ओखलढुंगा, ८ पुस । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकामा गाउँपालिका तथा सि.एम.सी.–नेपालको साझेदारीमा संचालित मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग कार्यक्रम, लैङ्गिक विभेदमा आधारित हिंसा रोकथाम र प्रतिकार्य परियोजना दोस्रो चरणको सामाजिक परीक्षण कार्यक्रम गरिएको छ ।

चिशंखुगढी ५ सेर्नास्थित गाउँपालिकाको सभाकक्षमा सोमबार आयोजित कार्यक्रममा नगरका विभिन्न वडाबाट मानसिक स्वास्थ्यका बिरामीका आफन्तहरुले आफूहरुको आयआर्जन र स्वास्थ्य बीमाका लागि पहल गरिदिन माग गरे । मानसिक स्वास्थ्य सम्बन्धी समस्या भएको व्यक्तिको परिवारको आयआर्जनका लागि सि.एम.सी.–नेपालमार्फत् मानसिक स्वास्थ्य स्वालम्बन समूहमा बीउ पूँजी प्राप्त गरी संचालनमा रहेको घुम्ती कोषमा गाउँपालिकाले पनि थप रकम गरिदिन उनीहरुको आग्रह थियो ।
चिशंखुगढी २ पोखरेस्थित मानसिक स्वास्थ्य स्वालम्बन समूहकी कोषाध्यक्ष समेत रहेकी रेखा तामाङ्ले बिपन्न आर्थिक अवस्थाका मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिको उपचार र जाँच स्थानीय स्वास्थ्य चौकीमा हुने भएपनि थप उपचार र निःशुल्क बाहेकका औषधि किन्न नसक्ने भएकाले गाउँपालिकाले स्वास्थ्य बीमा गरिदिन माग गरिन् । ‘श्रीमान मानसिक अपांगताले अप्ठ्यारोमा हुँदा उपचारपछि ठीक हुनुभयो’ उनले भनिन् ‘तथापि अहिले दैनिक गुजारा चलाउन अप्ठ्यारो छ, आयआर्जनका लािग घुम्ती कोषको सहयोगले बाख्रापालन गरिरहेकी छु ।’
महिला स्वास्थ्य स्वयम्सेविका समेत रहेकी समूहकी अध्यक्ष रेखा श्रेष्ठले मानसिक स्वास्थ्य र हिंसा प्रभावितहरुका लागि पालिकाले सीपमूलक तालिमसहित बीउ पूँजीको व्यवस्था गरिदिन माग गरिन् ।
‘स्रोत सधानले भ्याएसम्म सघाउँछौं’

सामाजिक परीक्षण कार्यक्रमको अध्यक्ष समेत रहेका चिशंखुगढी गाउँपालिका अध्यक्ष निशान्त शर्माले मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग कार्यक्रम र लैङ्गिक विभेदमा आधारित हिंसा रोकथाम सम्बन्धी कार्यक्रमको उपलब्धि, पालिकाले गर्नुपर्ने काम र सेवाग्राहीको गुनासो तथा सुझावका लागि सामाजिक परीक्षण कार्यक्रम गर्नैपर्ने औंल्याए । गुणस्तरीय सेवा प्रवाह, सुशासन र पारदर्शिताका लागि यस्तो कार्यक्रम जरुरी रहेको उल्लेख गर्दै उनले भने ‘सिंगो पालिकालाई मानसिक स्वास्थ्य समस्या मुक्त र हिंसारहित बनाउन सीमित स्रोत साधनले भ्याएसम्म काम गर्न तयार छौं ।’
‘मानसिक स्वास्थ्य समस्या जटिल बन्दै गएको छ’ उनले भने ‘त्यो समस्याको भुक्तभोगी सम्बन्धित परिवार मात्र हो तर अहिले स्थानीय सरकार पनि जोडिएको छ ।’ पालिका अन्तर्गतका स्वास्थ्य चौकीमा मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिको उपचार र मनोपरामर्शले पनि ठीक हुन्छ भन्ने कुरा फैलाउनु पर्ने खाँचो औंल्याउँदै उनले भने ‘त्यस्ता परिवारलाई आयआर्जनमा जोड्न पालिकाले पनि सक्दो सघाउने छ ।’
चिशंखुगढी १ कुइभिरस्थित स्वास्थ्य चौकीका सिअहेव अजित राईले मानसिक स्वास्थ्य सम्बन्धी तालिम लिएपछि मात्र स्वास्थ्य चौकीमा आउने बिरामीमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ कि भन्ने दृष्टिकोणले पनि हेर्न थालेको बताए । ‘पेट दुख्ने, टाउको दुख्ने बिरामीहरुमा पनि मानसिक स्वास्थ्य सम्बन्धी समस्या देख्यौं र उपचार पछि ठीक पनि हुनुभयो’ उनले भने । मानसिक स्वास्थ्य सम्बन्धी समस्या भएका बिरामीलाई ९० प्रतिशत मनोपरामर्श र १० प्रतिशत मात्र औषधिले ठीक हुने उल्लेख गर्दै उनले मनोपरामर्शलाई व्यापकता दिइनु पर्ने आवश्यकता औंल्याए ।
चिशंखुगढी गाउँपालिका स्वास्थ्य शाखाका संयोजक थिरप्रसाद भट्टराईद्वारा संचालित सामाजिक परीक्षण कार्यक्रममा पत्रकार सामाजिक परीक्षक मणिलाल विश्वकर्माले गाउँपालिकाका जनप्रतिनिधि, लक्षित समूह, स्वास्थ्य शाखा, सामान्य अवस्थामा फर्किएका बिरामीका आफन्त, मानसिक स्वास्थ्य स्वालम्बन समूहका सदस्यसँग छुट्टाछुट्टै रुपमा लक्षित समूह छलफल, अन्तरवार्ता, घटना अध्ययनमार्फत् प्राप्त सूचनाको आधारमा संचालित मुख्य कृयाकलाप, मानसिक स्वास्थ्य सम्बन्धी तालिमपछि गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थामार्फत् सेवा लिएका बिरामीको तथ्यांक र अवस्था, सिकाई, चुनौती, सुझाव तथा सिफारिश, घटना अध्ययनको प्रस्तुतीकरण गरेका थिए ।
त्यसक्रममा लैंगिक विभेदमा आधारित हिंसा रोकथाम र प्रतिकार्य अन्तर्गत, पालिकाबाट नियुक्ति लिएका चार जना सामुदायिक मनोसामाजिक कार्यकर्ताका लागि आधारभूत र पुनर्ताजगी तालिम, सामुदायिक मनोसामाजिक कार्यकर्ता र संयोजकको रुम्जाटारमा सुपरभिजन, लैंगिक हिंसा निवारण कोषबाट १० जनाले सेवा र चार जनाले जीविकोपार्जनका लागि सुविधा पाएको, आर्थिक वर्ष २०८१÷०८२ मा चिशंखुगढीका लागि प्रदेश सरकारबाट कोषमा दुई लाख ५० हजार रुपैयाँ विनियोजन, विश्व आत्महत्या रोकथाम दिवस लगायतका कृयाकलाप गरिएको चर्चा गरिएको थियो ।
कार्यक्रम अन्तर्गत सन् २०२४ को नोभम्बरसम्म ३० एक सय ११ महिलासहित एक सय ४१ जना हिंसा प्रभावित पहिचान भएको, ७२ महिलासहित ८२ जनाको पारिवारिक पुनर्मिलन गराइएको, कुइभिर र भदौरे स्वास्थ्य चौकीमा कर्मचारी तथा महिला स्वास्थ्य स्वयंसेविकालाई लैंगिक विभेदमा आधारित हिंंसा बारे अभिमुखीकरणसहित चिशंखुगढी १, ३, ४, ५, ६ र ८ नं. वडास्थित स्वास्थ्य चौकी, २ नं. वडाको आधारभूत अस्पताल र ७ नं.को सामुदायिक स्वास्थ्य केन्द्रमा तीन सय ७६ महिलासहित पाँच सय ४२ हिंसा प्रभावितहरु फलोअपमा रहेको जानकारी दिइएको थियो ।