वैशाखसम्ममा जिल्ला अस्पतालको स्तरोन्नति हुनेछः स्वास्थ्य मन्त्री सिंह


जिवछ यादव

सिरहा , १२ पुस । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र प्रसाद सिंहले मधेश प्रदेशका आठ वटै जिल्ला अस्पतालको स्तरोन्नति वैशाखसम्म हुने बताएको छ । नेपाल राष्ट्रिय मारवाडी संगठनको प्राविधिक सहयोग नारायण सेवा संस्थान उदयपुर भारत र मारवाडी युवा मञ्चले निःशुल्क कृत्रिम हात खुट्टा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएको हो । आठ वटै जिल्लाका जिल्ला अस्पतालको स्थलगत निरीक्षण गरी स्वास्थ्य मन्त्रालयले खटाएको टोलीले दिएको प्रतिवेदन अनुसार चिकित्सकको संख्या उपकरण र भौतिक अवस्था पूर्ति गर्ने मन्त्री सिंहले बताउनुभयो । १५ शय्या रहेका जिल्ला अस्पताललाई एक सय शय्यामा परिणत गरी मधेश प्रदेशको जनतालाई स्वास्थ्य सेवा दिन सरकार कटिबद्ध रहेको मन्त्री सिंहले बताउँदै स्वास्थ्य नागरिक नभएसम्म शिक्षित र समृद्ध मधेश हुन नसक्ने बताए ।

मन्त्री सिंहले भने, “मधेश प्रदेशमा खुट्टा तान्ने प्रवृत्तिको कारण यो प्रदेश स्वास्थ्य शिक्षा र विकासमा विकट कर्णाली प्रदेशभन्दा पछि परेको छ । मारवाडी युवा मञ्चले हात खुट्टा नभएका १३५ जनालाई १४८ वटा कृत्रिम हात खुट्टा वितरण गरेर नयाँ जीवन प्रदान गरेको छ । सरकारले गर्न नसकेको कार्य मारवाडी युवा मञ्चले प्रेरणादायी काम गरेको छ । समाजमा मारवाडी समाजले गरिरहेको सकारात्मक कार्यको अनुकरण अन्य सामाजिक संघ संस्थाले गरेमा मधेश प्रदेशको समृद्धिमा सहयोग पुग्नेछ ।“ लहानस्थित राम कुमार शारदा उमा प्रसाद प्रादेशिक अस्पताललाई स्तरोन्नति गर्न दाताद्वय राम कुमार शारदा र उमा प्रसाद मुरारकाको नाम थप्ने कार्य प्रदेश सरकारले गरी सकेको छ । प्रदेश सरकारसँग दाता परिवारकोतर्फबाट मुरारीलाल मुरारकाले गर्नुभएको प्रतिबद्धता अनुसार अस्पतालको नाउँमा जग्गा रजिष्ट्रेशन हुने कार्य अघि बढिसकेकोले लहान अस्पतालको सेवामा सुधार ल्याउन चिकित्सक उपकरण र भवन निर्माणको कार्य चाँडै अघि बढ्ने जानकारी गराए । मन्त्री सिंहले थपे, “लहान अस्पताललाई प्रदेश सरकारले उपलब्ध गराएको उपकरणहरू प्रयोगमा ल्याउन चिकित्सकहरूले किन आनाकानी गरिरहेको छ ? यसबारे पनि स्वास्थ्य मन्त्रालय चाँडै प्रभावकारी कदम चालिनेछ ।“

कार्यक्रममा लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरीले लहानको औद्योगिक शिक्षा र स्वास्थ्य क्षेत्रमा लहानका मारवाडी समुदायले पु¥याएको योगदानको सराहना गर्दै विकलाङगहरुलाई लगभग दुई करोड मूल्यको कृत्रिम हात खुट्टा वितरण गर्न नेपाल राष्ट्रिय मारवाडी संगठनका अध्यक्ष मनोज अग्रवाल, लहान मारवाडी मञ्चका अध्यक्ष राहुल शारदा र जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष विकास शारदा लहानका चेतन मुरारका र भारत उदपपुरका नारायणसेवा संस्थानका हरि प्रसाद खाडाले गरेको उदाहरणीय कार्यबाट लहान नगरपालिकालाई समेत प्रेरित गरेको धारणा राखे ।

निःशुल्क कृत्रिम हात खुट्टा पाएका सिरहा नरहा गाउँपालिका–५ बालुवाका विजय कुमार यादव, पर्सा जिल्ला पटेर्वा सुगौली–२ का ४३ वर्षीय चेत बहादुर क्षेत्री, सप्तरी डाकनेश्वरी–१ का शिक्षक वसन्त कुमार चौधरी, सिरहा कर्जन्हा नगरपालिका–११ का २८ वर्षका विजय राउत, लहान–२० का विनोद चौधरीले विकलाङगहरुको तर्फबाट कृत्रिम हात खुट्टा ग्रहण गर्दै नयाँ जीवन पाएकोमा खुसी व्यक्त गरे ।

नेपाल राष्ट्रिय मारवाडी संगठनले १२ वर्ष अगाडी पनि विकलाङगहरुलाई कृत्रिम हात खुट्टा वितरण गरेको संगठनको अध्यक्ष मनोज अग्रवालले स्मरण गराउँदै ७२ जनालाई झापाको बिर्तामोड र १३५ जनालाई लहानमा कृत्रिम हात खुट्टा वितरणमा पौने दुई करोड रकम लागेको जानकारी दिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया

ताजा खबर

धेरै पढिएको