रिंकुको सामूहिक बलात्कार र शंकास्पद मृत्यु प्रकरण : पञ्चायती बसेका वडासदस्यसहित थप चार पक्राउ


मणिलाल विश्वकर्मा

     लहान, २३ फाल्गुण । सिराहाको नवराजपुर गाउँपालिका– १ की १७ वर्षीया रिंकुकुमारी सदायको सामूहिक बलात्कार र झुन्डिएको अवस्थामा शंकास्पद मृत्युसम्बन्धी घटना भएको २३औँ दिन प्रहरीले पञ्चायतीमा बसेका वडासदस्यसहित चारजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

     जिल्ला प्रहरी कार्यालय सिराहाले शुक्रबार अपराह्न पत्रकार सम्मेलनमार्फत पञ्चायतमा बसेका र पूरक जाहेरीमा नाम किटान गरिएका नवराजपुर– १ का वडासदस्य नथुनी साह, रामकृपाल मण्डल, विन्देश्वर साह र जाहेरीमा नाम नरहेका राजेन्द्र मण्डललाई सार्वजनिक गरेको हो। पक्राउ परेका चारैजनालाई सिराहा जिल्ला अदालतबाट शुक्रबार थप अनुसन्धानका लागि पहिलोपटक पाँच दिनको म्याद लिएको प्रहरीले जनाएको छ।

       पूरक जाहेरीको आधारमा घटनाको ११औँ दिन प्रहरीले ११ फागुनमा सोधपुछ तथा अनुसन्धानका लागि नियन्त्रणमा लिइएका स्थानीय ८४ वर्षीय चन्देश्वर मण्डल, ४५ वर्षीय रामविनोद मण्डल र कमलेशकुमार दासलाई पञ्चायतीद्वारा लेनदेन गरी मिलापत्र गराउन संलग्न रहेको कसुरअन्तर्गत शुक्रबार नै तेस्रोपटक पाँच दिनको म्याद लिइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो। चन्देश्वर, रामविनोद र कमलेशलाई मुलुकी अपराधसंहिता, २०७४ को दफा २२७ क (करणीसम्बन्धी कसुरमा मिलापत्र गर्न वा गराउन नहुने) बमोजिमको कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

      त्यसअघि सिराहा प्रहरीले २१ फागुनको बिहान मुख्य आरोपी सांकेतिक नाम ०८१ लहान (ण)लाई पक्राउ गरी अनुसन्धानका लागि थप दुई दिनको म्याद लिएको थियो। सिराहा नगरपालिका– १७ स्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएका मुख्य आरोपी नाबालक रहेकाले उनको नाम, थर, ठेगाना गोप्य राखिएको जानकारी दिँदै सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले उनलाई जिल्ला प्रहरीको बाल निगरानी कक्षमा राखिएको बताए। उनका अनुसार पूरक जाहेरीमा किटान गरिएका फरार मुख्य दुई आरोपी र पञ्चायतीमा बसेका दुईजनासहित चारजनाको खोजी भइरहेको छ।

     घटनाको जानकारी पाएपछि घटनास्थल पुगेको प्रहरी टोलीसमक्ष मृतक परिवार, आफन्त र स्थानीय कसैले पनि झुन्डिएर मृत्यु भएको भन्नेबाहेक कुनै पनि किसिमको जानकारी नगराएको प्रहरीको दाबी छ। त्यसको भोलिपल्ट १ फागुनमा मृतकका ठुलोबा रामसेवक सदायले एकजनाविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएपछि सिराहा जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर अनुसन्धान गरिरहेका वेला ४ फागुनमा विभिन्न सञ्चारमाध्यममा सामूहिक बलात्कारपछि पञ्चायती गरी दबाउन खोजिएको भन्ने समाचार सम्प्रेषण भएलगत्तै विस्तृत छानबिन तथा अनुसन्धानका लागि तालुक मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शान्तिराज कोइराला र जिल्ला प्रहरीबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्रकुमार पासवानको संयोजकत्वमा छानबिन थालिएको प्रहरीले जनाएको छ।

     गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी रिंकुलाई स्थानीय तीन युवकले अपहरण गरी सामूहिक बलात्कार गरेको घटना गाउँमै दबाउन २९ र ३० माघमा दुईपटक जनप्रतिनिधिकै रोहवरमा पञ्चायती गरी पीडित परिवारलाई प्रहरीमा जान नदिएको सार्वजनिक भएको थियो। पहिलो दिनको पञ्चायतीले मुख्य आरोपीलाई एक लाख ५१ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय सुनाएपछि आरोपी पक्षको आग्रहबमोजिम ११ हजार रुपैयाँ छुट गरी एक लाख ४० हजार रुपैयाँ तिर्नुपर्नेबारेमा दोस्रो दिनको पञ्चायतीमा पञ्चहरूबिच नै कुटाकुट भएको थियो। त्यही साँझ किशोरी आफ्नो घरको कोठामा शंकास्पद अवस्थामा झुन्डिएर मृत भेटिएकी थिइन्।

    १ फागुनमा एकजनाविरुद्ध प्रहरीले आत्महत्या दुरुत्साहनको किटानी जाहेरी दर्ता गरेको थियो। त्यसको एक सातापछि ८ फागुनमा इलाका प्रहरी कार्यालय लहानमा मृतककी आमाले सामूहिक बलात्कारमा संलग्न तीनजना र पञ्चायती बसेका पाँचजना पञ्च गरी आठजनाविरुद्ध कर्तव्य ज्यान, बलात्कार र अपहरण तथा शरीर बन्धक, पञ्चायतीद्वारा लेनदेन गरी मिलापत्र गर्न खोजेको कसुरमा पूरक जाहेरी दिएकी थिइन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया

ताजा खबर

धेरै पढिएको