अर्नमा गाउँपालिकाद्वारा नीति तथा कार्यक्रम सार्वजनिक


विनय आजाद
सिरहा, २ जेठ । सिरहाको अर्नमा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले बिहीबारदेखि सुरू गरेको ११औं अधिवेशनमा नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । गाउँपालिकाले चालू आर्थिक वर्षका अधिकांश कार्यक्रमलाई निरन्तरता दिँदै शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ । गाउँपालिका अध्यक्ष अशोक यादवले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष गाउँपालिकाका लागि विशेष हुने प्रतिवद्धता व्यक्त गरे ।
गाउँपालिकाको नीति तथा कार्यक्रम नागरिकको आकांक्षा पूरा गर्ने दिशातर्फ केन्द्रित रहेको बताउँदै यादवले नागरिकले अनुभूति गर्नेगरी कार्यान्वयन हुने बताए । सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधारका लागि विशेष अभियान सञ्चालन गरिने उनको भनाइ छ । यस्तै, पालिकाका सरकारी स्वास्थ्य संस्थाहरूलाई बैज्ञानिक ढंगले स्तरोन्नति र विकास गर्न विज्ञहरूसँग छलफल भइरहेको बताउँदै उनले अस्पताललाई नागरिकको भरोसालायक बनाउने बताए । यसैगरी, कृषिलाई किसानका लागि गर्वलायक पेशा बनाउन पालिकाले किसानको हातमा हात मिलाएर साथ उभिने उनले जनाए ।
लैंगिक हिंसा न्यूनीकरण र दाइजो प्रचलन न्यूनीकरण उन्मुख कार्यक्रमहरू सञ्चालन गरिने, महिलाहरूमा रहेका परम्परागत सीप प्रवद्र्धन गर्नुको साथै महिला उद्यमशीलता प्रवद्र्धन गर्ने कार्यक्रमहरू सञ्चालन गरिने पनि नीति तथा कार्यक्रममा समेटिएको छ । भूमिहीन, अव्यवस्थित बसोबासी र सुकुम्बासीलाई सुरक्षित बसोबासको लागि संघीय र प्रदेश सरकारसँग सहकार्य गरिनेलगायतका विषय पनि नीति तथा कार्यक्रममा उल्लेख छ । गाउँपालिका अध्यक्ष यादवले नीति तथा कार्यक्रममा आवश्यक सल्लाह सुझावका लागि पनि सबै पक्षसँग आग्रह गर्नभएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया

ताजा खबर

धेरै पढिएको