लहान, ९ को कार्तिक। लहान नगरपालिका शिक्षा शाखाले सामुदायिक विद्यालयको अनुगमन गरिरहेका अनुगमन टोलीले विद्यार्थीलाई प्याकेटका खाजा नखुवाउन निर्देशन दिइएको छ। नगर उपप्रमुख रामचलितर महतो र शिक्षा शाखा प्रमुख फिरोज कटुवालले लहान–१० मा रहेको जनता माध्यमिक विद्यालय बैरिया गुदीगाउँका विद्यार्थीले प्याकेटमा ल्याइएको खिचडी डस्टबिनमा फालिरहेको देखेर उपप्रमुख महतोले खाजा किन फालिरहेको भनी जिज्ञासा प्रधानाध्यापकसँग राखे।
जिज्ञासाको जवाफमा उनले विराटनगरबाट नै प्याकेटमा आउने खिचडी, खिर, सोयाबिन, भुटेको चिउरालगायतका खाजा विद्यार्थीलाई खुवाउँदा खान नमानिरहेको बताए। उनले भने, “५९ वटै विद्यालयमा यही खाजा खुवाउन थालेपछि यस्तो खाजा नखुवाउँदा भएन। यस भन्दा अघि विद्यालयले रुटिन अनुसार स्थानीय खाजा खुवाउँदा विद्यार्थी उत्साहपूर्वक खान्थे। यो प्याकेटको खाजा नखुवाउन विद्यालय व्यवस्थापन समिति र अभिभावकले समेत दबाब दिइरहेको अवस्था छ। सोयाबिन खुवाउँदा विद्यार्थी बिरामी परेको अभिभावकले गुनासो गरेपछि सोयाबिनको खाजा बन्द गरिदिएको छु।”
विद्यार्थीले नै नखाने खाजा कसरी लागु भयो भन्ने प्रश्नमा प्रधानाध्यापक रङ्कलाल साहले केही महिना पहिले शिक्षा शाखाले विराटनगरबाट आउने खाजा खुवाउन दिएको निर्देशन अनुसार स्थानीय रूपमा पाउने खाजा बन्द गरेर यो प्याकेटको खाजा चलाउनु परेको जानकारी गराए। यो निर्णय प्रधानाध्यापकको बैठकमा प्रस्ताव भएपछि पास भएको थियो। विद्यार्थी र प्रधानाध्यापकबाट खाजासम्बन्धी जानकारी लिएपछि उपप्रमुख महतोले भोलिदेखि प्याकेटमा आउने खाजा फिर्ता गरी स्थानीय रुटिन अनुसारको पहिले चलिरहेको खाजा नै खुवाउने निर्देशन दिए। उपप्रमुख महतोले भने, “नगरको ५९ वटै सामुदायिक विद्यालयमा चलिरहेको प्याकेटको खाजा बन्द गराइने छ। प्याकेटको खाजा जङ्कफुड नै हो। खाजा खुवाएपछि विद्यार्थीको स्वास्थ्यमा समेत असर पर्ने गुनासो आएको छ। नगरपालिकाले शिक्षामा वार्षिक आठ करोड रुपियाँ लगानी गरेर शिक्षा सुधार्न खोजेको छ। विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने कार्य गर्नुहुँदैन।”
नगरको सामुदायिक विद्यालयका भौतिक र शैक्षिक अवस्था सुधार गर्न निरन्तर विद्यालय अनुगमन गरिरहँदा शिक्षक, विद्यार्थी र प्रधानाध्यापक लगायत सरोकारवालाको धारणा सुनेर आगामी शिक्षा सुधारको रणनीति बनाउने शिक्षा शाखा प्रमुख कटुवालले बताए। उनले थपे, “अब अभिभावक, शिक्षक र शिक्षिकाबिचमा समेत अन्तरक्रियाको आवश्यक छ। अहिलेसम्म प्रत्येक महिना हुने प्रधानाध्यापकको बैठक मात्रै पर्याप्त भएन। शिक्षकले नियमित कक्षामा शिक्षण गरेर मात्रै पुगेन विद्यार्थीले पनि घरमा गृहकार्य गर्ने, पढ्ने वातावरण बनाउन अभिभावकसँग अन्तरक्रिया आवश्यक छ।” नगरका विद्यालयमध्ये पहिलो पटक सामाजिक लेखा परीक्षण गरेर हरहिसाब पारदर्शी गरेको जनता माध्यमिक विद्यालय लहान–१० का प्रधानाध्यापक साह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमेश बिसुन्केलाई धन्यवाद दिँदै उपप्रमुख महतोले भने, “नगरमा प्रतिमहिना तीन लाख रुपियाँसम्म आम्दानी हुने विद्यालय पनि छ तर हरहिसाब पारदर्शी भएको छैन। यतातर्फ पनि नगरपालिकाको ध्यान केन्द्रित भएको छ। सबै सामुदायिक विद्यालयले सामाजिक लेखा परीक्षण गर्न÷गराउन पहल थालिएको छ।”
प्याकेटको खाजा नखुवाउन निर्देशन
