
लहान, २ पुस। बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न बहु सरोकारवालाहरुको जिम्मेबारी भएकाले त्यस अनुरुप भूमिका खेल्नु पर्नेमा जोड दिइएको छ। जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाको आयोजनामा मंगलबार लहानमा आयोजित दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापन सम्बन्धी सरोकारवाला निकायसँग अन्तत्र्रिmयामा सहभागी जनप्रतिनिधि, यातायात व्यवसायी, सुरक्षा निकायका प्रमुख लगायतले सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीबाट मात्र सम्भव नहुने चर्चा गर्दै सबै पक्षको सामूहिक प्रतिबद्धतासहित जिम्मेबारी बहन गर्नुपर्ने औंल्याए। ‘शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाह सम्बन्धमा सार्वजनिक सुनुवाई’ समेत गरिएको कार्यक्रममा अतिथिको रुपमा लहान नगर प्रमुख महेशप्रसाद चौधरीले दुर्घटना न्यूनीकरणमा जनचेतना बिस्तार गरिनु पर्नेमा जोड दिए। हरेक वर्ग समुदाय मदिरा सेवन र लागूऔषध दुव्र्यसनले आतंकित भएको चर्चा गर्दै उनले भने ‘विद्यालय तहसम्म सचेतनामूलक कार्यक्रमहरु गरौं, ट्राफिक चेकिङ् थप व्यवस्थित गरौं, त्यसका लागि पालिकाले सक्दो सघाउने छ।’ पालिका क्षेत्रमा सिटी रिक्साको व्यवस्थापन र संचालनका लागि स्थानीय ऐन बनाएर पारित गरी लागू गर्ने योजना रहेको जानकारी दिंदै उनले त्यसपछि नगरमा दर्ता र रुट इजाजत नलिइएका सिटी रिक्सालाई चल्न नदिइने बताए।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले स्थानीय तह, व्यवसायी, यान्त्रिक तथा सडक कार्याल र ट्राफिक प्रहरीको राम्रो समन्वय भए दुर्घटना न्यूनीकरण गर्न सकिने बताए। ‘पछिल्लो समयमा भएका दुर्घटनाहरुमा लागूऔषध सेवन गर्नेहरु भेटिएकाले त्यतातिर सरोकारवालाहरुले बढी ध्यान दिन आवश्यक छ’ उनले भने ‘स्थानीय सरकारले पनि आफ्नो क्षेत्रमा दुर्घटना न्यूनीकरणका लागि पहल गर्न जरुरी छ।’ बाराको पथलैयास्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय प्रमुख प्रहरी उपरीक्षक भिमकिरण बोगटीले ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि सीमित स्रोत साधन र जनशक्तिका बावजुद अधिकतम् प्रयास गरिरहेको चर्चा गर्दै अब त्यसमा स्थानीय सरकार, प्रदेश सरकारले पनि सघाउन आग्रह गरे। त्यही कारणले पछिल्लो आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ को साउनदेखि मंसिरसम्मको पहिलो पाँच महिनामा भएका सवारी दुर्घटनाको संख्या बढेको भएपनि मृत्यु हुनेको संख्या घटेको उनले बताए।
नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज यादव बनैताले उमेर नपुगी रिटी रिक्सा चलाउनेहरुको संख्या बढी रहेकाले नियन्त्रण गरिनु पर्नेमा जोड दिंदै सडक पेटी खाली गरिए मात्र पनि बजार व्यवस्थापन हुने र त्यसले बजार क्षेत्रमा हुने दुर्घटना न्यूनीकरण गर्न सकिने बताए। इलाका प्रशासन कार्यालय लहानका प्रमुख गोकर्णराज सुयलले सवारी साधनको नियमित जाँच, सडकको अवस्था, ट्राफिक व्यवस्थापन र कानुन कार्यान्वयन प्रभावकरी गर्न सकिए दुर्घटना न्यूनीकरण गर्न सकिने बताए। छिटोछरितो र नागरिक मैत्री सार्वजनिक सेवा प्रवाहका लागि प्रयासरत रहेको चर्चा गर्दै उनले लागूऔषध दुव्र्यसन र त्यसको कारणले हुने सवारी दुर्घटनासहित अन्य अपराधका घटना रोक्न सबै पक्ष जिम्मेबार र जवाफदेही बन्न आग्रह गरे।
कार्यक्रममा लहान २०, २४ का वडाध्यक्षद्वय गणेशकुमार चौधरी, रासलाल राय, लहान सिटी जेसिजका अध्यक्ष उमेश यादव, सगरमाथा यातायात व्यवसायी प्रा.लि.का अच्युतम काफ्ले लगायतले सवारी दुर्घटना घटाउन सबै पक्षको भूमिका र जिम्मेबारी रहेको औंल्याउँदै सवारी कानुन कार्यान्वयनमा साना ठूला सवारी हेर्न नहुने धारणा व्यक्त गरे। जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाका प्रमुख ट्राफिक प्रहरी निरीक्षक पोषणराज थपलियाको उद्घोषणमा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद सोतीले स्वागत गर्दै दुर्घटनाले निम्त्याउने समस्याहरुको विषयमा गम्भिर बन्न आग्रह गरे । कार्यक्रमको अध्यक्ष समेत रहेका जिल्ला प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले दुर्घटना न्यूनीकरणमा ध्यान नदिने हो भने आगामी दिन भयावह हुन सक्नेतर्फ ध्यान दिन आग्रह गरे।
त्यसका लागि सडक र सवारी साधनको इञ्जिनियरिङ्, जनचेतना, कानुन कार्यान्वयनसँगै बाह्य वातावरण समेत सुधार्नु पर्नेमा जोड दिए। ‘मादक पदार्थ र लागूऔषध सेवन गरेर सवारी साधन चलाएको व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिए एक पटका लागि छोडिदिन विभिन्न ठाउँबाट दबाब दिन बन्द गर्ने वातावरण बनाऔं’ उनले भने ‘एक पटकका लािग भन्दै उन्मुक्ति दिइए त्यस्ता व्यक्ति आफैं पनि दुर्घटनामा पर्ने र अन्यलाई पनि दुर्घटनामा पार्ने जोखिम रहन्छ।’