बदान नदीको कटान रोक्न , तटबन्ध निर्माण कार्य सुरु


जीवछ यादव

लहान, १५ फाल्गुन । सिरहा र सप्तरीको सीमा रहेको बलान नदीले लहान नगरपालिका–२३ मा सुख्खा मौसममा समेत जारी राखेको कटान रोक्न तटबन्ध निर्माण कार्य सुरु गरेको छ । ५० लाखको लागतमा तटबन्ध निर्माण कार्य सुरु गरेको लहान नगरप्रमुख महेशप्रसाद चौधरीले बताएको हो । उनका अनुसार यसअघि दुई पटक ३० लाखभन्दा बढी रकमबाट बालुवाको बाँध र बाँसको टाटीले कटान रोक्न गरिएको प्रयास सफल नभएपछि लहान नगरपालिकाले ५० लाख र प्रदेश सरकारले ९० लाख गरी एक करोड चालिस लाखको लगानीमा वर्षातको समय आउनुअघि ठोस निर्माण कार्य अघि बढाएको हो ।

दुई दशक अघिदेखि पश्चिमी किनारा लहान नगरपालिकाको –२३ सखुवा नन्कारकट्टी गाउँपालिकाको ४ र ५ र भगवानपुर गाउँपालिकाको वडा नम्बर १ र २ मा जारी राखेको कटानले एक हजार बिघा उर्वर जमिन कटान गरेर सम्पन्न किसानहरु कति सुकुम्वासी त कति सामान्य किसान भएका छन् । लहान–२३ तिलेबोना गाउँका मात्रै ५५ बिघा जमिनको लालपुर्जा घरमा र जग्गा खोलामा रहेको स्थानीय मुसहरु यादवले बताए । उहाँका अनुसार गत वर्ष बाँसको टाटी र तटबन्धनको लागि क्रेटिङ गरे पनि कटान जारी रह्यो । हलुका बालुवा भउको पश्चिमी किनारा सुख्खा मौसममा पनि कटान गरिरहेको छ । यस वर्ष कटान रोक्न सकिएन भने पश्चिमतर्फका गाउँमा बाढी पस्ने खतरा देखिएपछि वडा कार्यालय लहान नगरपालिका र प्रदेश सरकारलाई गुहारेपछि एक करोड ४० लाख बजेट विनियोजन गरिए पनि पर्याप्त छैन ।

संघ प्रदेश र स्थानीय तह लहान नगरपालिका सखुवानन्कारकट्टी र भगवानपुर गाउँपालिका संयुक्त रुपमा तटबन्ध गर्न करोडौं बजेट विनियोजन गरेमात्रै उर्वर हजार बिघा जमिन र पश्चिमी किनारामा रहेको तिलोबोना सिमराहा सखुवा र कल्याणपुरलाई सुरक्षित गर्न सकिने सखुवानन्कारकटि गाउँपालिका अध्यक्ष केदारनाथ यादवले बताए । उनले भने, “लहान नगरपालिका र भगवानपुर गाउँपालिकासँग समन्वय भइ प्रदेश र संघ सरकारसँग तटबन्ध निर्माण कार्यका लागि पहल थालेका छौं ।’ विगतका वर्षमा वर्षाको समयमा तटबन्धनको लागि खर्चिने रकम प्रभावकारी नभएको अनुभव सुनाए । यस वर्ष लहान नगरपालिका र प्रदेश सरकारले समयमै काम सुरु गरेपछि राहत हुने विश्वास जागेको उनले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया

ताजा खबर

धेरै पढिएको