कांग्रेस मधेस सभापतिले ‘संगठनमा एकलौटी र मन्त्रालयमा अनियमितता’ गरेको भन्दै कोइराला पक्षको विरोध


काठमाडौं, ५ पुस ।  नेपाली कांग्रेसका मधेस सभापति कृष्ण यादवले पार्टी ‘संगठन एकलौटी ढंगले चलाएको र सम्हालेको मन्त्रालयका कामकारबाहीमा अनियमितता गरेको’ भन्दै नेता शेखर कोइराला पक्षका नेताहरूले विरोध गरेका छन्।

सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै ज्ञापन पत्रसहित बिहीबार मधेस सम्मेलनमा प्रदर्शन गरेका नेताहरूले प्रदेश सभापतिले एकलौटी गरेको भन्दै केन्द्रीय सभापतिलाई ध्यानाकर्षण गराएका छन्।

‘केन्द्रीय सभापतिज्यूले आफैं अग्रसरता लिई पार्टीको मधेस कार्यसमितिलाई विधानअनुरूप सञ्चालन र मधेस सरकारमा भइरहेको अनियमिततालगायत समस्या समाधानका लागि अनुरोध छ,’ ज्ञापन पत्रमा उल्लेख छ, ‘मधेस कार्यसमिति र सरकारमा देखिएको अराजकताले प्रदेशमा पार्टी नै सिद्धिने चिन्ताले नेता तथा कार्यकर्ता पिरोलिएका छन्।’

कांग्रेस मधेस सभापति यादव मधेस सरकारका भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हालिरहेका छन्। सभापति यादवले पार्टीभित्र फरक विचार राख्नेलाई बेवास्ता गरेको पनि उनीहरूको आरोप छ।

नेता रञ्जित कर्ण, नरेशकुमार यादव, विनोद खनाल लगायतले सभापतिलाई सम्बोधन गरी ज्ञापन पत्रसहित प्रदर्शन पनि गरेका छन्। मधेस सम्मेलनमा मर्यादाक्रम विवाद हुँदा नेता शेखर कोइराला अनुपस्थित छन्। उपस्थित भएका पूर्वउपसभापति विमलेन्द्र निधि पनि मञ्चमा गएका छैनन्।

सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सभापति यादवले प्रदेशमा सरकारको नेतृत्व गर्ने अवसर कांग्रेसले पाउनुपर्ने बताएका थिए। केन्द्रले आवश्यक कानुन नबनाउँदा सरकारले काम गर्न नपाएको उनको भनाइ थियो। उनले मर्यादाक्रम विवादले नेता कोइराला कार्यक्रममा नआएको र सम्मेलनमा आए पनि मञ्चमा निधि नआएको विषयमा केही बोलेनन्।‘कांग्रेसप्रति इमान्दार र बफादार भएर अघि बढौं,’ उनले भने।

कार्यक्रममा बोल्दै प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले पार्टीभित्र एकताको जरूरी रहेको बताए। ‘एकअर्काप्रति आरोप-प्रत्यारोप होइन,’ उनले भने, ‘संस्थागत रूपमा निर्णय गर्ने, छलफल गर्ने र जे निष्कर्ष जे निस्कन्छ त्यो लिएर जनतामा जाने हो। निर्णय एउटा, बाहिर अर्कै भन्दा जनतामा अलमल देखिन्छ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया

ताजा खबर

धेरै पढिएको