प्रतिष्ठासंगै जोडिएपछि झन् बढ्यो


जीवछ यादव

लहान, २२ फाल्गुन । तराई मधेशमा सामाजिक प्रतिष्ठासँग जोडिएपछि दाइजो प्रथा झन बढ्न थालेको छ । हुनेखाने र सम्पन्न परिवारको बिहिबारीमा सकेसम्म बढी दहेज माग्ने र दिने विकृति बढिरहँदा त्यसको असरमा गरिब विपन्न समुदाय पर्न थालेका छन् । उच्च शिक्षा हासिल गरेका, केटाकेटी आफैंमा सक्षम र योग्य भएकाको बिहेबारीमा समेत लिने दिने क्रम रोकिन सकेको छैन् । उल्टो जति धेरै शिक्षित र सक्षम जोडी, त्यति नै धेरै दाइजो दिनुपर्ने मान्यता स्थापित हुन थालेको छ । आर्थिक र सामाजिक सम्पन्न परिवारले झन् झन् धेरै दाइजो लिएर विवाह गर्न थालेको र देखासिकीमा दाइजो नलिइने समुदायमा पनि पछिल्लो समय कुनै न कुनै रूपमा दाइजो माग गर्न थालिएको सामाजिक अभियन्ता डा. जयनारायण यादवको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘दाइजो अन्त्य हुनु पर्छ भनेर सार्वजनिक स्थलमा बोल्छन्, चुनावी घोषणापत्रमा पनि लेख्छन् तर आÇनो छोराको विवाह गर्दा दाइजो लिइने र छोरीको विवाह गर्दा दिइने फन्दाबाट कोही पनि मुक्त हुन सकेका देखिंदैन ।’ न्यूनतम पाँच लाख रुपियाँदेखि एक करोड रुपियाँसम्म दाइजो लिइन थालेको समाजमा देखिन थालेको छ । यसको देखासिकी दलित विपन्न समुदायमा पनि सरेको शिक्षक सत्यनारायण चौधरी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘दाइजो अन्त्य के भएको छ र ? यो त झन् सामाजिक प्रतिष्ठा जस्तो बन्न थालेको छ । छोरी बहिनीको विवाहका लागि लिएको ऋण तिर्न नसकेर सारा सम्पत्ति बेच्नु परेको मिटरब्याजपीडितको कथाव्यथा बाहिर आइरहेको छ । बिहेबारी र अन्य सामाजिक परम्परामा हुने तडकभडकले झन् विकृति भित्र्याएको छ ।’

छोरी बहिनीको विवाहका लागि दाइजो जुटाउन बुढेसकालसम्म विदेशमा रहनुपर्ने बाध्यता छ । फागनु १६ गते मिर्चैया नगरपालिका–५ का ५५ वर्षीय कारी साह बम्बैया छोराको पढाइ र छोरीको विवाहको दाइजो जुटाउन १५ वर्षदेखि –बाँकी तीन पेजमा

वैदेशिक रोजगारीमा हुनुहुन्छ । छोरीको विवाहमा दिइनुपर्ने दाइजो जति कमाइ भएपछि फर्किने सपना देखेका कारी साह जीवित त फर्कनुभएन, उहाँको शव बन्द बाकसमा आएपछि मिर्चेया स्तब्ध भयो । कारी साह जस्तै छोरी वहिनीको विवाहको दाइजो जुटाउन तराई मधेशका युवा विदेसिन बाध्य भएका छन् ।

दाइजोको विकृति विकराल भए पनि यसको न्यूनीकरण हुन नसकेको महिला मानव अधिकारकर्मी एवं मुक्ति नेपालका अध्यक्ष श्याम साह वताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘दाइजो महिला हिंसाको जननी बनेको छ तर न्यूनीकरणको प्रयास भएको छैन ।’ लहान–१३ का सिरयाराम यादव चार छोरीको दाइजो खर्च जुटाउन दुई वर्षदेखि मलेसियामा रोजगारी गरिरहनु परेको पीडा पोख्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘मधेशमा जुनै सरकार आए पनि दाइजो हट्नेवाला छैन । विदेशवाट आएकामध्ये अधिकांश छोरी बहिनीको विवाहमा तिर्नुपर्ने दाइजो खर्चकै लागि आएका हुन् । जसको चार÷पाँच वटी छोरी विवाह गर्नु पर्यो, तिनीहरूको वाँकी जीवन विदेशमै बित्ने भयो ।’ प्रदेश सभा सदस्य राजेन्द्रप्रसाद चौधरी मधेश प्रदेश सभामा दाइजो अन्त्यका लागि कानुन बनाउन आवश्यक भएको बताउनुहुन्छ । स्थानीय सरकार, नगरपालिका र गाउँपालिकाले समेत दाइजो अन्त्यका लागि चेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया

ताजा खबर

धेरै पढिएको