लहान, ११ चैत्र । लहान नगरपालिकाले कृषि उत्पादनको व्यवस्थित बजारीकरणलाई ध्यानमा राखेर नयाँबजारस्थित खुट्टीखोला किनारमा आधुनिक तरकारी बजार बनाउने भएको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले २ करोड २९ लाख ७४ हजार ५२० रुपैयाँ लागतमा बन्ने पक्की संरचनाको आज शिलान्यास गरे । जनसंख्या र व्यापारको हिसाबले मधेस प्रदेशमा लहान तेस्रो ठूलो बजार मानिन्छ । यहाँका किसानको उत्पादनलाई व्यवस्थित रूपमा बजारसम्म पु¥याउन आधुनिक संरचना बनाउन लागिएको नगरप्रमुख चौधरीले बताए । ‘वीरगञ्ज र जनकपुरपछि लहान मधेस प्रदेशको ठूलो बजार हो । पहिलेदेखि नै यहाँ अव्यवस्थित हाट बजार चल्दै आएको थियो । अब यसलाई व्यवस्थित बनाउँदैछौँ,’ उनले भने ।
बढ्दो जनघनत्वलाई हेरेर बनाइने सुविधासम्पन्न संरचनाले किसान र बजारवासीलाई फाइदा पुग्ने उनको बुझाइ छ । चौधरीका अनुसार तीनवटा ‘ब्लक’ मा ८४ सटरसहितको दुईतले पक्की भवन बन्नेछ। किसानले आÇनो उत्पादन सजिलै बेच्न सकून् भनेर स्टलको व्यवस्था पनि गरिनेछ । यो निर्माण विसं २०८३ असार २० गतेसम्म सक्ने गरी ठेक्का सम्झौता भएको छ । लामो समयदेखि व्यवस्थित हाट बजारको प्रयास चलिरहे पनि अब काम सुरु भएकाले तरकारी व्यवसायी उत्साहित छन् । हाटबजार समितिका अध्यक्ष राजकुमार साहले यो कुरा बताए । ‘करिब पाँच बिघा क्षेत्रमा यहाँ हटिया चल्दै आएको छ । हप्ताको दुई दिन (सोमबार र शुक्रबार) लाग्ने हटियामा हजारौँ मानिस आउँछन् । यस्तो व्यस्त बजारलाई व्यवस्थित संरचना बनाइदिनुले तरकारी व्यवसायीलाई उत्साह थपेको छ,’ साहले भने ।
बढ्दो जनसंख्याको चापले व्यवस्थित बजारको अभाव थियो । पहिले राजमार्ग किनारमै बाटो छेकेर तरकारी बिक्री हुन्थ्यो । अब आधुनिक बजार बनेपछि दैनिक करोडौँको कारोबार हुने व्यवसायीको अपेक्षा छ ।
लहानमा दुई करोड २९ लाखको आधुनिक तरकारी बजार बन्ने
