सिरहा, ३१ भदौ । सिराहामा जेन–जी आन्दोलनका क्रममा विस्थापित १२ प्रहरी युनिट पुनस्र्थापना गरिएको छ । अस्थायी प्रहरी बिट फुलबरिया र बाह्रबिघा मात्र पुनस्र्थापना गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयमातहत रहेका ४१ प्रहरी युनिटमध्ये १४ वटा आन्दोलनका क्रममा विस्थापित भएका थिए । इलाका प्रहरी कार्यालय गोलबजार, नरहा, विष्णुपुर, कल्याणपुर, प्रहरी चौकी बेल्हा, लगडीगोठ, लगडी गदियानी, सन्हैठा, औरही, हरकट्टी, लहान प्रहरी बिटलाई पुनस्थापना गरिएको हो । आन्दोलनबाट ध्वस्त भएका प्रहरी युनिटहरू साबिक स्थानमै पुनस्र्थापना थालिएको डिएसपी पासवानले बताए । पुनस्र्थापित प्रहरी युनिटमा प्रहरी टोली पुगेपछि स्थानीय तहका जनप्रतिनिधिसँगै नागरिकले फूलमालाले स्वागत गरेका छन् ।




