राम बाबु यादब
गोलबजार, १८ जेठ । मधेश प्रदेश अन्तर्गत सिरहाको गोलबजारमा अब ट्रमा सेन्टर निर्माण हुने निश्चित भएपछि गोलबजार बासी खुशी भएको छ । संघीय सरकार र मधेश प्रदेश सरकारको संयुक्त अनुदानमार्फत कुल २९ करोड ३६ लाख रुपैयाँको बजेट विनियोजन भएसँगै ट्रमा सेन्टरको सपना साकार हुने भएको हो । पुर्वकानुन मन्त्री लिलानाथ श्रेष्ठको विशेष पहल तथा मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहको चाहना र योजनाअनुसार गोलबजारमा ट्रमा सेन्टर स्थापना गर्न लागिएको हो । आर्थिक वर्ष २०८२÷०८३ को बजेटमा यस योजनालाई समावेश गरिएको छ ।
गोलबजारको भौगोलिक अवस्थिति र लगातार बढ्दो जनसंख्यालाई ध्यानमा राख्दै यहाँको स्थानीय समुदायले स्वास्थ्य पूर्वाधारको सुदृढीकरणको माग गर्दै आएका थिए । यो ट्रमा सेन्टर निर्माणसँगै पूर्व–पश्चिम राजमार्ग आसपासका दुर्घटनाग्रस्त तथा आकस्मिक स्वास्थ्य सेवाका लागि ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ । नगरबासीहरूमा यस निर्णयले अत्यन्तै खुसीको माहोल छाएको छ । उनीहरूका अनुसार स्वास्थ्य सेवामा सुधारका लागि यो एउटा महत्वपूर्ण उपलब्धि हो । गोलबजार नगरपालिका समेतले यस योजनालाई स्वागत गर्दै आवश्यक सहयोग गर्ने गोलबजार नगरपालिकाकका नगर प्रमुख श्याम कुमार श्रेष्ठले प्रतिबद्धता जनाएको छ ।




