मणिलाल विश्वकर्मा
लहान, २ जेठ । सिराहाको दक्षिणी सीमावर्ती भगवानपुर गाउँपालिका– ३, अभयनगर गाउँमा घरको छानामा जस्ता हाल्ने क्रममा छिमेकीको जमिन परेको विषयमा विवाद हुँदा भएको झडपमा दुवै पक्षका गरी आठ जना घाइते भएका छन् । स्थानीय रामप्रसाद यादवले घरमा जस्ता छाउने क्रममा छिमेकी जगरनाथ यादवको जमिनमा बलेँसीको पानी खस्ने भन्दै बिहीबार साँझ करिब सवा ६ बजेतिर सुरु भएको विवाद झडपमा परिणत हुँदा दुवै पक्षका तीन महिलासहित आठ जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार घाइते हुनेमा करिब ९६ वर्षीय रामप्रसाद यादव, उनकी श्रीमती करिब ८५ वर्षीया मलभोगीदेवी यादव, छोराहरू करिब ४० वर्षीय देवनारायण यादव, १८ वर्षीय सुरजकुमार यादव र स्थानीय देवकुमार यादवकी श्रीमती करिब ३७ वर्षीया ललितादेवी यादव घाइते भएका हुन् ।
झडपमा उनका छिमेकी करिब ५५ वर्षीय जगरनाथ, उनकी श्रीमती करिब ४३ वर्षीया प्रमेश्वरीदेवी यादव र छोरा करिब १८ वर्षीय पंकजकुमार यादव घाइते भएको सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए । उनका अनुसार जस्ताको छाना हाल्ने क्रममा भएको झडपमा घाइते भएका रामप्रसाद, उनकी श्रीमती र दुई भाइ छोराहरूलाई सामान्य चोटपटक लागेकाले अवस्थामा सामान्य रहेको र ललितादेवीको हात, खुट्टा र टाउकोमा मध्यम चोट लागेकाले राति नै लहानस्थित एडभान्स अस्पताल ल्याएर उपचार भइरहेको छ । झडपमा जगरनाथ र उनकी श्रीमतीको अवस्था सामान्य रहेको जानकारी दिँदै उनले उनीहरूका छोरा पंकजको अनुहार, हात र टाउकोमा चोट लागेकाले लहानस्थित सिद्धलक्ष्मी अस्पतालमा उपचार भइरहेको बताए । झडपको क्रममा स्थानीय बस्ने बेचन यादवको घरमा पार्किङ गरी राखिएको स.१च १४११ नम्बरको स्कार्पियो गाडीमा समेत सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी ठाडीबाट वरिष्ठ प्रहरी नायब निरीक्षक सञ्जीव साहको कमान्डमा खटिएको टोलीले झडपमा संलग्न हुवै पक्षलाई सम्झाइबुझाइ झडप रोकेर उपचारका लागि अस्पताल पठाएपछि थप बुझ्ने काम भइरहेको छ । जस्ता छाउने क्रममा बलेँसीको पानी आÇनो जमिनमा खस्ने भन्दै विवाद भएपछि दुवै पक्ष लाठी, ढुंगामुढासहित झडपमा उत्रिएको स्थानीयले बताए ।
जस्ता छाउँदा छिमेकीको जमिन परेको भन्दै झडप, आठजना घाइते
