
लहान, २ पुस
अनौपचारिक श्रम गरिरहेका श्रमिकहरुको हक हितका लागि स्थानीय ससकारले श्रम निर्देशिका बनाएर लागू गर्न श्रमिक अगुवा तथा सरोकारवालाहरुले माग गरेका छन् ।
लहानस्थित दलित जनकल्याण युवा क्लवको आयोजनामा मंगलबार लहानमा आयोजित ‘श्रम निर्देशिका सम्बन्धी छलफल तथा अन्तक्र्रिया कार्यक्रम’ मा श्रमिक अगुवा तथा सरोकारवालाहरुले श्रमिको लगत संकलनसहित अभिलेख दर्ता, उचित ज्याला, कार्यस्थलमा सुरक्षा, बीमा लगायतका सुविधाका लागि श्रमनिर्देपिशका लागू गरिनु पर्ने माग गरे ।
छलफल कार्यक्रममा प्रमुख अतिथिको रुपमा लहान नगर प्रमुख महेशप्रसाद चौधरीले मजदूरी गर्नेहरुका लागि निर्देशिका जरुरी रहेको औंल्याउँदै त्यसका लागि नगरपालिकाले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए ।
नेपाल ट्रेड युनियन कांग्रेसका नेता अरुण के.सी.ले श्रम निर्देशका श्रमिकका लागि बाँच्ने आधार रहेको चर्चा गर्दै नगरपालिकाले पारित गरी लागू गर्नेपर्ने खाँचो औंल्याए । ‘नगर कार्यपालिकाबाट पारित भएको श्रम परिचालन निर्देशिका नगर सभाबाट पारित गरी स्थानीय राजपत्रमा प्रकाशित गरी लागू गर्नुपर्छ’ उनले भने ।
नेपाल ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष संजिव उपाध्यायले नगरपालिकाले तयार गरेको श्रम परिचालन कायविधि कार्यान्वयन गराउन जनप्रतिनिधिहरुलाई घच्घच्याउनु पर्ने खाँचो औंल्याए । ‘श्रमिकको ज्याला दुई पक्षको आपसी सहमतिको आधारमा तय हुन्छ’ उनले भने ‘कार्यविधि लागू भएपछि पालिकाले तोके अनुसार रोजगारदाताले ज्याला दिनुपर्छ’ उनले भने ।
लहान ७ का वडाध्यक्ष रामअवतार शर्माले नगरपालिकाले मुसहर समुदायमा कसैको मृत्यु भएमा किरिया खर्च वापत् पाँच हजार रुपैयाँ दिइने गरिएको जानकारी दिंदै बिजुलीको बिल पनि दलितलाई नगरले नै तिरिदिने व्यवस्था गरिएको बताए ।
लहान २४ का वडाध्यक्ष रासलाल रायले महिला मात्र होइन, पुरुष श्रमिकको पनि हकहित सुरक्षाको कुरा उठाइनु पर्ने धारणा व्यक्त गरे । श्रमिकहरुको ज्यालाको विषयमा मात्र कुरा गरिने तर कार्यघण्टाको हिसाव गर्दा आठ घण्टाभन्दा बढी नहुने उनको दावी थियो । श्रमिकको ज्यालासँगै मुख्य समस्या भनिएको नागरिकताको सवाल बाहिर चर्चा गरिए जस्तो गम्भिर नरहेको दावी गर्दै उनले भने ‘मेरो वडाक्षेत्रमा नागरिकता नहुनेको संख्या न्यून छ ।’
‘श्रमिकलाई ज्याला कति दिइनु पर्ने हो भन्ने विषयमा काममा खटिनु अघि श्रमिकसँग गरेको कुराकानीको आधारमा तय हुन्छ’ उनले भने ‘जिल्ला ज्याला दररेट निर्धारण गर्दा अन्य श्रमिकको ज्याला तोकिने भएपनि कृषि श्रमिकको कुरा नपर्ने भएकाले त्यसका लागि अब चाहिं पहल गर्नुपर्छ’ उनले भने ।
श्रमिक महिला संजाल मधेश प्रदेशकी संयोजक सोनिया सदायले दैनिक १० घण्टा बढी काम गरेपनि त्यस अनुरुपको ज्याला नपाइने भएकाले पालिकाले श्रम निर्देशिका लागू गर्ने माग गरिन् । एक्सन एड र द फ्रिडम फण्डको सहयोगमा स्थानीय अधिकार कार्यक्रम अन्तर्गत संचालित कार्यक्रममा उद्देश्यको विषयमा कार्यक्रम संयोजक विनोद यादवले स्वागतसहित उद्देश्य बारे प्रष्ट्याएका थिए भने पत्रकार मणिलाल विश्वकर्माले ‘अनौपचारिक क्षेत्रका श्रमिक महिलाको सवाल, अवस्था र श्रम निर्देशिका सन्दर्भमा सरोकारवालाको भूमिका’ विषयमा अवधारणा पत्र प्रस्तुत गरेका थिए ।