भासिएको कमला पुलको पुनर्निर्माण सुरु


विजयकुमार साह 

ढल्केबर, १२ माघ । हुलाकी सडकअन्तर्गत धनुषा र सिराहा जोड्ने कमला नदीमा भासिएको पुलको पुनर्निर्माणको काम सुरु भएको छ । माघ २ गतेदेखि नै पुनर्निर्माणको काम सुरु गरिएको भए पनि निर्माण कम्पनीले शुक्रबारदेखि कामको गति बढाएको छ । असार अगावै पुल सञ्चालन गर्ने गरी पुनर्निर्माणको काम भइरहेको निर्माण कम्पनीले जानकारी दिएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुर र पुल निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’ बिच असार अगावै पुल सञ्चालनमा ल्याउने गरी सम्झौता भएको छ ।

सम्झौताअनुसार भासिएको कमला पुलको पुनर्निर्माणको काम तीव्रताका साथ भइरहेको निर्देशनालयका योजना प्रमुख कृष्णकुमार महतोले बताउनुभयो । पुल पुनर्निर्माणमा कार्ययोजना अनुसार तोकिएकै समयमा पुलको निर्माणकार्य सम्पन्न हुने उहाँले जानकारी दिनुभयो । कमला पुल निर्माण कम्पनीका ‘साइट इन्चार्ज’ सुदीप थापाका अनुसार वर्षा सुरु भएसँगै रोकिएको पुल पुनर्निर्माणको काम गत मङ्सिरबाटै सुरु भए पनि आर्थिक संकटका कारण सुस्त रहेको थियो । “भासिएको ठाउँमा दुई पायल राख्नेगरी फाउन्डेसन र पाइलिङको काम भइरहेको छ, बीमाबाट प्राप्त गर्नुपर्ने रकम रोकिएकाले आर्थिक संकट हुन गएकाले निर्माणकार्य ढिलो हुन गयो”, थापाले भन्नुभयो, “अब यो कार्ययोजना सम्झौताले पुल पुनः निर्माणमा तीव्रता दिने विश्वास लिएको छु ।”

२०६८ मा तीन वर्षभित्र पुल निर्माण गरिसक्ने गरेर निर्माण कम्पनी ‘पप्पु कन्स्ट्रक्सन’ सँग सम्झौता गरिएको थियो । पटक–पटक म्याद थपेर करिब १० वर्षपछि ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भएर उद्घाटनको तयारी गरिरहेकै बेला २०७८ असार र कात्तिकमा आएको बाढीले पुल भासिएपछि निर्माणको काम तत्काललाई अनिश्चित भएको थियो । पुल निर्माणमा कम्पनीको लापरबाही देखिएपछि निर्माण कम्पनी ‘पप्पु कन्स्ट्रक्सन’ लाई हटाएर ‘लुम्बिनी बिल्डर्स’लाई काम सम्पन्न गर्ने जिम्मेवारी दिइएको थियो । यही बीचमा वि.सं.२०७९ चैत १५ गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहेका बेला वर्तमान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्राविधिक टोलीसहित स्थलगत निरीक्षणपछि एक सातामा पुलको पुनर्निर्माण कार्य सुरु गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको थियो ।

मधेश प्रदेशको राजधानी जनकपुरधामसँग जोड्ने छोटो दूरीको राष्ट्रिय गौरवको आयोजना हो । लोकमार्ग अन्तर्गत कमला पुल समयमा नबन्दा वर्षाैदेखि स्थानीय सास्ती खेप्न बाध्य छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया

ताजा खबर

धेरै पढिएको