
लहान, २ पुस । सिरहाको धनगढीमाई नगरपालिकाका जनप्रतिनिधिहरुले अनौपचारिक श्रम गरिरहेका श्रमिकहरुको हक हितका लागि श्रम निर्देशिका पारित गरी लागू गर्न आफूहरु प्रतिबद्ध रहेको जनाएका छन् ।
दलित जनकल्याण युवा क्लव लहानको आयोजनामा शुक्रबार धनगढीमाईको प्रमुख प्रशाकीय भवनको सभाकक्षमा आयोजित ‘श्रम निर्देशिका सम्बन्धी छलफल तथा अन्तक्र्रिया कार्यक्रम’ मा जनप्रतिनिधिहरुले नगर क्षेत्रका श्रमिकको लगत संकलनसहित अभिलेख दर्ता, उचित ज्याला, कार्यस्थलमा सुरक्षा, बीमा लगायतका सुविधाका लागि श्रम निर्देशिका लागू गर्न प्रतिबद्ध रहेको बताएका हुन् । ‘श्रम निर्देशकाको विषयमा छलफल गरी आवश्यक संशोधनसहित नगर कार्यपालिकाको बैठकबाट पारित त सक्छौं तर स्थानीय राजपत्रमा प्रकाशित नगरेसम्म त्यसको वैधानिकता नहुने भएकाले अबको ध्यान त्यतातिर केन्द्रित हुनुपर्छ’ उनीहरुले भने ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा धनगढीमाई नगर उपप्रमुख संगिता चौधरीले कृषि श्रमिकको कार्यघण्टा र ज्यालाको बारेमा नगरको १, ४, ९, १२ र १४ नं. वडामा पुगेर स्थलगत रुपमा नै अध्ययन गरेको जानकारी दिइन् । ‘श्रमिकको कार्यघण्टा करिब करिब उस्तै पाइएपनि ज्याला भने फरक फरक छ’ उनले भनिन् ‘निर्देशिका लागू भएपछि एक रुपता हुन्छ ।’
नगरकार्यपालिका सदस्य टिकाराम गजमेरले नगर क्षेत्रका श्रमिकको निःशुल्क स्वास्थ्य बीमाका लागि नगर कार्यपालिकाको बैठकमा प्रस्ताव लगिने जानकारी दिंदै श्रम निर्देशिका लागू गर्न आफूले लड्ने बताए । एक्सनएडको सहयोगमा स्थानीय अधिकार कार्यक्रम अन्तर्गत संचालित कार्यक्रममा कार्यक्रम संयोजक विनोद यादवले स्वागतसहित उद्देश्य बारे प्रष्ट्याएका थिए भने पत्रकार मणिलाल विश्वकर्माले ‘अनौपचारिक क्षेत्रका श्रमिक महिलाको सवाल, अवस्था र श्रम निर्देशिका सन्दर्भमा सरोकारवालाको भूमिका’ विषयमा अवधारणा पत्र प्रस्तुत गरेका थिए ।