सिराहाको जनता नमूना माविका छात्राहरू शिक्षकबाटै असुरक्षित, चारजनाले खोले यौन हिंसाको पीडा


मुकेश कुमार यादव
सिरहा, २२ असार ।
चार जना छात्रामाथि लामो समयदेखि यौन दुव्र्यवहार गरेको आरोपमा सिराहाको गोलबजार नगरपालिका–८ स्थित जनता नमूना माध्यमिक विद्यालयका शिक्षक पक्राउ परेका छन् । शिक्षक हरि श्रेष्ठले लामो समयदेखि आफूहरुमाथि यौन दुव्र्यवहार गरेको भन्दै छात्राहरुले प्रहरीमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो ।
श्रेष्ठले कक्षामा पढाउने क्रममा बालिकाहरुको संवेदनशील अंगहरु छुने, शरीर मुसार्ने, अंगाालो हालेर गाला सुम्सुम्याउने जस्ता क्रियाकलाप गर्ने गरेका थिए । पीडित बालिकाहरुले शिक्षकको दुव्र्यवहारका बारेमा अभिभावक र विद्यालयकै शिक्षिका रञ्जु सिंहलाई भनेपछि घटनाको जानकारी विद्यालयका प्रधानाध्यापक ब्रह्मदेव सिंहसम्म पुगेको थियो । प्रधानाध्यापक सिंहले शिक्षक हरि श्रेष्ठलाई घटनाबारे सोधपुछ समेत गरेका थिए ।
घटना सार्वजानिक भएपछि श्रेष्ठले पीडित बालिकाहरूको घरमै पुगेर आफूले बदनियतपूर्वक केही नगरेको भन्दै घटनालाई अगाडि नबढाउन आग्रह गरेका थिए । उनले बालिकाका परिवारसँग माफि समेत मागेको पीडित बालिकाका परिवारजनले जनाए । पीडित बालिकाका परिवारजनले भने श्रेष्ठलाई कानुनी कार्बाहीका लागि प्रक्रिया अगाडि बढाउन विद्यालय प्रशासनलाई दबाब दिएका थिए । विद्यालयका प्रधानाध्यापकलगायत केही शिक्षकहरुले घटना दबाउन खोजेको भन्दै स्थानीयले विद्यालयको प्रशासनिक भवनमा तोडफोड समेत गरेका थिए । तर प्रधानाध्यापक सिंहले घटनाका विषयमा अभिभावकले लगाएको आरोप झुठो भएको फोनमार्फत प्रतिक्रिया दिए । छोटो कुराकानीमा सिंहले भेटेरै सबै बताउने भन्दै विषयबाट पन्छिने प्रयास गरे ।
महिला हिंसाको विषयमा वकालत गर्ने संस्था मुक्ति नेपालले घटनाबारे अध्ययन गर्दा बलिकाहरु पीडित भएको पाएको अध्यक्ष देवकुमारी रामले बताइन् । उनले भनिन्, ‘पहिलो कुरा यसरी बालिकाहरु यस्तो घटनामा प्रहरीसम्म पुग्दै पुग्दैनन् । बालिकाहरु प्रहरीमै आएर उजुरी दिएकाले पनि उनीहरु पीडित रहेको भन्न गाह्रो छैन ।’ इलाका प्रहरी कार्यालय गोलबजारले पीडित बालिकाहरुलाई थप स्पष्ट हुन एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) सिराहा पठाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार सिंह भने विद्यालयमा बालिकाहरुमाथि यौन हिंसा नभएको दाबी गर्छन् । घटना सार्वजनिक भइसकेपछि पनि अध्यक्ष सिंह ‘केही शिक्षक र व्यक्तिहरु विद्यालयलाई बदनाम गर्न यस्ता आरोप बाहिर ल्याएको’ भन्दै गैरजिम्मेवार जवाफ दिन्छन् । अध्यक्ष सिंह भन्छन्, ‘कामचोर केही शिक्षकहरु र बाहिरकै व्यक्तिहरु विद्यालयलाई धारासायी बनाउने योजनामा छन्, उनीहरुकै ग्र्याण्ड डिजाइनमा घटना रचिएको हो ।’
घटना सर्वाजिनक भएपछि शिक्षक श्रेष्ठलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया

ताजा खबर

धेरै पढिएको