सिरहा, २९ साउन । सिरहाको धनगढीमाई नगरपालिका– ११, आमचौक बस्ने ८५ वर्षीय फनिलाल यादवको हत्यामा संलग्न रहेको आरोपमा दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहाले पत्रकार सम्मेलन गरी पक्राउ परेका दुईजनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका– २, भवानीपुरका ३३ वर्षीय महेश चौधरी र सोही ठाउँका १९ वर्षीय प्रशान्तकुमार मण्डल रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासवानले बताए ।
गत साउन १४ मा आफनो घरमा चोरी हुन लागेपछि फनिलालले होहल्ला गर्न खोज्दा चौधरीले आफूसँग बोकेको खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । मृतक फनिलालमाथि टाउको, बायाँ कान र बायाँ आँखीभौँमाथि धारिलो हतियार प्रहार गरेर घाइते बनाएर फरार भएको र अत्यधिक रक्तस्रावका कारणले मृत्यु भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका फनिलाललाई प्रहरीको टोलीले उपचार गर्न राउ स्मारक प्रादेशिक अस्पताल लहान पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय लहानले संयुक्त अनुसन्धान गर्दै निचोडमा पुगेको डिएसपी पासवानले बताए । पक्राउ गरिएका दुवैजनालाई जिल्ला अदालत सिराहाबाट सात दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




