि वर्धमान अस्पताल, गोलबजारमा लगिएको वडाध्यक्ष मुखियाले जानकारी दिए । अस्पतालका अनुसार हाल शिशुको स्वास्थ्य अवस्था सामान्य छ र उपचार भइरहेको छ ।
घटनाबारे अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गोलबजारको टोली घटनास्थलमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी रमेश बहादुर पालले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।




