सिरहा, २९ फागुन । नेपाल पत्रकार महासंघ, सिरहा शाखाले लहान नगरपालिका १५ स्थित खुट्टी खोलामा समाचार संकलनका लागि गएका पत्रकारलाई अवरोध गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । अवैध खोला दोहनको विषयमा समाचार संकलन गर्न गत बुधबार पुगेका सञ्चारकर्मीद्वय विनय आजाद र सुरेश रायलाई टिफरले धुलो र धुवा उडाउने र तर्साउने गरेर समाचार संकलनमा अवरोध खडा गरेको प्रति महासंघको ध्यानकर्षण भएको जनाएको हो ।
महासंघले सोमबार विज्ञप्ति जारी गरी अवरोध गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै घटनाको निन्दासमेत गरेको छ । सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्म चार लेन राजमार्ग निर्माणको काम गरिरहेको चिनियाँ निर्माण कम्पनी चाइन रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुपका कर्मचारी एवम् खोला साइट इन्चार्ज हुस्या छ्याङको निर्देशनमा टिपर र एक्साभेटरले सञ्चारकर्मीद्वयलाई पछ्याउँदै धुलोधुँवा उडाएर, तर्साएर अवरोध एवम् आतंक सिर्जना गर्न खोजेको विज्ञप्तीमा उल्लखे गरिएको छ । घटनाको निन्दा गर्दै महासंघले निर्वाध रूपमा समाचार संकलनको वातावरण मिलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न पनि सबैलाई अपिल गरेको छ ।