शम्भु यादव
सिरहा, १० चैत्र । कक्षा १० मा अध्ययनरत रामरिका कुशवाहालाई महिनावारी भएको बेला सधैं पढाइ छुट्ने तनाव हुन्थ्यो । उनी पढ्ने विद्यालयमा न सुविधासम्पन्न शौचालय थियो, न त प्याड फेर्ने र बिसर्जन गर्ने ठाउँ नै । स्कुलसँग टाँसिएको उखुबारी र खेतमा शौच गर्न र प्याड फेर्न जानुपथ्र्यो । कहिलेकाहीँ जग्गावालाले थाहा पाउँदा हप्कीदप्की गर्थे । रामरीका मात्रै होइन, कक्षा ९ मा पढ्ने परिना चौहान, कक्षा ८ मा पढ्ने एलिसा न्यौपानेसहित लहान नगरपालिका–२४ लेखनाथ माविका छात्राले पनि यस्तै समस्या भोग्थे । महिनावारी भएको बेला पढाइ नै छाडेर घर जानुपथ्र्यो। शौच गर्न पनि घरै पुग्नुपर्ने बाध्यता थियो । अब त्यो हटेको छ ।
‘पीडा भोग्नेलाई बढी महसुस हुन्छ । हामीहरूलाई विद्यालय बाहिर जानुपर्दा धेरै अप्ठ्यारो लाग्थ्यो । खेतवालाको कहिलेकाहीँ गाली सुन्नुपथ्र्यो,’ कुशवाहाले भनिन्, ‘अहिले विद्यालयमै व्यवस्था हुँदा ठूलो राहत भएको छ । प्याड पनि विद्यालयमै छ। फेर्ने ठाउँ पनि छ । विसर्जन गर्ने ठाउँ छ । बिरामी पर्दा आराम गर्ने कोठा पनि व्यवस्थापन भएको छ ।’ विद्यालयमा छात्राका लागि १३ वटा र छात्रका लागि अपांगमैत्रीसहित १५ वटा शौचालय बनाइएका छन् । लहान नगरपालिका, नेपाल खानेपानी संस्थान, एलिएन वाटरको आर्थिक सहयोगमा वाटर एड नेपालको साझेदारीमा दलित जनकल्याण युवा क्लबमार्फत द विकन परियोजनाले शौचालय बनाउन सहयोग गरेका छन् । ‘विद्यालयमा शौेचालय नहुँदा छात्रालाई मात्रै होइन हामीहरूलाई पनि समस्या हुन्थ्यो’, कक्षा १० मा अध्ययनरत सञ्जित महतोले भने, ‘शौेच गर्न बाहिर जानुपर्ने बाध्यता थियो । पानीका लागि विद्यालयमा एउटा इनार थियो । भाडोमा पानी बोकेर जानुपथ्र्यो। सुक्खा याममा इनार सुक्दा शौचको बेला पढाइ छोडेर घर नै जानुपथ्र्यो ।’ विद्यालयमै शौचालय र खानेपानीको भरपुर व्यवस्था भएपछि पढाइ छुट्ने बाध्यता हटेको उनले बताए ।
उक्त विद्यालयमा ४ सय छात्र र ३ सय ३९ छात्रा गरी ७ सय ३९ सय अध्ययन गरिरहेका छन् । शौचालय र खानेपानी व्यवस्था भएपछि विद्यालयको मुहार नै फेरिएको विद्यालयका सूचना अधिकारी तथा शिक्षक जयराम साफीले सुनाए । विद्यार्थी पढाइमा नियमित हुन थालेपछि शैक्षिक गुणस्तरमा वृद्धि भएको उनको भनाइ छ । ‘पहिले एउटा स्टाफ शौचालय थियो । त्यसमा पानी हुँदैनथियो । इनारमा बोकेर गएर शौच गर्नपथ्र्यो । शिक्षक र विद्यार्थी लाइन लागेर उभिनुपर्ने अवस्था थियो’, उनले भने, ‘अहिले समस्या भोग्नु परेको छैन । सुविधा भएपछि दुःखको दिन हटेको छ ।’ लहान नगरपालिकाभरिमा ५९ वटा सामुदायिक विद्यालयहरू छन् । जसमध्ये कक्षा ५ देखिमाथि पढाइ हुने २४ वटा विद्यालयमा शौचालयको निर्माण, मर्मतसम्भार यस परियोजनाबाट भएको छ । पाँचवटा विद्यालयमा शौचालय निर्माणाधीन अवस्थामा रहेको दलित जनकल्याण युवा क्लबका कार्यकारी निर्देशक विनोद विसुन्केले जानकारी गराए ।
विद्यालयसँगै समुदायमा पनि खानेपानी पहुँच
विद्यालयमा मात्रै होइन, यहाँका दलित बस्तीमा पनि खानेपानीको समस्या थियो । वडा, नगरपालिका र परियोजनाले सहयोग गरेर दलितसँगै अन्य समुदाय गरी २ सय १२ जनाको घरमा खानेपानी धारा जडान गराएका छन् । धारा जडानमा लाग्ने खर्चमा नगरपालिकाले ३ हजार ७ सय २०, क्लबले ३ हजार २ सय २० र उपभोक्ताले ३ हजार १ सय ७० तिर्ने गरेको छ । नगरभरिमा ८० वटा दलित बस्ती छन्। परियोजनाबाट हालसम्म १ हजार २ सय ६१ दलित समुदायले धारा जडान गराएका छन् । यस नगरपालिकाका २६ प्रतिशत समुदायको घरमा खानेपानीको पहुँच पुगेको छ । हालसम्म २० हजार ५ सय ७७ घरधुरीमध्ये ५४ सय जनाको घरमा धारा जडान भएको हो । ६८ वर्षको उमेर पुग्दा बल्ल आÇनै घरमा खानेपानीको सुविधा उपभोग गर्न पाएको रौदिया सदायले सुनाए ।
‘पहिले यहाँ सार्वजनिक र कुनै–कुनै धनी मान्छेहरूको इनार मात्रै थियो । पानी लिन जाँदा विभेदसम्म भोग्नुपर्ने बाध्यता थियो,’ सदायले भने, ‘अब त्यो हटेको छ । घरमै खानेपानीको सुविधा उपभोग गर्न पाएका छौं ।’ यहाँ खानेपानी आयोजना बनेर सञ्चालन हुन सकेको थिएन । खानेपानी संस्थानलाई हस्तान्तरण गरेपछि परियोजनाको सहयोगमा सञ्चालनमा आएका छन् ।
शौचालय जान अब पढाइ छोड्नु पर्दैन
