सिरहा, २० जेठ । गोलबजार फुटबल क्लब, सिरहा तेस्रो सहिद हेमनारायण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको दोस्रो दिन सम्पन्न रोमाञ्चक खेलमा उसले सुनसरीको गोल्डेन स्टार युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । खेलको सुरुवातमै गोलबजारले आक्रामक रणनीति अपनाएको थियो। खेल सुरु भएको दोस्रो मिनेटमै निस्चल मोक्तानले डि–बक्स भित्रबाट गरेको गोलले टोलीलाई अग्रता दिलायो। पहिलो हाफमा एक गोलको अग्रता बनाएको गोलबजारले दोस्रो हाफमा पनि आक्रामक खेल जारी राख्यो । दोस्रो हाफको १८ औं मिनेटमा प्रताब राईले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए । खेलमा उत्कृष्ट प्रदर्शन गरेका राई म्यान अफ द म्याच घोषित भए । गोल्डेन स्टार युथ क्लबले भने दोस्रो हाफको ३३ औं मिनेटमा सुजन सरदारमार्फत् एकमात्र सान्त्वना गोल फर्कायो ।




