दिगो विकासको लागि शिक्षामा भरपुर लगानी आवश्यक छ ः पूर्वमन्त्री श्रेष्ठ


सिरहा, १० असार । प्रतिनिधीसभा सदस्य लिलानथ श्रेष्ठले दिगो विकासको लागि शिक्षामा भरपुर लगानी गर्नुपर्नेमा जोड दिएका छन् । गोलबजार नगरपालिकाको १३ अधिवेशनलाई सम्वोधन गर्दै उनले शिक्षामा सुधार नभएसम्म विकासले उचित गति लिन नसक्ने बताएका हुन् । पूर्व मन्त्रीसमेत रहेका श्रेष्ठले विकास भनेको माटो, ग्रोभट, सडक र भवन निर्माण मात्र नभएको बताए । उनले पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य र कृषिमा लगानी वृद्धि गर्नु पर्नेमा जोड दिए । उनले भने, ‘शैक्षिक रुपमा हाम्रो प्रदेश निकै कमजोर छ । शैक्षिक अवस्था सुधार कम्तीमा २० प्रतिशत बजेटल गलाउनुस् । स्वास्थ्य र कृषिमा पनि हामीले राम्रो लगानी गर्नु पर्ने अवस्था छ ।’
सोही क्रममा उनले जयगोविन्द साह पोलि टेक्निकल इन्सिच्युटको जग्गा तत्काल निक्र्यौल गर्न नगरपालिकालाई अनुरोध गरे । उनले भने, ‘गोलबजार नगरपालिकालाई शिक्षाको ‘हव’ बनाउने हो भने जयगोविन्द साह पोलि टेक्निकल इन्सिच्युट जस्तो संस्थाको विकास आवश्यक छ । यहाँ बर्षौंदेखि बजेट आउने र फर्किएर जाने अवस्था छ । तपाईंहरुले तत्काल जग्गाको निक्र्यौल गरेर यसको पूर्वाधारको काम गर्न आवश्यक छ ।’
प्रदेशसभा सदस्य मनोज कुमार सिंहले अधिवेशन सफलताको कामना गर्दै मधेश प्रदेशमा योजना विक्री हुने गरेको स्वीकार गरे । उनले भने, ‘मधेश प्रदेशमा योजनाहरु विक्री हुने गरेको छ । यो यहाँकै बुद्धिजीविहरु, दलालहरु किन्न जानेगरेकाले बढेको हो । यसमा सरकारमात्र हैन तपाई हामी पनि दोषी छौं ।’ उनले प्रदेश मन्त्रालयहरुमा योजना विक्री भएपनि आफू ‘खरिद विक्री’मा संलग्न नभएको सफाई दिए । सोही क्रममा स्थानीय दलका प्रतिनिधी, नागरिक समाजका अगुवाहरुले गोलबजार नगरपालिकाले विकासको काममा शुशासन कायम गर्न नसकेको प्रति चिन्ता व्यक्त गरे। उनीहरुले विकास पार्टी कार्यकर्ता, विचौलिया र आशेपासेहरुको हालिमुहाली भएको भन्दै समान विकासको नीनि अवलम्वन गर्नुपर्नेमा जोड दिए ।
गोलबजार नगरपालिकाको ८१ करोड बजेट प्रस्ताव
गोलबजार नगरपालिकाको १३ औं नगरअधिवेशनमा उपप्रमुख मानति साहले ८१ करोड ८९ लाख ८९ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ । चालुतर्फ १९ करोड ८४ लाख ८७ हजार, पूँजीगत तर्फ २८ करोड ४० लाख २ हजार, वित्तिय हस्तारन्तरणतर्फको ३३ करोड ४५ लाखसहित कुल ८१ करोड ८९ लाख ८९ हजार रुपैयाँको बजेट नगर अधिवेशनमा उपप्रमुख साहले प्रस्ताव हो । यस वर्षको बजेटले कृषि, शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिने बताइएको छ । बतावरणमैत्री विकास, प्रविधिमैत्री योजनाहरु, उत्पादनमुखि कृषि प्रणाली, लघु तथा भरेलु उद्योगको प्रवर्धन र स्थानीय सीपमा आधारित रोजगारी सिर्जना गर्ने गरी योजना निर्माण हुने बताइएको छ ।
चालु आर्थिक वर्ष २०८१÷०८२ को तुलनामा यास वर्ष करिव ५ करोडभन्दा मकको बजेट प्रस्ताव गरिएको छ। चलु आर्थिक वर्षमा ८६ करोड ४२ लाख ४२ हजार ५ रुपैयाँको बजेट पारीत गरिएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया

ताजा खबर

धेरै पढिएको