मालपोतका कार्यालय सहयोगीको घरबाट महत्वपूर्ण कागजात बरामद


सुरेन्द्र कुमार कामती
सिरहा, ३१ जेठ ।
मालपोत कार्यालय सिराहामा कार्यरत कार्यालय सहयोगी राजकुमार रायले भाडामा लिएको घरमा अवैध रूपमा राखिएको मालपोत कार्यालयको महत्वपूर्ण कागजातहरू प्रहरीले बरामद गरेको छ । सिराहा नगरपालिका– ७ मा रहेको एक घरमा कार्यालय सहयोगी रायले लुकाएर राखेको मालपोत कार्यालयका विभिन्न कागजात प्रहरी टोलीले बरामद गरेको हो । प्रहरी निरीक्षक आकाश उप्रेतीको नेतृत्वमा खटिएको टोलीले अनुसन्धानको क्रममा रायले अवैध रूपमा लुकाएर राखेको मालपोत कार्यालयको पुरानो स्रेस्तालगायतका कागजातहरू बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासवानले बताए । रायले मालपोतको स्रेस्ता आÇनो घरमा लुकाएर राखेको गुनासो यसअघि पटकपटक प्रहरीमा पुगे पनि प्रहरीले बरामद गर्न सकेको थिएन ।
अनि खुल्यो कागजातको रहस्य
कार्यालय सहयोगी राय एक युवतीसँगै सोही घरमा रहेको वेला बिहीबार दिउँसो पक्राउ परेका थिए । उनकी पत्नी सुमिता रायले विवाहेत्तर सम्बन्ध राखी आफूलाई मानसिक यातना दिएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीले रायसँगै एक युवतीलाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाएको डिएसपी पासवानले बताए । युवतीसँगै पक्राउ परेपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाउँदा पुरानो स्रेस्तालगायतका कागजातहरू बरामद भएको हो ।
सिरहाको बरियारपट्टी गाउँपालिका– ३ घर भएका रायका दुई छोरा र दुई छोरी छन् । मालपोत कार्यालय सिराहामा स्थायी रूपमा कार्यरत कार्यालय सहयोगी राय मालपोतको स्रेस्ताहरूको महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका थिए । आर्थिक लेनदेन भएपछि हराएको वा पुरानो स्रेस्ताहरू खोजेर दिने गरेका थिए । आफूसँग राखेका कागजात रकमको लेनदेन नमिल्दा वर्षौँसम्म सेवाग्राहीलाई रित्तै फर्काउने र झुलाउने गरेको लेखापढी कानुन व्यवसायीहरूले बताएका छन् ।
राय नेकपा एमालेनिकट नेपाल कर्मचारी संगठनको जिल्ला अध्यक्षसमेत हुन् । उनी नेकपा एमालेका मधेश प्रदेश इन्चार्ज एवं पूर्वमन्त्री लीलानाथ श्रेष्ठका निकट रहेको जानकारहरू बताउँछन् । यसअघि पनि पक्राउ परेका रायलाई पूर्वमन्त्री श्रेष्ठ र एमालेको जिल्ला तहका शीर्ष नेताहरूको दबाबमा छाडिएको प्रहरी स्रोतले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया

ताजा खबर

धेरै पढिएको