मधेशमा आँप तयार लहानमा बेच्न राखिएका आँप विषादीरहित


विनय आजाद
सिरहा, २६ जेठ । फलको राजाको रुपमा चिनिने फल आँपको प्रतीक्षाको घडी समाप्त हुँदैछ । अर्थात्, मधेशमा आँप तयार भइसकेको छ । आइतबार बिहान लहानस्थित बगैंचामा मजदुर लगाएर आँप टिपिरहेका भेटिए, स्थानीय नागेन्द्र प्रधान । प्रधानका अनुसार, उनले दुई दिनदेखि आँप टिपिरहेका हुन् । उनीजस्तै सबैतिरका कृषक तथा व्यापारी अब यसैगरी आँप टिप्न सुरु गरेका छन् । अहिले खासगरी मालदह, सिपीया, दशहरी, फजिली, जर्दालुलगायतका आँप खानयोग्य भएका छन् । तर, यी आँप अझ परिपक्क हुन थप एक साता लाग्छ । बम्बै, कृष्णभोग, चौसा, निलम, चौरिया र गुलाबलगायतका आँप सबैभन्दा छिटो पाक्ने आँप हुन् । कम मात्रामा उत्पादन हुने यी आँप केही समयअघि मात्रै बजारमा गएको छ । मालदह, सिपीया, दशहरी, फजिली, जर्दालुलगायत जातका आँप मध्यम जातको रुपमा पर्दछन् ।
कलकतिया र भदैयालगायतका ढिलो पाक्ने आँप हुन्, जुन असारपछि तयार भएर बजारमा जान्छ । हुन त अढाइ तीन महिना पहिल्यैदेखि बजारमा आँप छ्याप्छ्याप्ती छन् । तर, ती आँप प्राकृतिक ढंगले आफैं तयार भएका शुद्ध आँप भने होइनन् । ती आँप खासगरी व्यापारीहरुले बढी मूल्य पाउने लोभमा औषधि, विषादीलगायतका अखाद्य रसायनको प्रयोग गरेर तयार गरेको आँप भएको गोलबजारका कृषक रामबिलास यादव बताउँछन् । ‘आँपको सिजन खासमा अब बल्ल सुरु भएको छ,’ उनले कान्तिपुरसित भने, ‘तर, विषादी र औषधि हालिएका आँपले पहिल्यैदेखि बजार भरिएका छन्, त्यो खानुहुँदैन ।’
यसरी बगैंचाबाट टिपिसकेर केही मात्रामा आँप खेती गर्ने कृषकहरु स्थानीयस्तरमै उपभोक्ता तथा व्यापारीलाई बेच्छन् । तर, व्यवसायिक ढंगले खेती गर्ने तथा यहाँबाट आँप किन्ने व्यापारीहरु भने प्रायः देशका विभिन्न ठाउँमा पु¥याउँछन् । ‘जसले थोरै खेती गरेका छन्, उनीहरुको आँप यतै खपत भइहाल्छ, उपभोक्ता वा व्यापारीले यतै किनिहाल्छन्, तर व्यवसायिक ढंगले खेती गर्नेहरु बाहिर लैजान्छन्,’ प्रधानले कान्तिपुरसित भने, ‘म पनि व्यवसायिक ढंगले नै आँप खेती गर्दै आएको छु, हाम्रो उत्पादनको मात्रा धेरै हुन्छ, त्यसैले बाहिर लैजान्छौं ।’
काठमाडौंसहित पोखरा, हेटौंडा, नेपालगञ्ज, धरान, धनगढीलगायत देशका विभिन्न ठाउँमा यहाँका आँप जाने गरेको उनले सुनाए । तर, लहानसहित सिरहाका बजारहरुमा अहिले ५० रुपैयाँसम्म प्रतिकिलो बिक्री भइरहेको आँप काठमाडौंलगायतका ठाउँमा एक सयभन्दा बढीमा बिक्री भइरहेको देखेर किसान सन्तुष्ट छैनन् । सामान्य किसानसँग बाहिर लगेर बेच्ने सामाथ्र्य नभएको र सरकारले यस्तो वातावरण बनाइदिए हुन्थ्यो भन्ने किसानहरुलाई लागेको छ । यस्तो भएमा यहाँका हरेक किसान क्रमशः व्यावसायिक बन्दै जाने मिर्चैयाका विष्णुप्रसाद यादव बताउँछन् । ‘सामान्य किसानसँग बाहिर लगेर बेच्ने सामथ्र्य छैन, त्यसैले सस्तोमा बाध्य भएर यतै व्यापारीलाई बेच्छन्,’ उनले भने, ‘सरकारले यस विषयमा सोचिदिनुपर्छ ।’
‘अल्टरनेट बियरिङ’ले उत्पादन कम
सिराहा जिल्लाभरमा करिब सबा ९ हजार हेक्टर क्षेत्रफलमा आँप खेती हुन्छ । जसबाट गत वर्ष साढे आठ ८ हजार टन आँप उत्पादन भएको थियो । तर, यसपालि भने ४० प्रतिशतसम्म उत्पादन घट्ने कृषि ज्ञान केन्द्र, सिराहाको अनुमान छ । कृषि ज्ञान केन्द्र, सिरहाका प्रमुख नरेन्द्रकुमार महासेठका अनुसार, केही आँपका बोटहरु एक वर्ष बिराएर फल्ने गरेका छन् । ‘केही आँपका बोटले एक वर्ष फल दिने र एक वर्ष आराम लिने गर्छ, यसलाई अल्टरनेट बियरिङ भनिन्छ,’ उनले कान्तिपुरसित भने, ‘सिरहामा ४० प्रतिशतसम्म उत्पादन घट्छ, अरु जिल्लातिर पनि यस्तै छ ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया

ताजा खबर

धेरै पढिएको