राम बाबु यादब
सिरहा,८ भदौ । स्वस्थ्य व्यक्तिले स्वस्थ्य समाज बन्ने भएकाले त्यसका लागि आवश्यक पोषण सम्बन्धी काम गर्न नगरपालिका र वडा कार्यालयले पनि योजना, बजेट छुट्याउनु पर्नेमा सरकोरवालाहरुले जोड दिएका छन् ।
कमला जलाधार क्षेत्रमा उत्थानशीलता तथा पोषण सुरक्षा अभिबृद्धि परियोजना अन्तर्गत संचालित दिगो पोषण परियोजनाको सिरहाको कल्याणपुरमा बिहीबार आयोजित सामाजिक परीक्षण २०२४ मा सहभागी सरोकारवालाहरुले सामाजिक विकासको रुपमा पोषण सम्बन्धी काम गर्नु पर्नेमा जोड दिएका हुन् । नगर तथा वडा कार्यालयहरुले प्रायः भौतिक पूर्वाधार सम्बन्धी योजना मात्र संचालन गरिरहेको चर्चा गर्दै सरोकारवालाहरुले अब पोषण सम्बन्धी योजना र कार्यक्रम बनाएर कार्यान्वयन गरिनु पर्ने सुझाए ।
कार्यक्रममा कल्याणपुर नगरपालिकाकी उपप्रमुख रेखाकुमारी यादवले गर्भवती महिलाका लागि झुल, बालबालिकाका लागि नगर स्तरीय योजना अन्तर्गत लिटो वितरण गरिएको बताइन् । ‘नगरपालिकाले सीमित श्रोत साधनमा धेरै क्षेत्रमा काम गर्नु पर्ने भएकाले नतिजा त्यति नदेखिएको हो’ उनले भनिन् ‘अब पोषण सम्बन्धी विषय किटान गरेरै नगर र वडाले पनि काम गर्नुपर्छ ।’ परियोजनाले बोल्न समेत हिच्किचाउने ग्रामीण महिलाहरु सशक्त बन्नुका साथै आय आर्जनमा पनि गर्न थालेकाले त्यसमा नगर र वडाले प्रोत्साहन गर्नुपर्नेमा उनको जोड थियो ।
नगरका प्रमुख प्रशासकीय अधिकृत जयप्रसाद दासले नगरको आर्थिक वर्ष २०८१÷०८२ को बजेटमा संशोधन गर्ने ठाउँ रहेकाले अहिले पनि पोषण सम्बन्धी योजनाको प्रस्तावना ल्याइए बजेट व्यवस्थापन गर्न सकिने उल्लेख गरे । ‘नगर र वडाले सडक नाला, बिजुली, भवनको सम्बन्धी योजनाका काम धेरै गरे’ उनले भने ‘अब सामाजिक विकासका लागि पनि बजेट र कार्यक्रम छुट्याऔं, पोषणका लागि कृषि तथा पशु सम्बन्धी योजनाका लागि वडाले पहल लिनुपर्छ, त्यसमा नगरपालिकाले पनि आवश्यकता अनुसार सघाउँछ ।’
कार्यक्रममा साझेदार संस्था वेल्ट हंगर हिल्फेकी कल्पना भट्टराईले सरकारको सहयोगीको रुपमा रहेका विकास साझेदार संस्थाहरु स्थानीय सरकारलाई सघाउन तयार रहेको बताइन् । ‘अन्नको भण्डार मानिने तराई मधेशमै कुपोषणको दर उच्च देखिनु चिन्ताको विषय हो’ उनले भनिन् ‘आफूहरुले पोषण सम्बन्धी काम गरेपछि कुपोषणको दर घटेकाले त्यसलाई बढ्न नदिन पालिकाले पनि थप काम गर्नुपर्छ ।’
कल्याणपुर नगरपालिका ९ का वडाध्यक्ष विनोदकुमार यादवले भूमिहीन समूहका महिलाहरुले सर्फ बनाएर बिक्री, सिलाई कटाई, साना व्यवसाय संचालनमार्फत् आयआर्जन गरिरहेकाले क्षमता विकास पनि भइरहेको बताए । ‘महिलाहरु वडा र नगरमा आएर आफूहरुका लागि बजेट र योजना माग गर्नु त्यसको उदाहरण हो’ उनले भने ‘परियोजना सकिएपछि पनि पालिकाले विषयगत शाखामार्फत् पोषण सम्बन्धी काम गर्न सकिने धारणा व्यक्त गरे । ‘त्यसका लागि नगरपालिकाले पहल गर्नुपर्छ’ उनले भने ।
कल्याणपुर नगरपालिका बहुपक्षीय पोषण सहजकर्ता रंजिता मण्डलले पोषणका लागि नगर र वडाले किटान गरेरै बजेट र कार्यक्रम छुट्याउनु पर्नेमा जोड दिइन् । कार्यक्रममा समुदाय स्तरमा संचालित समूहका अगुवा महिला महिलाहरु लखियाकुमारी यादव, रामस्नेही साह, अञ्जु झा, समतोलियादेवी साह, सविता महरा, गीता महरा, स्थानीय श्रोत व्यक्ति रामप्रताप चौधरी लगायतले परियोजना संचालनसँगै आफूहरुको आयआर्जन बढेको बताए । त्यसका साथै साना किसान र भूमिहीन घर परिवारका लागि विविध खाद्य पदार्थहरुको उपलब्धता र पहँुचमा सुधार, लक्षित परिवारहरुको पोषणमा सुधार, बालबालिकाहरुको उचित हेरचाह र स्वच्छता व्यवहारका अभ्यासहरु र नगरपालिका स्तरमा पोषण सम्बन्धी गतिविधिहरुमा अभिबृद्धि भएको उनीहरुको भनाई थियो ।
वकालत अधिकृत बसुन्धरा साहको उद्घोषणमा सम्पन्न सामाजिक परीक्षण कार्यक्रममा तेस्रो पक्षबाट पत्रकार मणिलाल विश्वकर्माले परियोजना सम्बन्धी कागजातको अध्ययन, सर्वेक्षण तथा सूचना संकलन, स्थलगत अवलोकन, अन्तर्वार्ता, लक्षित समूह र स्थानीय सरकारका जनप्रतिनिधसँग छलफल लगायतको आधारमा दिगो पोषण परियोजना, समुदायमा संचालित मुख्य क्रियाकलाप र उपलब्धिहरु, चुनौती, सिकाई, सुझाव तथा सिफारिशहरुको प्रस्तुतीकरण गरेका थिए ।
परियोजनाका प्रबन्धक अशोक कुमार यादवले समुदायमा संचालित कार्यक्रमको बजेट र खर्च सम्बन्धी विवरण प्रस्तुत गरेका थिए । जर्मनीको संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालय, वेल्ट हंगर हिल्फे र आसमान नेपालकोे साझेदारीमा सन् २०२१ को मार्चदेखि संचालित दिगो पोषण परियोजना आगामी अक्टोवरमा सकिदै गरेको सन्दर्भमा सामाजिक परीक्षण गरिएको आसमान नेपालले जनाएको छ ।




