जीवछ यादव
लहान, १२ साउन । मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले कृषिमा पर्याप्त बजेट विनियोजन नभएको बताएको छ । लहान नगरपालिका वडा ११ मा अगुवा किसानहरुसँगको भेटघाटको क्रममा उनले यस्तो बताएको हो । यस वर्षको बजेटमा कृषि क्षेत्रमा चार अर्व मात्र बजेट विनियोजन हुनु अति कम भएको महसुस गरेको उनले बताए । ‘सामुदायिक भवन निर्माणमा अठार अर्व र कृषिमा चार अर्व मात्र बजेट उचित भएन’ मन्त्री लेखीले भने, ‘मधेश सरकारले मधेशलाई सुक्खा क्षेत्र घोषणाका लागि सङ्घीय सरकारलाई सिफारिस गरेपछि तत्काल प्रधानमन्त्रीले मधेशको दौडाहा गरेर पाँचसय थान डिप बोरिङ जडानका लागि घोषणा गर्नुभयो ।’
लहानका खुटी नहर सञ्चालनमा आउनुअघि माग गर्दै आइरहेको खुटी नहर संघर्ष समितिको मागलाई सम्बोधन गरी नहर सञ्चालनको लागि मधेश प्रदेश सरकारले १५ लाख बजेट विनियोजन गरेर मागलाई वेवास्ता गरेको संघर्ष समितिका संयोजक धर्मराज चौधरी, सदस्यहरु हेमन्त याद,अजय चौध।री लगायतकाहरुले मन्त्री समक्ष गुनासो पोखे । किसानहरुको गुनासो सुनेर मन्त्री लेखीले विश्वास दिलाउँदै भने, ‘लहानका किसानहरुले गरेको गुनासो सही छ । यस समस्यालाई विभागीय मन्त्रीसमक्ष राख्ने छु ।’
लहान–१० ग्रामीण चोकदेखि उत्तर खुटी नदीमा सहरी क्षेत्रमा रहेको नहर भएर पानी निकाल्न २०७८ सालमा पूर्व नगरप्रमुख मुनि साहको कार्यकालमा आठ करोड ७२ लाखको लगानीमा मधेश प्रदेश सरकार सिँचाइ विभागको पहलमा हेडवक्र्स निर्माण भएको थियो ।




