सिरहा, २५ मंसिर । सिरहा प्रहरीले जिल्लाका विभिन्न पाँच ठाउँका करेसाबारी तथा घरआँगनमा अवैध रूपमा साढे चार कठ्ठाभन्दा बढी जग्गामा लगाइएको गाँजा खेती फँडानी गरी नष्ट गरेको छ । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी र मातहत प्रहरी युनिटहरूबाट खटिएको प्रहरी टोलीले शनिबार र आइतबार गरी चार कठ्ठा १२ धुर जग्गाको गाँजा फँडानी गरी आगो लगाएर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । 01×1
सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेका अनुसार मिर्चैया नगरपालिका– १० मथलेश्वर पिप्रा, कर्जन्हा नगरपालिका– ४ बस्तीपुर, सिरहा नगरपालिका– १८ लक्ष्मीनिया भजनाहा, धनगढीमाई नगरपालिका– १२ हात्तीमारा र लहान नगरपालिका– २४ माणिकदहमा अवैध रूपले गरिएको गाँजा खेती फँडानी गरी नष्ट गरिएका हो । 03×3
मिर्चैया– १० मथलेश्वर पिप्रामा करिब तीन कठ्ठा करेसाबारीमा लगाइएको एक हजार थान बोट, कर्जन्हा ४ बस्तीपुरनजिक हनुमान मन्दिरको १५ धुर करेसाबारीमा एक सय ५० बोट, सिरहा– १८ लक्ष्मीनिया भजनाहामा दुई धुर करेसाबारीमा लगाइएको ५० बोट गाँजा काटी जलाइएको उनले बताए ।
त्यस्तै, धनगढीमाई १२ हात्तीमारा टोलमा पाँच धुरमा लगाइएको दुई सय ५० बोट, लहान– २४ माणिकदहमा– १० धुर करेसाबारीमा लगाइएको एक सय गाँजाको बोट नष्ट गरिएको प्रहरीले जनाएको छ । प्रहरीले गाँजा खेती गर्ने व्यक्तिहरूलाई पक्राउ गरे नगरेको बारेमा भने केही खुलाएको छैन ।




