मणिलाल विश्वकर्मा
लहान, ११ माघ । स्थानीय तहको दोस्रो निर्वाचन भएयता पहिलो आर्थिक वर्ष ०७९÷८० मा स्थानीय तहको कार्य सम्पादनमा सिरहाको अर्नमा गाउँपालिका अब्बल देखिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) प्रणालीमा अर्नमा गाउँपालिकाले तोकिएका १० वटा विषय क्षेत्रमा कुल एक सय अंकमध्ये ९५.५ अंक प्राप्त गरी अब्बल देखिएको छ भने छिमेकी औरही गाउँपालिका ९३.५ अंक प्राप्त गरी दोस्रो भएको छ ।
जिल्लाका आठ नगरपालिका र नौ गाउँपालिकामध्ये विवरण प्रविस्ट भएका १३ स्थानीय तहमा नवराजपुर गाउँपालिका २७.७५ अंक प्राप्त गरी सबैभन्दा कमजोर देखिएको छ । नवराजपुरले आ.व. ०७८÷७९ मा प्राप्त गरेको २४ अंकमा थोेरै सुधार गरेको भए पनि आ.व. ०७९÷८० मा पनि ३० अंक कटाउन सकेको छैन । भगवानपुर गाउँपालिकाले ४३.२५ अंक प्राप्त गरेको छ, जुन ०७८÷७९ मा प्राप्त गरेको ४४.२५ अंकभन्दा एक अंक कम हो ।
नगरपालिकामा मिर्चैया अगाडि स्थानीय तहको संस्थागत स्वमूल्यांकनमा जिल्लाका आठ नगरपालिकामध्ये मिर्चैया ८८.७५ अंकसहित अगाडि छ भने जिल्ला सदरमुकामसमेत रहेको सिराहा नगरपालिका ८३.७५, धनगढीमाई ८१.५, लहान ६१, गोलबजार ५६.७५ र कल्याणपुरले ५३.७५ अंक प्राप्त गरेका छन् । कर्जन्हा र सुखीपुर नगरपालिकाले अनुमोदनका लागि ७ माघमा स्वमूल्यांकन प्रतिवेदन कार्यपालिकामा पेस गरेका छन् । नौ गाउँपालिकामध्ये सखुवानन्कार कट्टीले ८१.५, नरहाले ५६.७५, विष्णुपुरले ५४.५ अंक प्राप्त गरेका छन् भने बरियारपट्टि र लक्ष्मीपुरपतारीले २ माघसम्म प्रारम्भिक नतिजा तयार गरिरहेको प्रतिवेदनमा जनाइएको छ ।