आस्था र प्रकृतिको संगम ‘राजाजी डाँडा’


लहान बजारबाट झन्डै १२ किलोमिटर उत्तर चुरेको काँखमा अवस्थित छ राजाजी डाँडा । लहान नगरपालिका–१६ मा पर्ने यो डाँडामा पुगेर उत्तर चुरे क्षेत्रको उच्च बिन्दुमा अवस्थित राजाजी डाँडाबाट सिरहा, सप्तरी र उदयपुरका विभिन्न भूभागका समथर फाँट र अनुपम भूदृश्य अवलोकन गर्न सकिन्छ । यहाँबाट देखिने हरियाली, खेतबारी, गाउँबस्ती र फाँटहरूको मनोरम दृश्यले जोकोहीलाई लोभ्याउँछ । गर्मी छल्न यो डाँडो यस भेगका मानिसको प्राथमिक रोजाइमा पर्दैआएको छ । सबैभन्दा नजिकको उच्च बिन्दु भएकाले राजाजी डाँडा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा छ ।
यो डाँडाले केवल प्राकृतिक मात्र नभई धार्मिक र पुरातात्त्विक महत्त्वसमेत बोकेको छ । यहाँ सयौं वर्ष पुरानो इँटाको मन्दिर, इनार र खुला डाँडामा रहेको देव हाटजस्ता महत्वपूर्ण धरोहर जीवन्त छन् । स्थानीय बासिन्दा पूजापाठ, भाकल, पूजाजस्ता धार्मिक गतिविधि गर्दै आएका छन् । संकटका बेला यहाँका देवता ‘राजाजी बाबा’लाई पुकार्दा कल्याण हुन्छ, चिताएको पूरा हुन्छ भन्ने जनविश्वास छ ।
पौराणिक कालमा यस डाँडामा राजाको दरबार रहेको र यहींबाट राजकाज सञ्चालन हुने गथ्र्यो भन्ने किंवदन्ती रहेको लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरी बताउँछन् । भनिन्छ, राजा सलहेस राजाजी दरबारका प्रधानमन्त्री थिए । राजाजी बाबाकै नामबाट यो अग्लो डाँडाको नाम राजाजी डाँडा परिचित हुन गएको हो । वडाध्यक्ष गरुडबहादुर जर्घामगरका अनुसार यो डाँडामा पहिले इँटाका ठुलाठुला पर्खाल थिए, जुन सयौं वर्ष पुराना हुन् । यो हाम्रो पुर्खाको समयदेखि नै त्यस्तै थियो । उनका अनुसार कसले र कहिले निर्माण ग¥यो भन्ने लिखत वा अभिलेख नरहे पनि बनावटले यो पौराणिक कालदेखिको संरचना हो भन्ने बुझ्न सकिन्छ ।
आज पनि ती पुराना इँटा यथावत छन् । संरक्षणको अभावमा यो धरोहर जीर्ण हुँदै गयो र प्रचारप्रसारको अभावमा यसको अनुसन्धान समेत हुन सकेन । जसका कारण यो धरोहर ओझेल पर्न पुग्यो । अहिले भने स्थानीय तहको पहलमा यस क्षेत्रको विकासले गति लिएको छ । २५ लाख लागतमा लहान नगरपालिकाले राजाजी डाँडामा गहवर (मन्दिर) निर्माण गरी धरोहरको संरक्षण थालेको छ । यस स्थानसम्म जाने बाटो निर्माण गर्दैछ । राजाजी डाँडालाई संरक्षण र सौन्दर्यीकरण गरी सलहेससँगको सम्बन्धलाई जोडेर लहान नगरपालिकाले पर्यटकीय गन्तव्य बनाउने कामको सुरुवात गरेको नगर प्रमुख चौधरीले बताए । पुरातात्विक, सांस्कृतिक, धार्मिक र ऐतिहासिक यो धरोहरलाई यस भेगकै लोभलाग्दो पर्यटकीय गनतव्य बनाउने योजना अघि बढाएको उनले बताए ।
पहिला यहाँ पुग्नका लागि एक घण्टाभन्दा बढी पैदल ठाडो उकालो चढ्नुपर्ने बाध्यता थियो । चुरे उकाली–ओराली पार गर्दै, श्रद्धालुहरू हरेक वर्ष असारमा असारी पूजा गर्न राजाजी डाँडा पुग्थे । यसैबिच स्थानीयको विश्वास र आस्थालाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावना देखिन थालेपछि पहिलोपटक २०७८ सालमा निवर्तमान नगरप्रमुख मुनि साहको नेतृत्वमा डाँडासम्मको ट्र्याक खोलिएको थियो । त्यसपछि चुरे फेदमा रहेको झिँझरी खोला पार गरेर झन्डै पाँच किलोमिटर चुरेको उकालो हुँदै राजाजी डाँडासम्म मोटर पुग्न थाल्यो । जसले गर्दा स्थानीयलाई धार्मिक पूजापाठ गर्नलाई सहज बन्यो । ट्र्याक खुलेपछि सजिलै डाँडासम्म पुगिन्छ ।
आर्थिक वर्ष २०८२÷८३ मा झिँझरी खोलाबाट राजाजी डाँडासम्मको बाटोमा पैदल हिँडेर पुग्न चाहनेका लागि सिँढी निर्माण गर्न थप बजेटको व्यवस्था गरिने योजना बनाइएको नगरप्रमुख चौधरीले बताए । उनी भन्छन्, ‘राजाजी डाँडा धर्म, प्रकृति र पुरातात्त्विक पर्यटनको त्रिवेणी हो ।’ यो धरोहरको संरक्षण र प्रवर्धन गर्न सकिए मधेस प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बन्ने बलियो सम्भावना छ । राजाजी डाँडालाई पर्यटकीय केन्द्र बनाउने दीर्घकालीन योजना अनुसार काम सुरु गरिएको उनले बताए । ‘यो एक स्थान मात्र नभई धार्मिक आस्था, ऐतिहासिक गौरव, सांस्कृतिक धरोहर र प्राकृतिक सौन्दर्यको अनुपम संगम स्थल हो,’ उनले भने ।
यसलाई पर्यटकीय स्थलका रूपमा विकास गरी बाह्य पर्यटकलाई आकर्षित गर्न सकिए नगरको गौरव त बढाउँछ नै, यस भेगको व्यापार र व्यवसायलाई समेत टेवा पुग्ने देखिन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया

ताजा खबर

धेरै पढिएको