मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग तथा लैङ्गिक हिंसा रोकथाम र प्रतिकार्य परियोजना दोस्रो चरणको सामाजिक परीक्षण


उदयपुर, ५ पुस । उदयपुरको बेलका नगरपालिकामा नगरपालिका तथा सि.एम.सी.–नेपालको साझेदारीमा संचालित मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग कार्यक्रम र लैङ्गिक हिंसा रोकथाम र प्रतिकार्य परियोजना–दोस्रो चरणको सामाजिक परीक्षण गरिएको छ ।
बेलका नगर अस्पतालको सभाकक्षमा बिहीबार आयोजित कार्यक्रममा नगरका विभिन्न वडाबाट मानसिक स्वास्थ्यका बिरामीका आफन्तहरुले आफूहरुको पायक पर्ने स्थानमा नियमित जाँच र औषधिको व्यवस्थापन गरिनु पर्ने माग गरे । बेलका १ पुरन्दहस्थित तपेश्वरी मानसिक स्वास्थ्य स्वावलम्बन समूहका सल्लाहकार समेत रहेका डिल्लीराम विमलीले स्थानीय स्वास्थ्य चौकीमा मानसिक स्वास्थ्यका बिरामीहरुको प्रेस्क्रिप्सन संकलन गरी त्यहीं जाँच गरी औषधिको व्यवस्थापन गरिनु पर्ने माग गरे ।
‘त्यसो गर्दा बिपन्न आर्थिक अवस्थाका बिरामीलाई नगर अस्पतालसम्म आउन जान लाग्ने यातायात खर्च जोगिन्थ्यो’ उनले भने । मानसिक स्वास्थ्यका बिरामीका लागि नगरपालिकाले निःशुल्क स्वास्थ्य बीमा गराउँदा बिरामी र सम्बन्धित परिवारलाई ठूलो राहत हुने उनले बताए ।


त्यहीं गाउँका गणेश पाण्डेले गाउँकै स्वास्थ्य चौकीमा जाँच र औषधिको व्यवस्था गरिनु पर्ने माग दोहोर्याए भने बेलका २ कंचनजंघा गाउँकी रेणुका निरौलाले गाउँको स्वास्थ्य चौकीमा मानसिक स्वास्थ्यका बिरामीको नियमित जाँच र गाउँघरमा मनोसामाजिक परामर्श सेवा दिइनु पर्ने बताइन् ।
बेलका ५ शिखरमाडीस्थित देउराली मानसिक स्वास्थ्य स्वावलम्बन समूहका सचिव बाबुराम ढकालले अति बिपन्न आर्थिक अवस्थाका मानसिक स्वास्थ्यका बिरामीलाई नगर अस्पतालसम्म आउन जान नगरपालिकाले साधनको व्यवस्था गरिदिन वा स्थानीय स्तरमा नै जाँचको व्यवस्था मिलाइदिन आग्रह गरे ।
स्थानीय स्तरमै सेवा प्रवाह : नगर प्रमुख


कार्यक्रममा बेलका नगर प्रमुख अशोक कार्कीले नगरपालिकाको स्रोत साधनले भ्याएसम्म पायक पर्ने स्थानमा बिरामीको जाँच, निःशुल्क औषधि वितरण व्यवस्थापन गरिने प्रतिबद्धता जनाए । ‘नगरपालिकाले मानव विकासका लागि पनि काम गर्नुपर्छ भन्ने ठहरसहित सि.एम.सी.–नेपालसँगको साझेदारीमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्शका लागि काम गरिरहेका छौं’ उनले भने ।
तथापि प्रभावकारी सेवा प्रवाहका लागि स्वास्थ्यकर्मीलाई थप तालिमसहित के के गर्नु पर्छ, कार्ययोजना बनाएर छलफल गरौं, त्यस अनुसार स्वास्थ्य बीमासहित मानसिक स्वास्थ्य सम्बन्धी उपचार र औषधि व्यवस्थापन गर्न नगरपालिका तयार रहेको उनले बताए । ‘त्यसका लागि गरपालिकाको स्रोत साधनसहित प्रदेश र संघीय सरकारसँग पनि थप सहयोगका लागि पहल गरिने छ’ उनले भने ।
नगरका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले अति बिपन्न परिवारका बिरामीलाई मानसिक स्वास्थ्यको औषधि निःशुल्क दिनै पर्ने भएपनि आर्थिक रुपले सक्षम परिवारले पनि उक्त, सुविधा माग गर्नु सामाजिक न्याय नहुने बताए । ‘अति बिपन्न परिवारका बिरामीको हकमा कार्यविधिको आधारमा वडा कार्यालयसहितको सिफारिशमा व्यवस्थित गरौं’ उनले भने । बेलका ९ का वडाध्यक्ष भरत घिमिरेले आफूले नगर कार्यपालिकाको बैठकमा मानसिक स्वास्थ्य र मनोसामाजिक परामर्शको विषयमा कुरा राखेको जानकारी दिंदै आफ्नो वडाले समेत त्यसका लागि बजेट व्यवस्थापन गर्ने बताए ।
मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग कार्याक्रमका श्रोत व्यक्ति समेत नगर अस्पतालका सिअहेव किशोर श्रेष्ठले मानसिक स्वास्थ्य सम्बन्धी औषधिको खरिद प्रकृया टेण्डरमार्फत् गरिनु पर्ने भएकाले पछिल्लो समय औषधिको अभाव रहेको बताए । ‘सरकारले निःशुल्क घोषणा गरेको ११ खालका मानसिक स्वास्थ्य सम्बन्धी औषधि पहिले संघ, प्रदेश सरकारले पनि दिने हुँदा पर्याप्त हुन्थ्यो’ उनले भने ‘अहिले संघर प्रदेशले पनि आपूर्ति रोकेकाले पालिकाले नै व्यवस्थापन गर्नुपर्दा तत्काल अभाव देखिएको हो ।’ उक्त समस्या दुई हप्तापछि हल हुने उनले बताए ।
कार्यक्रममा पत्रकार समेत रहेका सामाजिक परीक्षक मणिलाल विश्वकर्माले नगरका जनप्रतिनिधि, लक्षित समूह, स्वास्थ्य शाखा, सामान्य अवस्थामा फर्किएका बिरामीसँग छुट्टाछुट्टै रुपमा लक्षित समूह छलफल, अन्तरवार्ता, घटना अध्ययनमार्फत् प्राप्त सूचनाको आधारमा संचालित मुख्य कृयाकलाप, मानसिक स्वास्थ्य सम्बन्धी तालिमपछि नगरका स्वास्थ्य संस्थामार्फत् सेवा लिएका बिरामीको तथ्यांक र अवस्था, सिकाई, चुनौती, सुझाव तथा सिफारिश, घटना अध्ययनको प्रस्तुतीकरण गरेका थिए ।
स्वास्थ्यकर्मीहरु तथा नर्सिङ् कर्मचारीहरुको क्षमता अभिबृद्धि, मानसिक स्वास्थ्य सम्बन्धी औषधि खरिद, मानसिक स्वास्थ्य स्वावलम्बन समूहको क्षमता अभिबृद्धि, समन्वय, सि.एम.सी.–नेपालको प्राविधिक सहयोगसहित संस्थाबाट चार लाख ७६ हजार पाँच सय र नगरपालिकाको चार लाख ५० हजार रुपैयाँको बजेटमध्ये चार लाख ७६ हजार रुपैयाँ खर्चको विवरण प्रस्तुत गरिएको कार्यक्रममा परियोजना संयोजक विष्णु प्रजापतिले कार्यक्रम अन्तर्गत संचालित कृयाकलापको बारेमा चर्चा गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया

ताजा खबर

धेरै पढिएको