मणिलाल विश्वकर्मा
सप्तरी,२९ माघ । सप्तरीको खडक नगरपालिका ७ कल्याणपुरको दलित बस्तीकी बासिन्दा हुन्, आशाकुमारी मण्डल । गाउँब्लकको जग्गामा परिवारका सात जनाको ओत लाग्ने घर रहेकी उनले पछिल्लो समय घडेरी बाहेकको जग्गामा गरेको करेसाबारी खेतीले तरकारी किन्नु पर्दैन । ‘मौसम अनुसार तरकारी, सागसब्जी फलाएँ’ उनले सुनाइन् ‘घरको भान्सामा प्रयोग गरेर बाँकी बेच्दा आयआर्जन पनि भइरहेको छ ।’
करिब एक महिनाअघि नगरपालिकाको कृषि शाखामा विधिवत् रुपमा दर्ता गरिएको ‘जुनेली हरवा चरवा कृषक समूह’ मा आबद्ध रहेकी उनले आफ्नो परिवारका लागि चाहिने र बेच्न समेत सक्ने गरी तरकारी सागसब्जी उब्जाउन त्यतिकै सक्ने भएकी होइनन् । अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा जबर्जस्ती श्रम पीडितहरुलाई उनीहरुको जीविकोपार्जनमा सुदृढीकरण गर्ने सहयोग परियोजना अन्तर्गत धनुषा जनकपुरस्थित दलित समाज उत्थान समितिको प्राविधिक सहयोग र सहजीकरणमा बेमौसमी तरकारी खेती सम्बन्धी २१ दिने तालिम लिएपछि उनको अवस्था फेरिएको हो ।
‘करेसाबारीमा काउली, रायो, मूला फलाएर घरको भान्सामा प्रयोग गरियो र बाँकी रहेको बेचियो पनि’ उनले सुनाइन् ‘अहिले पनि प्याज, लसुन, सरसो, धनिया छ ।’ कति आम्दानी भयो भन्ने प्रश्नमा उनले भनिन् ‘घरमा पनि प्रयोग गरिएकाले ठ्याक्कै भन्न त सक्दिन तर घरको नुन तेल, मरमसला तरकारी बेचेको रकमले पुर्याएँ ।’ श्रीमान कमलदेव मण्डल गाउँघरमा मजदूरी गर्ने जानकारी दिंदै उनले भनिन् ‘श्रीमानको मजदूरीले घरमा खाद्यान्नको जोहो गर्न सजिलो भएको छ भने तरकारी खेती गर्दा बजारबाट त्यसकै लागि अतिरिक्त खर्चिनु पर्दैन ।’ ससुरा डकर्मी काम गर्ने भएकाले त्यबाट हुने आम्दानीले भोगबन्धकमा १२ कठ्ठा जग्गा लिएर खेतीपाती गरिरहेको सुनाइन्, उनले ।
उनकै छिमेकी हुन्, कल्पना कुमारी मण्डल । गाउँको २५ सदस्यीय कृषक समूहकी अध्यक्ष समेत रहेकी उनको पनि गाउँब्लकको घडरी बाहेक छ कठ्ठा बारी पनि छ । त्यही बारीमा उनले पनि आलु, काउली, प्याज, तोरी, रायो, लाफ साग, पालक, धनिया, भाण्टा, टमाटर, खुर्सानी लगाएकी छन् । ‘त्यसमध्ये अहिले पनि बारीमा प्याज, लसुन, लाफ साग, धनिया छ’ उनले भनिन् ‘परिवारमा छ जनालाई तरकारी किन्नु पर्दैन ।’ परिवारका उपभोग बाहेक स्थानीय हाटबजारमा बेच्दा थप आम्दानी पनि भइरहेको उनले सुनाइन् ।
गाउँब्लकको करिब ६५ घरको दलित बस्तीमा समितिले कोरोना महामारीको समयदेखि नै समूहलाई प्राविधिक सहयोगसहित सहजीकरण गर्दै आएको जनाएको छ । समूह गठनपछि स्थानीय हरवा चरवा परिवारको मागको आधारमा तालिमको विषय यकिन र सहभागी छनौटपछि तालिम संचालन गरिएको समितिका सप्तरी सिरहा जिल्लाका प्रतिनिधि देवलाल विश्वकर्माले जानकारी दिए । उनका अनुसार तालिमसहित समूहलाई तरकारी खेतीका लागि स्प्रेपम्प, नाप्ने फित्ता, बीउविजन, खुर्पी जस्ता सामग्री सहयोग गरिएको छ ।
समूहकी कोषाध्यक्ष सुशीलाकुमारी राम भन्छिन् ‘गाउँघरमा मजदूरी गरेर जीविका चलाउँदै आएका हरवा चरवा परिवारको गाउँब्लकको घडेरीबाहेक थोरबहुत जग्गामा बेमौसमी तरकारी खेती गर्ने तालिमले फाइदा नै पुगेको छ ।’ तालिमपछि थोरै जग्गामा पनि व्यवस्थित ढंगले तरकारी खेती गर्दा कम्तिमा आफ्नो परिवारका लागि चाहिने तरकारी किन्नु नपर्ने उनको अनुभव छ । ‘पालिकामा विधिवत् दर्ता भएकाले समूहमार्फत् पनि कृषि शाखासहित अन्य निकायसँग समन्वय सहकार्य गरेर केही गर्न सक्ने भएका छौं’ उनले भनिन् ।
तरकारीमा आत्मनिर्भर बन्दै दलित महिलाहरु
